Logo

१७ फागुन,बारा । मधेस प्रदेशमा रहेको पर्सा राष्ट्रिय निकुञ्जमा पर्यटकहरूको आवागमन शून्य बराबर देखिएको छ । पूर्व– पश्चिम राजमार्गसँग जोडिएको पर्सा निकुञ्जको बाटो हुँदै दैनिक सयौँ भारतीय पर्यटक चितवन राष्ट्रिय निकुञ्ज पुग्ने गर्छन् । तर पर्सा निकुञ्ज भने वर्षभरि नै सुनसान हुने गर्दछ ।

पर्यटकहरूका लागि अवलोकन गर्ने प्रशस्त प्राकृतिक तथा मनमोहक दृश्य, दुर्लभ वन्यजन्तुहरूको वासस्थान क्षेत्र भए पनि प्रचारप्रसारको अभावमा पर्सा निकुञ्ज ओझेलमा परेको छ । पर्सा राष्ट्रिय निकुञ्ज जंगली हात्तीको मुख्य वासस्थान क्षेत्र हो । निकुञ्जभित्र दुर्लभ पाटेबाघ, गौरीगाई, गैँडा, भालु, सालक, जरायो, चितुवा, चित्तललगायत ३७ प्रकारका स्तनधारी जनावर, ४९० प्रकारका चराचुरुङ्गी, १३ प्रजातिका सरीसृप र ३१ प्रकारका पुतलीहरूको अवलोकन गर्न सकिन्छ ।

निकुञ्जभित्र पर्यटकहरूका लागि वन्यजन्तु अवलोकन गर्न पानी पोखरीसँगै २ दर्जन भन्दा बढी मचानहरू समेत निर्माण गरिएको छ । त्यस्तै निकुञ्जभित्र हात्ती सफारी र जंगल सफारीको समेत व्यवस्था छ ।
पर्सा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सन्तोष भगतले पर्सा निकुञ्जभित्र चितवन राष्ट्रिय निकुञ्जको तुलनामा धेरै प्रकारका वन्यजन्तु, चराचुरुङ्गी तथा प्राकृतिक रूपमा मनमोहक दृश्यहरू अवलोकन गर्न सक्ने ठाउँहरू भए पनि प्रचारप्रसारको अभावमा ओझेलमा परेको बताए । उनले पर्सा निकुञ्जमा निजी क्षेत्र लगानी गर्न इच्छुक नदेखिएका कारण पर्यटन प्रवर्द्धन गर्न नसकिएको गुनासो गरे ।

‘हामीकहाँ पर्यटक आएर पनि फर्किरहेको अवस्था छ, घुम्न आउने पर्यटकहरूका लागि आधारभूत सुविधा नहुँदा यहाँ आएका पर्यटक फर्केर चितवन राष्ट्रिय निकुञ्ज जान्छन् । यहाँ अवलोकन गर्न नपाएर फर्किएका पर्यटकहरूबाट बाहिर नकारात्मक सन्देश जाँदा पर्यटक आउन कम भएको हो,’ सूचना अधिकारी भगतले भने, ‘हामी पर्यटकको कुरा मात्रै गर्छौँ तर पर्सा निकुञ्जमा निजी क्षेत्रको लगानी खै त ? उहाँहरू निकुञ्जको कोर क्षेत्रभित्र रिसोर्ट मात्रै खोल्न पाउनुप¥यो भनेर आउनुहुन्छ, त्यो कुरा कानुनले मिल्दैन ।’

निकुञ्जभित्र पर्यटकहरूका लागि गाडी सफारीको व्यवस्था भए पनि सवारी साधन नहुँदा छिटपुट रूपमा आएका पर्यटकहरू निराश भएर फर्कने गर्दछन् । स्थानीय तह, मधेस प्रदेश र संघीय सरकार तथा निजी क्षेत्रले पनि आफ्नो प्रदेशभित्र रहेको निकुञ्जलाई प्रचारप्रसारमा खासै प्रभावकारी भूमिका खेलेको देखिँदैन ।

पछिल्लो समय निकुञ्जलाई लक्षित गरेर अम्लेखगञ्ज र सिमरामा दर्जनौँ होटल तथा रिसोर्टहरु खुलेका छन् । तर ती होटल तथा रिसोर्टहरुले आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्न नसकेको होटल तथा पर्यटन व्यवसायी मोहन शर्माको भनाई छ । ‘पर्यटन प्रवर्द्धनका लागि होटल व्यवसायीहरू खासै इच्छुक देखिएका छैनन् । होटल व्यवसायीहरूको ध्यान कसरी पैसा कमाउने भन्नेतर्फ मात्रै देखिन्छ,’ उनले भने ।

