२२ असार,वीरगञ्ज । रौतहटमा यसवर्ष रासायनिक मलको अभाव नहुने भएको छ । किसानको माग बमोजिम मलखादको व्यवस्था गरिएको कृषि सामाग्री कम्पनी लिमिटेड चन्द्रपुर रौतहटले जनाएको छ । यसअघि बर्सेनि जिल्लामा रसायनिक मलको अभाव हुने गरेको थियो । लिमिटेडले अहिले किसानको आवश्यकताअनुसार मल वितरण गर्दै आएको छ ।
लिमिटेडले स्थानीय तहको सिफारिसअनुसार रसायनिक मल वितरण गर्दै आएको हो । प्रदेश सरकारले जिल्ला गत खेतीयोग्य जमिनका आधारमा निर्धारण गर्ने र सोही आधारअनुसार कृषि ज्ञान केन्द्रले स्थानीय तहलाई पत्र पठाउने गरेको छ । सोहि पत्रअनुसार स्थानीय तहले सहकारी संस्थालाई रासायनिक मलको कोटा निर्धाण गर्ने जनाइएको छ ।
जिल्लाका १८ स्थानीय तहबाट प्राप्त कोटा निर्धारणको पत्रअनुसार रासायनिक मल वितरण गरेको लिमिटेडले जनाएको छ । स्थानीय तहले कोटा निर्धारण गरे पनि मागअनुसारको मल नपाएको विन्दवासिनी कृषि सहकारी संस्थाका व्यवस्थापक जनार्दन कोइरालाले बताउनुभयो ।
उहाँका अनुसार चन्द्रपुर वडा नम्बर पाँचका लागि तीन हजार युरिया र डिएपी माग गरिएको हो । लिमिटेडबाट भने चार सय पाँच बोरा युरिया र दुई सय ५० बोरा डिएपी पाएको उनको भनाइ छ । डिलरले माग गरे अनुसारको रासयानिक मल पाउन नसकेको उनको गुनासो छ । एक सय ५० भन्दा बढीले रासायनिक मल लगिसकेको लिमिटेडका निमित्त प्रमुख गोपालप्रसाद घिमिरेले बताउनुभयो ।


















