Logo

सदैवझैँ सुबोध आज पनि दुखी मनका साथ आफ्नो कोठामा फर्किएको थियो । सदैवझैँ आज पनि ससुराबाले उसलाई होच्याउनसम्म होच्याएका थिए । सिरानीको अडेस लिएर ओछ्यानमा बस्न पाएको थिएन, एकाएक उसको फोन गुनगुनाउन थाल्यो । उसको पिताघरबाट पिताजी, निरन्जनमानले गरेका रहेछन् । सुबोधको अनुहार अलि उज्येलियो । एक उनी त हुन्, जो सच्चा मार्गदर्शक मात्र होइनन्, असल मित्रको भूमिका पनि निर्वाह गर्दै आएका छन् । सुबोध आफ्नो गोप्यभन्दा गोप्य कुरो पनि आफ्ना पिताजीसित लुकाउँदैन । श्रीमान् श्रीमतीबीचको अन्तरङ्ग सम्बन्धमा समेत उनीसित कुरो गर्न लाज मान्दैन । सही अर्थमा उनी सुबोधका सच्चा सखा हुन् ।

“के छ छोरा रु ठीक त छौ नि ? बुहारी साहिबा पनि ठीक त छिन् नि ? ससुराबुबासित कुनै कचकच त पर्या छैन नि, अनि नातिनातिनीहरू कता छन् ?”, उसले हेलो बा भन्न पाएको थिएन, उसका पिताजीले दर्जनजति प्रश्न ठोकिहाले । उनको पुरानो बानी हो, बोल्न थालेपछि अरूको कुरो सुन्दैनन्, नअघाउन्जेलसम्म बोलिराख्छन् । उसले एक एक गरी उनको प्रत्येक प्रश्नको जवाफ फर्कायो । अन्तिम उसले रून्चे स्वरमा दुखेसो पोख्यो, “बा १ तिमीले मलाई अझै पढ्न किन दिएनौ रु मलाई कम्तिमा मास्टर्स् त सक्याउन दिए हुन्थ्यो नि । मेरो बिहे यस्तो रूढीवादी परिवारमा किन गराइदियौ रु यो घरमा मेरोभन्दा इज्जत त काम गर्न आउने नोकर, जङ्गबहादुरकै छ, बा । अनि किन नहुनु रु ऊ कम्तिमा आफ्नो गोडामा त उभ्या छ । म त पराश्रित जीवजस्तै भएको छु । मेरो हैसियत एक दासभन्दा अलिकति पनि बढी छैन, बुबा ।”, ऊ भक्कानो छोडेर रून थाल्यो ।

“धत् ! कस्तो लाटोजस्तो कुरो गरेको रु यो त परापूर्वकालदेखि चल्दैआएको समाजिक रीत नै हो । केटामान्छेले एक न एक दिन आफ्नो माइत त्यागेर ससुराली जानै पर्छ । मलाई हेर । म पनि आफ्ना बाआमाको दुलरूवा सन्तान नै थिएँ । तर, दुलरूवा भएर के नगर्नू ? बिहे भएर ससुराली आउनु पर्यो कि परेन ?  मलाई पनि सुरूसुरूमा कम्ति अफ्टेरो भएको थिएन नि । मध्यरात्रीमा कतै भागिहालुँ भनेर मेरो मनमा कम्ति विद्रोही विचार उठेको हुँदैनथ्यो । तर मैले धैर्य राखेँ । आज हेर, सबैथोक ठीक ठाँउमा छ । तिमी पनि धैर्य राख, छोरा । बिस्तार बिस्तार, त्यो घरमा तिम्रो आधिपत्य जम्दै जाने छ । एक दिन हेर्नु, तिम्रो ससुरालीमा समेत तिम्रै आदेशानुसार सबैथोक चल्ने हो । बुहारी त तिम्रा औँलाको इशारामा हिँड्ने छिन् । धैर्य राख, छोरा । धैर्य राख ।”, बाबुले आफ्नो अतीत सुनाउन थाले ।

