Logo

६ साउन, काठमाडौं । काठमाडौं उपत्यकाका नदी किनारबाट हटाइएका र विभिन्न होल्डिङ सेन्टरमा आश्रित सुकुमबासीहरूलाई सरकारले गृहजिल्ला फर्काउने प्रक्रिया अगाडि बढाएको छ ।

भूमि समस्या समाधान समितिले सूचना जारी गर्दै अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले संकलन गरेको डिजिटल विवरणका आधारमा पहिचान भएका २९ परिवारलाई जग्गा व्यवस्थापनका निम्ति सम्बन्धित पालिका वा जिल्ला समितिमा सम्पर्क राख्न आग्रह गरेको छ ।

भूमि व्यवस्था, सहकारी र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्णयअनुसार भूमि व्यवस्थापन तथा अभिलेख विभागमार्फत गरिएको जाँचमा ती परिवारहरूको नाममा नेपालभर कतै पनि घरजग्गा नरहेको पुष्टि भएको छ । विभागले जग्गा नभएको प्रतिवेदन बुझाएपछि समितिले उनीहरूको स्थायी ठेगाना भएका जिल्लाहरूमा जग्गा उपलब्ध गराउन सिफारिस गर्नुका साथै आवश्यक कागजातसहितको फाइल सम्बन्धित जिल्ला समितिमा पठाइसकेको जनाएको छ ।

सिन्धुली, सर्लाही, काठमाडौं, सुनसरी, धनकुटा, मोरङ, सिन्धुपाल्चोक, महोत्तरी, झापा र भोजपुर लगायतका जिल्ला स्थायी ठेगाना भएका ती परिवारहरू हाल बनेपाको रेडक्रस तालिम केन्द्र, कीर्तिपुरको राधास्वामी सत्संग, नगरकोटको खानेपानी तालिम केन्द्र र बोडेस्थित कृषि तालिम केन्द्रका होल्डिङ सेन्टरहरूमा बसोबास गर्दै आएका छन् ।


सम्बन्धित समाचार
भर्खरै