६ साउन,सर्लाही । रोपाइँको समयमा सरकारले रासायनिक मल उपलब्ध नगराएपछि सीमावर्ती भारतीय बजारबाट मल खरिद गरेर ल्याउँदै गर्दा पक्राउ परेका सर्लाहीका दुई किसान दाजुभाइ विगत २२ दिनदेखि भारतीय जेलमा थुनिएका छन्।
नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत सर्लाहीको बलरा नगरपालिका–५ का ५५ वर्षीय सुरेशप्रसाद सिंह र ६० वर्षीय नागेन्द्रप्रसाद सिंहलाई भारतीय सुरक्षा निकायले गत असार १७ गते पक्राउ गरेको थियो।
उनीहरूलाई मल तस्करीको आरोपमा पक्राउ गरी जेल चलान गरिएको परिवारका सदस्यले बताएका छन्। रोपाइँको समयमा नेपालमा मल अभाव भएपछि उनीहरू मल खरिद गर्न सीमावर्ती भारतीय बजार सोनवर्षा पुगेका थिए।
सिंह दाजुभाइ साइकलमा २ बोरा युरिया र ६ बोरा डीएपी मल राखेर नेपाल फर्किंदै गर्दा भारतीय कृषि विभाग र सशस्त्र सीमा बल (एसएसबी) को संयुक्त टोलीले नियन्त्रणमा लिएको परिवारको भनाइ छ।
पक्राउपछि उनीहरूलाई सुरुमा सोनवर्षा थानामा राखिएको थियो। हाल उनीहरू भारतको सीतामढी जिल्लास्थित डुमरा कारागारमा रहेको जनाइएको छ। मुद्दाको थप सुनुवाइ हुन नसक्दा रिहाइ अन्योलमा परेको नागेन्द्र सिंहका ज्वाइँ प्रवीन सिंहले बताए।
उनीहरूको रिहाइका लागि परराष्ट्र मन्त्रालयमार्फत समेत पहल भइरहेको छ। परराष्ट्रमन्त्री शिशिर खनालले दिल्लीस्थित नेपाली दूतावासले आवश्यक पहल गरिरहेको जानकारी दिएका छन्। कानुनी प्रक्रिया पूरा गरी धरौटीमा रिहाइका लागि प्रयास भइरहेको उनको भनाइ छ।
प्रवीन सिंहका अनुसार डुमरास्थित स्थानीय अदालतले गत असार २५ गते सोनवर्षा प्रहरीसँग घटनासम्बन्धी कागजात माग गरेको भए पनि हालसम्म धरौटीमा रिहा हुन सकेको छैन। अदालती प्रक्रियामा ढिलाइ हुँदा समस्या लम्बिएको उनले बताए।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले पनि किसान दाजुभाइ पक्राउ परेको घटनाबारे गृह मन्त्रालयलाई जानकारी गराइसकेको र रिहाइका लागि पहल भइरहेको बताएका छन्।
यता लामो समयसम्म रिहाइ हुन नसकेपछि परिवारका सदस्यहरू चिन्तित बनेका छन्। उनीहरूले मल खरिद गरी ल्याउने क्रममा किसानलाई तस्करीको आरोप लगाएर थुनिएको भन्दै तत्काल रिहाइको माग गरेका छन्।




















