Logo

२६ जेठ,वीरगञ्ज । श्रीमतीमाथि शंका गर्दै आफनै २० दिनको नवजात छोराको हत्या गरेको आरोपमा बारामा एक जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । प्रहरीले आफ्नै २० दिनको छोराको हत्या गरेको आरोपमा बाराको देवताल गाउँपालिका–४ पिप्राढी टोल बस्ने २५ वर्षीय नुर आलम अंसारीलाई बारा प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

नवजात छोराको हत्या गरी फरार रहेका अँसारीलाई काठमाडौँ प्रहरीको समन्वयमा गत बुधबार पक्राउ गरिएको थियो । काठमाडौँबाट पक्राउ परेका उनलाई बारा प्रहरीले सार्वजनिक गर्दै गत वैशाख २६ गते अस्पतालमा जन्मेको आफनो नवजात छोराको मुख थिचेर हत्या गरी अन्सारी फरार भएको पत्रकार सम्मेलनमा प्रहरीले जानकारी दिएको छ । बच्चा जन्मेको केही दिनपछि काठमाडौँमै बस्दै आएका अँसारी बारास्थित आफनो घरमा आएका थिए ।

सोहीक्रममा बच्चालाई घरका खाटमा राखेर श्रीमती बाहिर काम गरिरहेको बेलामा बच्चाको मुख थुनेर अन्सारी हत्या गरेका थिए । सोक्रममा बच्चा रोएपछि उनकी श्रीमती कलमा खातुनले बच्चालाई हेर्न जाँदा बच्चा बेहोस भएको तथा उपचारको लागि अस्पताल लैजादा बच्चाको मृत्यु भएको थियो । बच्चाको शबलाई समाजिक रितिरिवाज अनुसार खाल्टो खनि परिवारले गाडेका थिए । अन्सारी काठमाडौँ फर्केर आफ्नी श्रीमती कलमालाई फोन गरि छोरालाइ मैले मारेको र तिमीलाई पनि मारिदिन्छु भनी धम्की दिएका थिए ।

फोन रेकर्ड गरेर असारीकी श्रीमती कलमा प्रहरीमा जाहेरी दिएपछि अन्सारीलाई काठमाडौँ प्रहरीको समन्वयमा पक्राउ गरि ल्याइएको बाराका एसपी होविन्द्र बोगटीले बताए । अन्सारीले आफनो श्रीमतीमाथि शंका गरी दुर्बब्यावहार र कुटपिट समेत गर्दै आएको भनी अनुसन्धानको क्रममा खुलेको उनले बताए ।

बच्चाको शवलाई प्रादेशिक अस्पताल कलैयाको चिकित्सकको सहयोगमा खाल्टोबाट निकालेर पोष्टमार्टम गरी परिवारको जिम्मा लगाइएको बोगटीले बताए । पक्राउ परेका अन्सारीलाई कर्तव्य ज्यान मुद्दा अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ ।


सम्बन्धित समाचार