पिताजी होउन् अथवा ससुराबा, उनीहरूको यही कुरो सुबोधलाई यही नराम्रो लाग्छ । कुरो गर्दागर्दै आफ्नो अतीत पुराणको वाचनमा लाग्छन् । आजको जमानामा केटा मान्छे पनि केटी मान्छेको काँधमा काँध मिलाएर अगाडि बढ्न चाहन्छन् भन्ने कुरो उनीहरू अझै पचाउन सकेका छैनन् । “भो भो बुबा, तपाईँको अर्तीको डोज आजलाई भरपूर भयो । मलाई थुप्रै काम सक्याउनु छ,” मुर्मुरिँदै उसले फोन काट्यो ।

उसको मानसपटलमा पुराना कुराहरू सल्बलाउन थाले । ऊ भर्खर कलेज जान सुरू गरेको थियो । मास्टर्स्को प्रथम वर्षमा पढ्दै गरेकी सुभद्राले उसलाई मन पराएकी रहिछन् । दिनका दिन उसलाई भेट्न थालिन् । दिनका दिन सँगै बसेर चिया कफीको निमित्त निम्तो दिन थालिन् । उसलाई सुभद्रा राम्री लाग्थिन् । बिस्तारबिस्तार मित्रता गहिरिँदै जाँदा उसलाई आफूसँगै फिलिम हेराउन समेत लैजान थालिन् । हुँदाहुँदै ऊ सुभद्राको ब्वायफ्रेण्डको रूपमा कुन बेला परिवर्तित भयो, उसलाई हेक्का भएन ।

बेलाबखत ऊ सुभद्रासँगै सुत्नसमेत थाल्यो । एक कान, दुई कान हुँदै उनीहरूका बाआमाले उनीहरूको अन्तरङ्गताबारे चाल पाए । उनीहरूले दुनियाँ, समाज र मानमर्यादाको दुहाई दिँदै सुभद्रा र सुबोधलाई बिहे गरिहाल्न कचकच गर्न थाले । उम्किने कुनै सिप नलागेपछि दुबै जना वैवाहिक बन्धनमा बाँधिने निर्णयमा पुगे ।
धुमधामसँगै विवाह भयो । केटी पक्षबाट झण्डै दुई सय जन्त उसको माइत पुगेका थिए । तैपनि उसका बाआमाले स्वागतसत्कारमा कुनै कसर बाँकी राखेनन् । दाइजोमा बाक्लै गरगहना दिए । आफू जन्मेहुर्केको थातथलो, आफ्ना माइतलाई सदाको लागि त्याग्ने बेला आउँदा ऊ कम्ति रोएको थिएन । उसका बा त झनै अंगालो मारेर धुरूधुरू रोए । उतिबेला सासुआमाले सम्झाउँदै भनेको कुरो उसलाई आजसम्म कण्ठस्थ छ, “किन चिन्ता लिनु हुन्छ सम्धीज्यू, सुबोध तपाईँको मात्र होइन्, हाम्रो पनि छोरो नै हो । सुबोध आफ्नो ससुरालीमा ज्वाइँको रूपमा होइन, साखै छोरोको रूपमा रहने छ । तपाईँहरू सबै जना ढुक्क भए हुन्छ ।”

ससुरालीमा सुरूका केही दिन सुबोधले निकै मान पायो । “के खान्छौ, ज्वाइँ रु बजारबाट केही ल्याइदिनु पर्नेछ भने नलजाइ भन्नु ल । ज्वाइँ, तिमीलाई भान्साकोठाभित्र पस्नु पर्दैन, म छदैँछु नि ।” ससुराबा घरिघरि भनिराख्थे ।

सासुआमाले कम्ति माया गरेकी थिइनन् । बजारबाट दिनहुँ कुनै न कुनै समान उसको निमित्त किनेर ल्याउँथिइन् । पानीपुरीदेखि दाढी खौरिने मेशिनसम्म । ससुराबा त दिनमा एकपटक अवश्य भन्थे, “ज्वाइँ, सुभद्रा आफ्नो फिगरलाई लिएर चाहिएको भन्दा बढी नै सजग छे । दुईचार वर्ष अझै बच्चा नजन्माउने भनेर क्रिया खाएर बसेकी छे । तर तिमीले अलि प्रयास गर्यौ भने यो घरमा एक नातिनीको प्रवेश हुनेछ । यो घरको खसीयाली तिम्रै हातमा छ, ज्वाइँ ।”

