Logo

१ असार,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले महानगरभित्रका विभिन्न सार्वजनिक स्थल एवं भिडभाड हुने सरकारी कार्यालय क्षेत्रमा निशुल्क वाइफाई सेवा सुरु गरेको छ । पहिलो चरणमा महानगरका १० ठाउँमा यस्तो सेवा उपलब्ध गराइएको हो ।

महानगरले इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंकसँगको सहकार्यमा घण्टाघर चोक, माइस्थान चोक, जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, जिल्ला अदालत, यातायात, नारायणी अस्पताल, विद्युत प्राधिकरण, भन्सार कार्यालय र महानगर कार्यालय क्षेत्रमा फ्री वाईफाई सेवा सुरु गरेको हो ।

महानगरमा शुक्रबार औपचारिक कार्यक्रम गरि सेवा सञ्चालनको सुरुवात गरिएको हो । महानगर प्रमुख राजेशमान सिंहले फ्री वाईफाईको सुरुवात गर्दै महानगरवासीलाई समयानुकूल प्रविधिमैत्री सेवा विस्तार गरी वीरगञ्जलाई डिजिटल सहरको रुपमा अघि बढाउन यस्तो सेवा सुरु गरिएको बताउनुभयो ।

महानगरलाई आईटी हब बनाउने आफूहरुको घोषित नीति नै रहेकाले त्यसलाई कार्यान्वयन गर्न आफूहरु लागि परेको पनि उहाँले बताउनुभयो । हाललाई हरेक स्थानमा २ एमबीपीएस क्षमताको इन्टरनेट सुरु गरिएको र प्रयोगकर्ताको चाँपको आधारमा यसलाई बढाउँदै लगिने महानगरले जनाएको छ ।

आफूहरुले चुस्त सेवा दिने गरि महानगरसँग तीन वर्षका लागि सम्झौता गरेको वल्र्डलिंक कम्युनिकेशन्स लिमिटेड वीरगञ्ज शाखाका ब्रान्च म्यानेजर अरफात देवानले जानकारी दिनुभयो ।

 


सम्बन्धित समाचार