Logo

११ माघ,काठमाडौं। राष्ट्रियसभा सदस्य चयनका लागि भएको निर्वाचनमा तीन स्वतन्त्र मेयरले मतदान गरेनन्। बिहीबार भएको निर्वाचनमा उनीहरु मतदानमा सहभागी भएनन्।

गत वर्ष भएको स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारीबाट निर्वाचित भएर चर्चामा रहेका काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन), धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (हर्क साम्पाङ) र धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले बिहीबार भएको राष्ट्रियसभा निर्वाचनको मतदानमा अनुपस्थित भएका हुन्।

सातै प्रदेशका प्रदेश निर्वाचन कार्यालयमा बिहीबार बिहान ९ बजेबाट सुरु भएर अपरान्ह ३ बजेसम्म चलेको मतदान कार्यमा उनीहरु सहभागी नभएको निर्वाचन आयोगले जनाएको छ।

३ बहुचर्चित स्वतन्त्र मेयरहरूको राष्ट्रिय सभा निर्वाचन बहिष्कारले दलीय सिन्डिकेटविरुद्धको मौन विद्रोहका रुपमा पनि कतिपयले अथ्र्याएका छन्। यी तीन मेयरको मतदानमा अनुपस्थितिले स्थापित दलको कार्यशैलीप्रति असन्तुष्ट भएको देखाउँछ ।

स्मरणीय कुरा यो हो कि उनीहरुलाई स्थापित दलले सहकार्य गर्न वा आफ्नो दलबाट उम्मेदवार भएर स्थानीय चुनावमा जान प्रस्ताव गरेका थिए। तर उनीहरुले त्यसलाई अस्वीकार गर्दै स्वतन्त्र उम्मेदवारको हैसियतमा चुनावी मैदानमा उत्रिएका थिए।

स्थानीय तहको प्रमुख राजनीतिज्ञ नभइ त्यहाँको ‘सीइओ’ अर्थात प्रमुख कार्यकारी अधिकारी हो भन्ने बालेनको फरक तर्कले उनको विजयमा मुख्य भूमिका खेलेको थियो। स्थापित दलहरुले सिंगापुर, स्विट्जरल्याण्डजस्तो बनाउने सपना बाँडिरहेको परिवेशमा बालेन आएर भनेका थिए । उनले काठमाडौंलाई काठमाडौं नै बनाउनुपर्ने मुद्दा उठान गरेका थिए।

उता धनगढीको मेयर गोपाल हमाल यसअघि विवेकशील साझा पार्टीमा थिए। तत्कालीन उनको दल नयाँ हो र स्थापित भइसकेको थिएन। तैपनि उनले निर्वाचनमा जाने बेला दलमा रहेर जान चाहेनन्। गएको फागुनमै उनले पार्टीबाट राजीनामा दिएर धनगढीको मेयरमा उम्मेदवारी घोषणा गरेका थिए।

हमालले मेयर बन्नुअघि नै धनगढी उपमहानगरमा कपडा बैंक र निःशुल्क महाप्रस्थान यान पनि सञ्चालन गरेका थिए। मेयर भएपछि उनले धनगढी उपमहानगरपालिकाको कुनै सेवा सुविधा नलिने, भ्रष्टाचार नगर्ने र गर्न नदिई ‘धनगढी मोडेल’ स्थापित गर्ने चुनावी घोषणा अनुरुप काम गरिरहेका छन्।

धरानका मेयर हर्क साम्पाङ राई जिद्दी र विद्रोही स्वभावका छन्। करिब १ दशकअघिदेखि नै उनी धराने जनताको सुख दुःखमा साथमा छन्। भुइँमान्छे हर्क जनताका समस्याप्रति संवेदनशील छन्। जनताको समस्याले उनलाई छुन्छ र उनी तत्काल कार्यान्वयनमा जोड दिन्छन्।

उनी बोल्न हिच्किचाउँदैनन्। जतिबेला, जहाँ पनि अन्याय, अनियमितता वा गर्न नहुने काम भएको देख्छन्, उनी यसको विरोधमा बोल्छन्। उनले निरन्तर उठाइरहेको खानेपानीको मुद्दा आफू मेयर भएपछि पहिलो प्राथमिकता दिएर काम थालेका थिए।


सम्बन्धित समाचार