आफ्ना ससुराबा र सासुआमाले भनेजस्तै उसले सुभद्रालाई फकायो । वर्ष दिन बित्न नपाउँदै सुभद्रा गर्भवती भइन् । उनीहरूको पहिलो सन्तानको रूपमा छोरो नै भएको थियो । ससुराबाले चिताएका थिए, छोरी । भइदियो छोरो । उनी निकै दिनसम्म दुःखमनाउ गरिराखे । “ज्वाइँ, तिमीले चाहेको भए छोरी नै हुन्थी, तिमीले नै ढङ्ग पुर्याएनौ ।” उनले ठाडो आरोपसम्म लगाए । सुभद्रा पनि के कम, छोरो जन्मेको एक महिनासम्म अफिस जान नपाउँदा उनले पनि सुबोधलाई कम्ति सरापेकी थिइनन् । पछि एक महिने छोरोलाई उसैको जिम्मो लगाइ उनी अफिस जान थालिन् । अरू सबै कुरो गर्न त सुबोध जेनतेन भ्याउथ्यो । तर सुभद्राको ठाँउमा आफूले दुध खुवाउनु पर्दा उसलाई हम्मै परेको थियो । बाध्य भएर उसले अनलाइन सापिङ्गमार्फत् कृत्रिम स्तन खरिद गरेको थियो । झव्वाट हेर्दा सतप्रतिशत ओरिजनल । सो रबरको स्तनभित्र दूध, पानी अथवा जुनसुकै तरल पदार्थ भरेर ब्राजस्तै छातीमा लगाउन मिल्ने । अनि बच्चाले जति चुस्दा पनि हुने । स्तन कृत्रिम हो कि प्राकृतिक, बच्चा चाल नै नपाउने ।

एउटो कुरोबारे उसले पिताजीसम्मलाई अझैसम्म सुईको लाग्न दिएको छैन । यता एक वर्षदेखि सुभद्राले विक्रम नाम भएको आफ्नो एक जना सहकर्मीलाई ब्वायफ्रेण्ड नै बनाएर राखेकी छन् । उनी राती अबेलासम्म विक्रमसँगै हुन्छिन् । नशामा लठ्ठ भएर मध्यरात्रीमा मात्र फर्किन्छिन् । अफिसको कामले आफूलाई सहरबाहिर जानुपर्दा विक्रमलाई नै सँगै लिएर जान्छिन् । सुबोधले यो कुरो थाहा पाउँदा सुभद्राअगाडि कडा रूपमा आपत्ति जाहेर नगरेको पनि होइन । तर सुभद्राको एउटा जवाफ हुन्छ, “तिमीलाई खान पुग्या छ, लाउन पुग्या छ । तिम्रो हरेक आवश्यक्ताको पूर्ति मैले गरेकै छु । यो घरको चारकिल्लाबाहिर म के के गर्छु, तिमीलाई केको टाउको दुखाइ ।”

उसले सुभद्राबारे आफ्नो ससुराबाअगाडि यो कुरो राख्दा, उनले पनि चिन्ता गरिहाल्नु नै पर्ने खासै केही नभएको जस्तो भाव प्रकट गरे । उसैलाई सम्झाउन थाले, “जमाना यस्तै छ, ज्वाइँ । क्यार्नु रु तिम्री श्रीमती घरबाहिर के के गर्छे, तिमीले धेरै टाउको नदुखाएकै बेस । धेरै कडीकडाउ गर्न मिल्दैन । अन्यथा ऊ झनझनै काबुबाहिर जाने छे । तिमीसित सन्तुष्ट नभएरै होला, सुभद्राले अर्को ब्वायफ्रेण्ड राखेकी । ऊ जुन अफिसमा काम गर्छे, त्यहा एकसे एक सुन्दर पुरूष सहकर्मीहरू काम गर्छन् । उसको मन कसैतिर ढल्कियो होला । बरू आफूभित्र के के कमी कमजोरीहरू छन्, त्यतातिर ध्यानु दिनु, उसलाई सक्दो बढिसे बढी खुसी पार्ने काम गर्नु । आफ्नो यौवनबाट उसलाई रिझाउनमा कुनै कसर बाँकि नराख्नु । उसको ब्वायफ्रेण्डले तिम्रो यो घरको चारकिल्लाभित्र गोडा टेक्न नपाओस् भनेर हेक्का राख्नु ।”

