२३ जेठ,वीरगञ्ज । बढ्दो गर्मीसँगै पर्सामा लोडसेडिङ हुने क्रम पनि ह्वात्तै बढेको छ । अघोषित रुपले लोडसेडिङ हुन थालेपछि पर्साबासी मर्कामा परेका छन् ।
हिजो सोमबार राती ६–७ पटक लोडसेडिङ हुदाँ रातैभर सुत्न नसकी उज्यालो भएको स्थानियको गुनासो छ । दिनभर गर्मीले सास्ती हुने र रातको समयमा लोडसेडिङका कारण आरामले निदाउने नसक्ने उनीहरुले गुनासो गरेका छन् ।
यसरी अघोषित रुपले लाइन काट्ने क्रम बढेसँगै नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र वीरगञ्जका पदाधिकारीलाई सामाजिक सञ्जालमा गाली गर्नेको ओइरो लागेको छ । उनीहरुले प्राधिकरणका हाकिमहरु आनन्दले लाइनमा सुत्ने तर सर्वसाधारणका लागि लाइन काटिने भन्दै सामाजिक सञ्जालमा टिकाटिप्पणी गर्न थालेका छन् ।
नेपाल विद्युत प्राधिकरण वीरगञ्ज वितरण केन्द्रका प्रमुख अवधेश कुमार दुबेले हिजो राती छपकैयाको ट्रान्सफर्मरको लोड बढि भएर लोडसेडिङ बढि भएको जानकारी दिनुभयो । छपकैयामा लोड बढि भएर ट्रान्सफर्मरले धान्न नसकेपछि ४ नम्बर फेजमा झारिएको तर सोमा समेत लोड बढि भएर रातैभर लाइन कटेको उहाँले बताउनुभयो ।
सामाजिक सञ्जालमा भईरहेको टिकाटिप्पणीको जवाफ दिदैँ प्रमुख दुबेले यो समस्या पुरानो भएपनि आफू दुई महिना अगाडि मात्र आएको जिकिर गर्नुभयो । उहाँले सर्वसाधारणको घरमा लाइन काटेर आफूलाई खुसी नमिल्ने उल्लेख गर्दै प्रक्रियागत रुपले नै यसको समाधान गर्नुपर्ने भएकाले केहि समय लाग्ने जानकारी दिनुभयो ।
साथै यसै विषयमा आज बिहान वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहसँग भएको छलफलमा असार महिनाभित्र २० नयाँ ठाउँमा ट्रान्सफर्मर जडान गर्ने सहमति भएको उहाँले बताउनुभयो । तर नयाँ ठाँउमा ट्रान्सफर्मर जडान गर्दा स्थानियले नै अवरोध सुजना गर्ने भएकाले समस्या उत्पन्न हुन सक्ने उहाँको भनाई थियो ।
यता नगरप्रमुख सिंहले विद्युत्को ट्रान्सफर्मर जडान गर्ने क्रममा अवरोध सृजना नगरि सहयोग गर्न सम्पूर्ण नगरबासीलाई आग्रह गर्नुभएको छ ।

















