६ साउन,वीरगञ्ज । पर्साको सखुवाप्रसौनी गाउँपालिका–१ सिद्धपुरमा एक महिला आफ्नै गोठमा मृत अवस्थामा फेला परेकी छन्। स्थानीय सुधीर सिलवालकी ३७ वर्षीया पत्नी लक्ष्मी सिलवालको शव बिहीबार बिहान गोठको माथिल्लो तलामा फेला परेको हो।
दुई सन्तानकी आमा लक्ष्मीको मृत्यु आत्महत्याबाट नभई हत्या भएको माइती पक्षले आरोप लगाएको छ। घटनाको प्रकृति र परिवारका सदस्यहरूको भनाइमा विरोधाभास देखिएको भन्दै उनीहरूले निष्पक्ष अनुसन्धानको माग गरेका छन्।
मृतककी सासुले गोठको माथिल्लो तलामा डोरीमा झुन्डिएको अवस्थामा शव फेला परेको र आफूहरूले डोरी खोलेर शव तल झारेको बताएकी छन्। तर, मृतकका चार वर्षीय छोराले ‘बाबाले ममीलाई लछारपछार गर्दै कुटेको’ बताएको माइती पक्षको दाबी छ।
माइती पक्षका अनुसार घटनास्थलमा मृतकले लगाएको चुरा तीन फरक स्थानमा फुटेर भुइँमा छरिएको अवस्थामा भेटिएको थियो। त्यस्तै, झुन्डिएको भनिएको स्थानमा प्रयोग भएको लाइलनको डोरी बाँधिएको काठ कमजोर रहेको र त्यसबाट माथिल्लो तला सजिलै पुग्न सकिने अवस्था रहेको स्थानीयको भनाइ छ। यी कारणले घटना शंकास्पद देखिएको उनीहरूको दाबी छ।
यता, घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक समुन्नत अधिकारीले मृतकको शरीरमा कुनै चोटपटक वा निलडाम नदेखिएको भन्दै प्रारम्भिक रूपमा घटना शंकास्पद नदेखिएको बताएका छन्। प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।
मृतकका बुबा तथा ठोरी गाउँपालिका–३ निवासी लक्ष्मी सिवाकोटीले घटनास्थलको अवस्था, परिवारका सदस्यहरूको भनाइ र अन्य परिस्थितिको अध्ययन गर्दा आत्महत्या नभई हत्या भएको आफूहरूको निष्कर्ष रहेको बताए। उनले घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कानुनी कारबाही गर्न माग गरेका छन्।
प्रहरीले घटनाको वास्तविकता पत्ता लगाउन अनुसन्धान जारी राखेको जनाएको छ।




















