५ साउन, काठमाडौं । भारतको सिक्किमस्थित नाम्ची जिल्लाको समरदुङ क्षेत्रमा निर्माणाधीन सुरुङ भत्किँदा ठुलो मानवीय क्षति भएको छ ।
एनएचपीसीको टिस्टा जलविद्युत् परियोजना (चरण ६) अन्तर्गत निर्माण भइरहेको उक्त सुरुङको एक भाग सोमबार अचानक भत्किएर मुख्य प्रवेशद्वार नै पूर्ण रूपमा बन्द भएपछि त्यहाँ भयानक दुर्घटना घटेको हो । सुरुङभित्र फसेका मजदुरहरूको उद्धार कार्य जारी रहेको बेला हालसम्म आठ जनाको शव बाहिर निकालिएको पुष्टि भएको छ ।
नाम्ची जिल्लाकी उपायुक्त अनुपा ताम्लिङले दिएको जानकारी अनुसार सुरुङभित्र अझै पनि कम्तीमा २५ जना मजदुरहरू पुरिएका वा फसेका आशङ्का गरिएको छ । सुरुङ निकै ग गहिराइमा रहेको, त्यहाँ अक्सिजनको चरम अभाव हुनुका साथै ग्यास चुहावटको समस्या समेत देखिएका कारण उद्धार कार्यमा अत्यधिक कठिनाइ उत्पन्न भएको छ ।
जतिसक्दो चाँडो फसेकाहरूलाई सकुशल बाहिर निकाल्न विभिन्न सुरक्षा निकाय र उद्धार टोलीहरूले हरसम्बभव प्रयास गरिरहे पनि घटनास्थलको अवस्था अत्यन्तै जटिल बनेको छ ।




















