केही दिनअगाडि मात्रको कुरो हो, मेरो मोबाइलमा मनलाई अदम्य खुशी पार्ने एक निम्तो बालेनमाण्डौबाट टुपुल्लक आइपुग्यो । सो निम्तोमा नेपालका वरिष्ट चिकित्सक तथा समाजिक अभियन्ता डा. गौरीशंकरलाल दासको सयौं जन्मदिवसको शुभ उपलक्ष्यमा आयोजित नागरिक अभिनन्दन कार्यक्रममा सहभागी हुन अनुरोध गरिएको थियो । सो कार्यक्रमको तैयारीमा तनमयताका साथ लागेका डा. सुमन श्रेष्ठको सहयोगले श्रद्धेय डाक्टर सापसित कुरो भयो, फोनमै शुभकामनासहित श्रद्धाभाव प्रकट गरे । “फोनले मात्र हुदैन, आउनै पर्छ ” भनेर उनको आदेश जारी भयो । मैले उनको आदेशलाई सिरोधार्य गरे, तर संयोगबस सदैव दुईचारटा सिट खाली रहने फलाइटमा त्यही दिनको लागि एउटा सिट पनि खाली थिएन । अफसोच भयो, ‘दुईचार दिनअघि नै टिकट बनाएर राखे पनि त हुन्थ्यो ।’ सडकबाटोबाट जाने आँट भएन । जे होस्, आर्को दिन काठमाण्डौ पुगे । क्यार्नु ? ‘दिल है कि मानता नहीं ।’
डा. सुमन श्रेष्ठसँगै चाबेलस्थित उनको घर पुगे । भर्खर सत्यनारायण भगवानको पुजा सकिएको थियो । उनको कोठा सयौं फुलमाला, अभिनन्दन, सम्मान र प्रसस्ति पत्रले टम्म भरिएको थियो । मनमा कुरो खेल्न थाल्यो, “ यी अभिनन्दन पत्र, यी प्रसस्ति पत्र, यी सम्मान पत्र अथवा फुलमालासँग जिब्रो भएको भए अहिले नै कराई हाल्थे– यस्ता विभूतिको सत्सङ्ग पाएर हामी आफै पनि सम्मानित भएका छौ, हामी आफैले पनि सार्थकता पाएका छौ, हामी सतप्रतिशत सही पात्रको हातमा पुगेका छौ । अन्यथा पात्र र पात्रताबीच तालमेल नमिलेको भए हामीलाई पनि अप्ठेरो हुन्थ्यो ।” उनलाई भेट्न पाउँदैमा म मुग्ध भएर उनीतिर हेरिरहे । अनुहारको तेजबारे म के बर्णन गरु ? मेरा भावविह्ल दुई हात कुन बेला उनका गोडालाई छुन पुगे, मलाई हेक्का नै भएन । उनको एउटै वचन थियो, “आउनु भयो, खुशी लाग्यो । हिजो आउनु भएको भए, झनै मज्जा आउँथ्यो ।”
लगतै मनमा आर्को तरङ्ग सुरु भयो, “म पनि कस्तो भाग्यमाानी, केही बर्षअगाडि शताब्दीपुरुष श्रद्धेय सत्यमोहन जोशीज्यूको सत्सङ्ग पाउने अवसर जुरेको थियो । आज अर्का शताब्दीपुरुषको सत्सङ्ग जुर्यो ।” हाम्रो धर्मग्रन्थहरुमा सत्सङ्गलाई बडो महत्व दिइएको छ । भनिन्छ, चन्दन रुखको सत्सङ्ग पाएको साधारण रुखले समेत चन्दनकाे रुखजस्ते गमगम बास्ना दिन थाल्छ । डाक्टर सापको सत्सङ्गमा मोटामोटी एक घन्टाजति बसे । अनेक नयाँपुराना गफहरु भए । धेरै कुरा सिक्न पाए । गफैगफमा उनले खुलाए, “तपाईका पिताजीलाई मज्जाले चिन्छु । आजभन्दा पैतालिस बर्षअगाडि त तपाईको घरमा पुगेर नै खाना खाएको छु । साथमा पूर्व न्यायाधिस बबरबाबु पनि थिए ।” म त अक्कनबक्क , “हो रहेछ, मेरा पिताजीले जति साथी कमाएका थिए, त्यो तुलनामा म अझै पनि पछाडि नै छु ।”
