Logo

९ फागुन,काठमाडौं । विश्वकप लिग– २ क्रिकेटअन्तर्गत घरेलु मैदानमा जारी पहिलो त्रिदेशीय एक दिवसीय अन्तर्राष्ट्रिय शृंखलाको आफ्नो तेस्रो खेलमा नेपालले नामिबियासँग २ विकेटको हार ब्यहोरेको छ ।

त्रिवि क्रिकेट मैदानमा बुधबार भएको खेलमा नेपालले केवल १६९ रनको लक्ष्य दिएको थियो । नामिबियाले ४० ओभरमा ८ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो ।

नामिबियाका कप्तान जेर्हार्ड इरासमसले ५२, माइकल भान लिंगेनले ३१ र जेजे स्मितले अविजित ३४ रन बनाए । १८ रन जोड्दा २ विकेट गुमाएको नामिबियाका लागि इरासमस र भान लिंगेनले ५२ रनको साझेदारी गरेका थिए ।

त्यसपछि ११८÷६ र १४२÷७ को अवस्थामा पुगे पनि जेजे स्मितले सम्हालिएर खेल्दै टोलीलाई जीततर्फ डो¥याएका थिए । उनले जेन ग्रिनसँग सातौं विकेटका लागि २४ र आठौं विकेटका लागि रुबेन ट्रम्पलम्यानसँग २२ रनको साझेदारी गरेका थिए ।

नेपालका कुशल भुर्तेलले ३ तथा ललित राजवंशी, रोहित पौडेल, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले एकएक विकेट लिए ।

जारी शृंखलामा नेपालले नामिबियासँगका दुवै खेल हारेको हो । नेपालले शृंखलाको आफ्नो अन्तिम खेलमा अब नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्ने छ। पहिलो खेलमा नामिबियासँग पराजित भएको नेपालले दोस्रो खेलमा नेदरल्यान्ड्सलाई हराएको थियो ।

त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेपछि ब्याटिङको जिम्मा पाएको नेपालले ३७.१ ओभरमा सबै विकेट गुमाएर १६८ रन जोड्यो ।

नेपालका लागि आसिफ शेख ५८, कुशल मल्ल ३६, भीम सार्की २६ , कुशल भुर्तेल १८ र करण केसी १२ रन जोडेर आउट भए । दीपेन्द्रसिंह ऐरीले ६ र सोमपाल कामीले ४ रन बनाए । रोहित पौडेल, देव खनाल र अनिल शाहले खाता खोल्न सकेनन् ।

४३ रनमा ३ विकेट गुमाएको अवस्थामा आसिफले कुशल मल्लसँग ५७ रनको साझेदारी गरेका थिए । नेपालले १०० रन जोड्दा चौथो विकेटका रुपमा आसिफ आउट भएका थिए । त्यसपछि नेपालले कुनै पनि विकेटका लागि गतिलो साझेदारी गर्न सकेन ।

नेपालले ५ रनको अन्तरमा सुरुका तीन विकेट गुमाएको थियो । त्यसअघि पहिलो विकेटका लागि ३८ रनको साझेदारी भएको थियो ।

नामिबियाका बर्नार्ड स्कोल्ट्ज र जान निकोल लफ्टी इटनले ४–४ विकेट लिए । स्कोल्ट्जले १० ओभरमा २ मेडन राखेर ३१ रन दिए भने लफ्टी इटनले ६.१ ओभरमा ३४ रन दिए । नामिबियाका ज्याक ब्रास्सेल र जेर्हार्ड इरासमसले पनि एकएक विकेट हात पारे ।

सातौं ओभरमा नेपालका सुरुवाती दुई विकेट झारेको स्कोल्ट्जले त्यसपछि अनिल साह र भीम सार्कीलाई पनि आउट गरेका थिए । लफ्टी इटनले नेपालको मध्य र तल्लो क्रमलाई ध्वस्त बनाएका थिए ।

 


सम्बन्धित समाचार