ससुराबाको तर्क सुनेर उसको अवस्था त छाङ्गबाट खसेजस्तो भएको थियो । आफू जन्मेहुर्केको ठाँउ सदाको लागि त्याग्दै ससुराली नै आफ्नो घर मान्नु कम्ति कष्टकर कुरो होइन नि । आफ्ना आधा अपूरा सम्पूर्ण रहरहरूलाई बलात् मारेर सासुससुरा, श्रीमती र बालबच्चाको निमित्त होमिनु चानचुने त्याग होइन नि । आफूले त्यत्रो त्याग गर्दागर्दै आफ्नी श्रीमती अर्कै पुरूषका साथ लहसिन्छिन् भने ससुराबा अर्ति दिनु हुन्छ, “सहेर बस ज्वाइँ ।” अरू कसैले उसको पीडा नबुझोस् कम्तिमा उसका ससुराबाले यो पीडा बुझ्नु पर्ने हो । आखिर उनी पनि पुरूष नै हुन् । यावत कुरा गमेर ऊ निकै दिनसम्म रोइरह्यो । अन्तमा ऊ नै थाक्यो । यसैलाई नियती मानेर आफूलाई सम्झायो ।

त्यो दिनपछि सुभद्रालाई रिझाउन उसले एकसे एक जुक्ति लगाउन थाल्यो । सुभद्रा कोठाभित्र छिरेपछि उसलाई दुधको ठाँउमा ब्लैकलेबल खुवाउन थाल्यो । राती ओछ्यानमा ढल्किँदा आफू जति थाकेको भए पनि सुभद्राको मनोकाञ्च्छा पुरा गर्नमा कहिल्यै नखडा देखाएन । कहिलेकाँही त सुभद्रालाई राती दुई पटकसम्म खुशि पारिदिनु पर्ने । तर जति गर्दा पनि सुभद्राको चालचलन जसको तस नै रह्यो । उसको मनमा विद्रोही भाव कहिल्यै प्रवल नभएको पनि होइन । तर ब्याधान भएका थिए उसका छोराछोरी । “छोराछोरीलाई सँगै लिएर हिड्न खोज्यो भने एक्लैले लालन पालन कसरी गर्ने रु आमालाई खोजे भनेर कसरी सम्झाउने रु आफ्नै ससुराली घर छोडेर हिडियो भने सुभद्रालाई त के छ रु उनले त हातोहात आफ्नो ब्वायफ्रेण्ड विक्रमलाई दुल्हो बनाएर घरमा भित्र्याइहाल्ने छिनन् । आफ्ना रक्तअंशलाई सौताहा पिताको भरोसामा कसरी छोड्नु रु मेरा सन्तानका साथ उसले सत्रुजस्तै ब्यवहार गर्यो भने के होला रु” यावत चिन्तामा ऊ मन घुमिरहन्छ ।

बाआमालाई यावत कुराबारे सुइँको लाग्न नदिनुपछाडि पनि उसको बाध्यता त छ । बा त मुटुका रोगी नै हुन् । केही महिनाअगाडि मात्र उनको बाइपास सर्जरी भएको थियो । आमा चुरोटकी अम्मली, दमकी रोगी भएकी छिन् । “आफ्नो प्राणभन्दा प्यारो छोरोको दुःखद् अवस्थाबारे थाहा पाए भने के होला रु उनीहरूले यो कष्टको भार थेग्न सक्लान कि नसक्लान रु” भनेर पनि उसले आफ्ना माइतका मान्छेलाई जनाउ दिने हिम्मत गरेको छैन ।

