६ साउन, काठमाडौं । उद्योग वाणिज्य संघका अध्यक्ष सीताराम शर्मामाथि कुटपिट गरेको आरोपमा अनुसन्धानका लागि जारी भएको नेपाली कांग्रेसका सांसद अभिषेकप्रताप शाहको पक्राउ पुर्जी फिलहाल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।
न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले गृह मन्त्रालय, जिल्ला अदालत कपिलवस्तु र जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गर्दै पक्राउ पुर्जीलाई यथास्थितिमा राख्न र यस विषयमा लिखित जवाफ पेस गर्न दुवै पक्षलाई छलफलका लागि झिकाएको छ।
कपिलवस्तु जिल्ला अदालतबाट पक्राउ पुर्जी लिई प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि बढाएपछि सांसद शाहले मंगलबार सर्वोच्च अदालतमा त्यसलाई रोक लगाउन माग गर्दै रिट निवेदन दर्ता गरेका थिए ।
सोही रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले अदालतमा दुवै पक्षबीच छलफल नभएसम्मका लागि पक्राउ पुर्जीसम्बन्धी कारबाहीलाई अघि नबढाउन अल्पकालीन अन्तरिम आदेश दिएको हो ।




















