Logo

६ साउन,वीरगञ्ज । सञ्चारमाध्यममा प्रसारित समाचारको विषयलाई लिएर जिल्ला प्रहरी कार्यालय पर्साले सञ्चारमाध्यमलाई पत्र काटेको घटनाप्रति नेपाल पत्रकार महासंघ पर्सा शाखाले गम्भीर ध्यानाकर्षण जनाएको छ।

वीरगञ्जबाट प्रसारण हुने माई टिभी मा वीरगञ्ज महानगरपालिका–३१ को सिफारिसका आधारमा एक महिलाको नागरिकताबाट पतिको नाम हटाइएको विषयमा समाचार प्रसारण भएको थियो। उक्त समाचारप्रति वडा अध्यक्षले जिल्ला प्रशासन कार्यालय पर्सामा उजुरी दिएपछि प्रहरी कार्यालयले तथ्य पेश गर्न भन्दै सञ्चारमाध्यमलाई पत्र काटेको थियो।

सो घटनाप्रति आपत्ति जनाउँदै नेपाल पत्रकार महासंघ पर्साका सचिव विजयकुमार महतोद्वारा जारी विज्ञप्तिमा समाचारप्रति असहमति वा गुनासो भए सम्बन्धित सञ्चारमाध्यममै खण्डन, स्पष्टीकरण वा प्रतिक्रिया दिन सकिने र त्यसबाट पनि समाधान नभए प्रेस काउन्सिल नेपालमा उजुरी गरी कानुनी उपचार खोज्ने व्यवस्था रहेको उल्लेख गरिएको छ।

महासंघले कानुनले तोकेको प्रक्रिया र नियमनकारी निकायलाई बेवास्ता गर्दै स्थानीय प्रशासनमार्फत प्रहरीलाई परिचालन गरी सञ्चारमाध्यमलाई पत्र काट्नु विधिसम्मत अभ्यास नभएको जनाएको छ। यस्तो कार्यले कानुनी उपचारको स्थापित प्रक्रियालाई कमजोर बनाउनुका साथै सञ्चारमाध्यममाथि अनावश्यक दबाब सिर्जना गर्ने र स्वतन्त्र पत्रकारितालाई निरुत्साहित गर्ने जोखिम रहेको महासंघको भनाइ छ।

विज्ञप्तिमार्फत महासंघले संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित सबै पक्षसँग आग्रह गरेको छ।

साथै सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि मानसिक दबाब सिर्जना गर्ने तथा प्रेस स्वतन्त्रता कुण्ठित गर्ने गतिविधि दोहोरिए स्वतन्त्र प्रेस र पत्रकारको पेशागत अधिकार रक्षाका लागि आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनीसमेत महासंघले दिएको छ।


सम्बन्धित समाचार