Logo

५ साउन,काठमाडौं । अमेरिकी सेनाले सोमबार इरानमाथि नयाँ चरणको हवाई आक्रमण सुरु गरेको जनाएको छ। अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम)का अनुसार विगत १० दिनदेखि जारी सैन्य कारबाहीअन्तर्गत सोमबार अपराह्न ४ बजेदेखि थप आक्रमण सञ्चालन गरिएको हो।

सेन्टकमले सामाजिक सञ्जाल एक्समार्फत जारी गरेको विज्ञप्तिमा हर्मुज जलडमरूमध्यमा व्यावसायिक जहाजमाथि हुने आक्रमण रोक्नुका साथै इरानी सैन्य क्षमतालाई कमजोर पार्ने उद्देश्यले नयाँ चरणको सैन्य कारबाही गरिएको उल्लेख गरेको छ।

यसअघि सोमबार नै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै मारिएका अमेरिकी सैनिकहरूको मृत्युको बदला लिने प्रतिबद्धता व्यक्त गरेका थिए। अमेरिकी सञ्चारमाध्यम सिएनएनका अनुसार ट्रम्प प्रशासनले इरानसँगको द्वन्द्वलाई थप तीव्र बनाउने विभिन्न विकल्पबारे छलफल गरिरहेको छ।

यसैबीच अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन)ले मध्यपूर्व क्षेत्रमा थप लडाकु विमान तथा आकाशमै इन्धन भर्ने ट्याङ्कर विमान तैनाथ गरेको जनाएको छ, जसले क्षेत्रीय सैन्य तयारीलाई अझ सुदृढ बनाएको छ।

बढ्दो सैन्य तनावका बीच वासिङ्टन र तेहरानलाई पुनः वार्ताको वातावरणमा फर्काउने प्रयासस्वरूप मध्यस्थकर्ताहरूले १० दिने युद्धविरामको प्रस्ताव अघि सारेको सिएनएनले जनाएको छ। यद्यपि, उक्त प्रस्तावबारे अमेरिका र इरान दुवै पक्षले हालसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएका छैनन्।


सम्बन्धित समाचार