यावत कुरा सोच्दासोच्दै उसको मन नराम्ररी निमोठियो । आँखाबाट आँसु बरर्र झर्न थाले । भित्ते घडीले टुईटुई घन्टी बजाएर बिहानीको एग्यारह बजेको जनाउ दिइहाल्यो । सबैजना आ–आफनो काममा गइसकेका थिए । घरमा ऊ र ससुराबुबाबाहेक कोही थिएनन् । ससुराबुबा आफ्नो कोठामा पसेका थिए क्यारे । घरको सरसफाइ गर्ने कामदार, जङ्गबहादुर अझै आइपुगेको थिएन । काइदाले उसलाई नौ बजेसम्म पुगिहाल्नु पर्ने । सुबोध उसकै प्रतिक्षामा ब्यग्ररत थियो ।

ऊ आइदिएको भए सजिलो हुने थियो, अन्यथा सरसफाइको काम पनि उसैको थाप्लोमा जाने भयो । अचेल जङ्गबहादुर चाहिनेभन्दा बढि छुट्टि बस्न थालेको छ । उसलाई घोक्रेठयाक्क लगाउ कि भनेर कहिलेकाँही झोंक चलेर आउछ । तर तुरन्तै ससुराबुबा कराइहाल्छन्, “ यस्तो मुख्र्याइँ कहिल्ये नगर्नु ज्वाइँ १ अचेल सबै कामदारको यस्तै चालामाला छ, एउटा सर्पनाथलाई हटाउँछौ, आर्को अजिङ्गनाथ भएर आउछ । बरू दुख सहेर पनि यसैबाट काम चलाऊ । जबरजस्ती गरेर धपाउँछौ भने तिम्ले नै र्को मान्छे खोज्नु पर्ला । म त सक्दिनँ ।” यस्तो धमकीपूर्ण वचन सुने पछि ऊ मौन हुन्छ । हुन पनि हो, अर्को मान्छे फेला पार्नु पनि सितेमिते कुरो होइन । छुट्टि बस्नुबाहेक जङ्गबहादुरमा अन्य कुनै दुर्गण फेला पार्न सकेको छैन । तैपनि जङ्गबहादुरप्रति ऊ सशंकित नै रहन्छ ।

सुबोध आफ्ना ससुराबाबारे सोच्न थाल्यो । ससुराबुबालाई पनि कति दोष दिनु । उनी पनि आफ्नो जवानीमा कम्ति हण्ठर खाएका होइनन् । उनका ससुराबुबा त साक्षात यमदुत नै थिए । उनलाई आफ्नो ज्वाइँ, अर्थात ससुराबुबा थकाई मार्न एक सेकेण्डको निमित्त बसेको पनि नसुहाउने । दिनरात कचकच सहन्थे, तर कहिल्यै हजुर ससुराबुबासित मुखामुख गरेनन् । उनले आफ्नो जीवनमा जो देखे भोगे त्यही आफ्नो ज्वाइँसित समेत अपेक्षा गर्ने हुन् । बेलाबखत उनले मौका पाए कि सुनाइहाल्छन्, “परमात्माप्रति कृतज्ञता प्रकट गर, तिम्ले मजस्तो ससुराबुबा पाएको छौ । अन्यथा मेरो जमानाका ससुराबुबा पाएको भए अहिलेसम्म बहुलाइसकेको हुन्थ्यौ ।”

ऊ यो घरको ज्वाइँ भएर भित्रिँदा हजुर ससुराबुबा जिउँदै थिए । अस्सी नाघिसकेका, हिँलडुल गर्न पनि गार्हो हुने । तर बोलीवचनमा जवानीकै कडकपन थियो । एकपल्ट कडकिएर कुनै उर्दी जारी गरिदिएपछि कोही माइका लाल उनको कुरो काट्न आँट गर्दैनथ्यो । ससुराबुबा त मुसोसरह हुन्थे । त्यो पनि पानीले निथ्रुक भिजेको । सोच्दासोच्दै उसको मनमा ससुराबुबाप्रति करूणा भाव जागेर आयो । एक त उनी उमेर र शरीर, दुबैले थाकिसकेका छन् । धेरै मिहिनेतको काम उनी गर्न सक्दैनन् । अन्यथा कुनै बेला यिनै ससुराबुबा एक्लैले घरायसी कामको सम्पूर्ण मोर्चा सम्हालेका हुन्थे ।