डाक्टर सापसित मेरो पहिलो प्रत्यक्ष भेट थियो । बरु उनका कान्छा ज्वाइ डा. श्यामसुन्दर दाससित बेलाबखत गफ हुँदा उनको विषयमा थाहा पाइराख्थे । विभिन्न पत्रपत्रिका तथा अन्य समाचारमाध्यमबाट डा. गौरीशंकरलाल दास निकै सम्मानित ब्यक्तित्वका धनि हुनु हुन्छ भनेर बुझेको त थिए, तर उनको विषयमा थप कुरो खोतेल्ने काम कहिल्यै गरेको थिइन । ‘डाक्टर साप सय बर्षमा पुग्दै हुनु हुन्छ, उनको विषयमा एउटा लेख लेख्नु पर्छ’ भनेर डा. सुमन श्रेष्ठले आग्रह गर्दा बल्ल म उनको जीवनका भित्रा पानाहरु पल्टाउने धृष्टता गरेको थिए । बुझ्दै, पढ्दै र युट्युबमा खोतल्दै जाँदा म हतप्रभ नै भएको थिए, “नेपालमा यस्ता विभूति अझै पनि छन् र ?” त्यही बेला नै डाक्टर सापलाई भेट्ने तलबल ह्व्वातै जागेको थियो । आफुले रुचाएर क्यै हुदैन रैछ । समयले पनि सघाउनु पर्दो रैछ । खैर, धन्य भाग्य मेरो, समयले त्यो अवसर पनि जुरायो ।
वि.स. १९८१ सालमा जन्मिनु भएका डा. दास आफ्नो स्कुले जीवनमा पठनपाठनको लागि आफ्नो जन्म गाँउ इनरुवा (सिरहा)बाट दिनहु १९ कि.मि. टाढासम्म आवतजावत गर्ने गर्थे । क्यार्नु, उनको गाँउमा स्कुल नै थिएन । मेट्रीकुलेशनपछि उनलाई अगाडिको पढाईको लागि भारतको भागलपुर जानु पर्यो । मेडिकल शिक्षाको लागि पटना जानु पर्यो । वि.स. २००९ सालमा उनी डाक्टर भएर फर्किए । र, वीर अस्पताल, काठमाण्डौमा रेजिडेन्सियल डाक्टरको रुपमा आफ्नो जागिरे जीवन सुरु गरे । भनिन्छ, उतिबेला नेपालमा डाक्टरहरुको सङ्ख्या आठ नौ जनाभन्दा बढि थिएन । केही बर्षपछि उनको विशेषज्ञतासम्बन्धी पठनपाठन पूनः सुरु भयो । बेलायतबाट छाती रोग विशेषज्ञ भएर फर्किए । उनीभित्र लुकेको मुमुक्षु त्यतिमै रुकेन । बेलाबखत उनी थप विशेषज्ञताको लागि विभिन्न प्रशिक्षणमा सामेल भइरहे । आज सय बर्षको उमेरमा पुग्दासम्म आफ्ना काँधालाई बिसाएका छैनन् । अनेक संस्थामा नेतृत्वकारी भूमिका निर्वाह गर्दै आजसम्म पनि समाजिक कार्यमा सक्रिय छन् । योगदानको कुरो गर्ने हो भने एक दुई संस्थामा होइन, दर्जनौं संस्थामा उनको ठूलो योगदान छ । अहिले नै चर्चा गर्ने हो भने सिङ्गो किताब नै बन्ने छ ।
वि.पि. आई फाउण्डेसन, मानव अधिकार आयोग, नेपाल रेडक्रस सोसाइटीजस्ता अनेक सम्मानित संस्थामा उनले पुर्याउनु भएको अतुलनिय सेवाबारे चर्चा बेलाबखत भइरहन्छ । राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका त उनी संस्थापक अध्यक्ष नै हुनु हुन्छ । संसारभरि नै बढ्दै गएको उमेरवाद विरुद्ध उनी आज पनि भिड्याभिड्यै छन् । उनका योगदानको कदर गर्दै राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरका अनेक संस्थाले विभिन्न सम्मान र पदकबाट बिभूषित पनि गरेका छन् । तात्कालिन श्री ५ को सरकारले समेत विभिन्न कालक्रममा उनलाई गोरखा दक्षिण बाहु चौथो, तिशक्ति पट्ट तेस्रो, प्रसिद्ध पर्वल गोरखा दक्षिण बाहु दोश्रो र सुविख्यात त्रिशक्ति पट्ट दोश्रोबाट विभुषित गरेको छ । वि.