आज पनि उनले भ्याइनभ्याइ कुनै नकुनै काममा झुम्मिएकै हुन्छन् । मुल ढोकाको घन्टी बज्दा उसको ध्यान मोडियो । “पक्का जङ्गबहादुर नै होला” बरबराउँदै गर्दै ऊ ढोकातिर उफ्रियो । हो, जङ्गबहादुर नै थियो । सुगठित शरीर । एक दम सफासुग्घर लुगामा सुसज्जित, फ्रेञ्चकट दाढीले गर्दा मुहार झनै खुलेको । उसलाई हेर्नेबित्तिक्कै सुबोधकभित्र अनौठो इष्र्या जाग्यो । आफ्नो इष्र्याभावलाई लुकाउँदै ऊ गनगन गर्न थाल्यो, “कहा थियौ यति बेलासम्म रु यति ढिलो गरेर आउछेस् लाज लाग्दैन ?” खितिक्क हाँस्दै ऊ अपार्टमेण्टभित्र पस्यो ।

“मैम अफिस गइसक्नु भएजस्तो छ ।” जङ्गबहादुरले टाउको कन्याउँदै जान्न खोज्यो । ढिलो भएकोमा उसको अनुहारमा पछुतोको भाव थियो । “अचेल त जङ्गबहादुर आवश्यक्ताभन्दा बढी संवाङ्ग बनाएर आउन थालेको छ । मुलाले सुभद्राको ध्यान आफूतिर तान्न एकसे एक प्रपञ्च रच्न थालेको छ । पर्खी उसलाई लाताले हानेर घरबाट निकालिन भने मेरो नाम पनि सुबोध होइन् ।”, सुबोधले मनमनै प्रण गर्यो । “चाँडै चाँडै झाडुसाडुको काम सक्याउनु, धुने लुगाको चाङ्ग लागेको छ, धोएर सुकाउन लगाइहाल्नु । लगत्तै भाँडाकुँडा पनि मस्काउनु । हिजो तिमीले मस्काएर राखेको भाडामा फोहोर भेटिएको थियो । आज होस् गरेर मस्काउनु । त्यसपछि मात्र अन्य काम गर्नु, बुझिस् ।”, सुबोध अलि कडै स्वरमा बिलम्बित कामहरूको फेरिस्त सुनाउन थाल्यो ।

हल्लीखल्ली सुनेर होला सुबोधका ससुराबा अमोलचन्द्र हडबडाउँदै कोठाबाहिर आए । सुबोधलाई एकातिर तान्दै मसिनो स्वरमा हप्काए, “छ्या, सार्है कचकचे हुँदै गएछ्यौ । बिचरोसित कहिल्यै राम्रो मुखले कुरो गर्दैनौ । उसले जति मिहिनेत गरे पनि कहिल्यै स्याबासी दिएनौ । कुनै दिन ऊ आजित भएर अन्यत्र कतै हिँड्यो भने हेर्नु आफ्नो बाबुको बिहे । बुझिस् ?” उनको कुरो सुनेर सुबोध झनै मुर्मुरियो, “जङ्गबहादुर यति राम्रो लाग्छ भने उसैले ज्वाइँ बनाएर घरमा भित्र्याए भइहाल्थ्यो नि । छ्या, यो घरमा मभन्दा बढी इज्जत त नोकरकै छ ।” मनमनै फतफताउँदै ऊ ड्राइंगरूमको सोफामा थचक्क बस्यो । पराजित मानसिकताका साथ । दुबै हात जोरेर आकाशतिर हेर्दै बरबरायो, “हे ईश्वर ! मलाई पुरूष किन बनायौ ?”


सम्बन्धित समाचार