स. २०४९ सालताका उनी राज परिषद्मा सम्मानित सदस्य समेत रहेका थिए । अनि आजका तन्नेरी भनाउँदाहरुले बुझ्नु पर्ने कुरो, “आज पनि शारीरिक, मानसिक अथवा भावनात्मक रुपमा स्वयम्सक्षम छन् । आज पनि उनको पठन अभ्यास जारी नै छ । आँखामा चस्मासम्म चढेको छैन । हिड्दा लौरो टेक्नु परेको छैन । स्मरणशक्तिको कुरै नगरौं, आफ्ना बाल्यकालसमेतका कुरा क्षरप्रष्ट सम्झनामा छन् ।
तिनटा ठूला भुइचालो भोगिसकेका, राणाकालदेखि राजा ज्ञानेन्द्रको शासनकालको साक्षी रहेका, देशको प्रजातान्त्रिक आन्दोलनदेखि गणतन्त्रात्मक आन्दोलनसमेतलाई नजिकबाट नियालिसकेका, मुलुकले भोगेको अनेक शंकटपुर्ण अवस्थालाई एक नागरिकको हैसियतले सहन गरेका, दोश्रो विश्वयुद्धका भिभत्स परिणामहरु अनुभव गरिसकेका, यस्ता सयौं राम्रा र नराम्रा अनुभव बटुलिसकेका ब्यक्तिको ज्ञानलाई कुनै पुस्तकमा समेटन सकिन्छ र ? मलाई त लाग्दैन । तथापि उनले आफ्ना ज्ञानगुणका कुराहरु जनसमक्ष पुर्याउन मेडिकल क्षेत्रमै केन्द्रीत रहेर ६ वटा पुस्तकहरु पनि लेखेका छन् । अध्यात्म र गीतसङ्गितमा पनि उनको र रुचि उतिकै छ । समाजसित केही अपेक्षा गर्नुभन्दा पनि आफुले सक्दो केही राम्रा कुरा दिन सक्नु पर्छ भनेर उनी मान्यता राख्छन् । उनको चेतन क्षमताको कुरै नगरौं । आज पनि तपाई युक्रेन–रसिया युद्धबारे गफ गर्नोस्, नेपालको राजनैतिक उठापठकबारे कुरो झिक्नोस् । ड्रनबाट बम खसाल्न सक्ने नयाँ तकनिकबारे चर्चा गर्नोस् । नेपालमा देखा परेका विभिन्न बेथितिहरुबारे चर्चा गर्नोस्, बेथितिहरु हटाउनेबारे सुझाव माग्नोस् । चिकित्सा क्षेत्रमा आएका नयाँनौला उपचारविधीबारे जान्न खोज्नोस् । हरेक तहको जानकारीमा उनको राम्रो दखल छ ।
कल्पना गरौं, उनको अनुभव सङ्ग्रह निकाल्नु पर्यो भने कति पानाका हुनेछन् ? जति पुस्तक छापिए पनि उनको सय बर्षिय ज्ञानको भण्डारलाई कलमकागजमा उर्तान त्यति सजिलो छ र ? लगतै कमिलाले चिलेजस्तै मनलाई पोल्यो, “मपाईत्व हावी भएको आजको समाजमा उनका कुरा सुन्ने फुर्सद कतिलाई छ ? उनको संघर्ष र त्यागका कुराहरु सुन्ने तिर्खा कतिलाई होला ? कतिले उनका ज्ञानगुणका कुरालाई पत्याउने होलान् ? खैर, उनलाई भेटेको केही दिन भएछ, तथापि मनमा एउटो कुरो आज पनि खेलिराख्या छ, “डाक्टर सापलाई सय बर्षिय तन्नेरी भन्ने कि आफुलाई साठी नकाटेको बुढो ?”