निकुञ्जभित्र पर्यटकहरूका लागि हलखोरिया दह, रामहोरी भाटा, काली दह घुम्नका साथै प्रतापपुरमा हात्ती सफारी माध्यमबाट गैँडा अवलोकन र अम्लेखगञ्जमा हात्ती सफारीको व्यवस्था छ ।
वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिलकुमार अग्रवाल पर्सा राष्ट्रिय निकुञ्जको प्रचार प्रसार र पर्यटन प्रवर्द्धनमा स्थानीय, प्रदेश र संघीय सरकारले चासो नदेखाएको बताउँछन् । ‘निकुञ्ज भित्र निजी क्षेत्रले लगानी गर्नुपूर्व सरकारले पनि पर्सा निकुञ्जको व्यापक प्रचारप्रसार गर्नुप¥यो, पर्यटकहरूका लागि आवश्यक बाटोघाटो, खानेपानी, विश्रामस्थल, जंगल सफारीका लागि सवारी साधनको व्यवस्था भयो भने भारतीय पर्यटक चितवन जाँदै जाँदैनन् नि । यहीँ दिनभर रमाएर फर्कन्छन्,’ वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अग्रवालले भने , ‘यसका लागि भारतीय गाडीहरूलाई पर्सा निकुञ्जसम्म निःशुल्क पासको व्यवस्था हुनुपर्छ ।’

मुलुकको मुख्य आर्थिक नगरी, औद्योगिक करिडोर, ठुला व्यापारी घरानाहरूको क्षेत्र भनेर बारा–पर्सालाई चिनिए पनि सरकारकै कमजोरीका कारण निजी क्षेत्र निकुञ्जमा लगानी गर्न इच्छुक नदेखिएको अग्रवालको भनाई छ ।

पर्सा निकुञ्जमा वर्षभरिमा १ हजार पर्यटक

पर्सा राष्ट्रिय निकुञ्जभित्र गत वर्ष १ हजार ६५ जनाले अवलोकन गरेका थिए । जसमा ७२ जना छिमेकी मुलुक भारतसहित सार्क मुलुक र ३२ जना अन्य देशका पर्यटक रहेको निकुञ्ज प्रशासनले जनाएको छ ।
यो सङ्ख्या चालु आर्थिक वर्षको माघ मसान्तसम्म ५२३ जना रहेको छ । जसमध्ये १२ जना सार्क मुलुक र १ जना सार्क मुलुक बाहिरको विदेशी पर्यटक रहेको निकुञ्जका सूचना अधिकारी सन्तोष भगतले जानकारी दिए । निकुञ्जमा नेपाली नागरिकको लागि १ सय रुपैयाँ, सार्क मुलुकको नागरिकको हकमा ७५० र अन्य विदेशीको हकमा १ हजार ५ सय प्रवेश शुल्क लाग्ने गर्छ । साथै हात्ती सफारीको हकमा नेपालीलाई ५ सय र विदेशीलाई १ हजार ५ सय रुपैयाँ शुल्क तय गरिएको छ । गत आर्थिक वर्षमा हात्ती सफारीसहित ३ लाख ४२ हजार ३८१ रुपैयाँ राजस्व सङ्कलन भएको निकुञ्जले जनाएको छ ।

प्रकृतिमा आधारित पर्यटनलाई प्रदेश सरकारले प्राथमिकतामा नराख्नु चिन्ताको विषय हो : खतिवडा
पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडाले प्रदेश सरकारीले पर्यटन प्रवर्द्धनका नाममा धार्मिक क्षेत्रमा मात्रै लगानी गरेको टिप्पणी गरेका छन् । उनले प्राकृतिक पर्यटन प्रवर्द्धन गर्न भन्दा प्रदेश सरकार मठ, मन्दिर र मस्जिद बनाउन लागेको बताए ।

‘पर्सा राष्ट्रिय निकुञ्जलाई चितवन राष्ट्रिय निकुञ्जको प्रवेशद्वारको रूपमा प्रचार गर्नुपर्छ । यसमा निजी क्षेत्रको पनि समन्वय र लगानी हुनुपर्छ,’ उनले भने ‘प्रकृतिमा आधारित पर्यटन प्रवर्द्धनलाई प्रदेश सरकारले प्राथमिकतामा नराख्नु चिन्ताको विषय हो ।’

खतिवडाले पर्सा निकुञ्जको समृद्धिका लागि स्थानीय, प्रदेश र संघीय सरकारबिच समन्वय नभएको बताए । उनले चितवन र पर्सा निकुञ्जलाई एउटै क्षेत्रभित्र समेटेर चितवनमा टिकट काटेर निकुञ्ज प्रवेश गरेको पर्यटकले पर्सा निकुञ्ज घुम्न सक्ने र पर्सामा टिकट लिएको पर्यटकले एउटै टिकटबाट चितवनसम्म घुम्न सक्ने वातावरण बनाउन नीतिगत रूपमै निर्णय गरेर अगाडी बढ्न छलफल भइरहेको बताएका छन् ।

पछिल्लो समय जीतपुर सिमरा उपमहानगरले पर्सा निकुञ्जभित्र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले जंगल सफारीका लागि गाडी खरिद प्रक्रिया अगाडी बढाएको छ भने निकुञ्ज घुम्ने पर्यटकहरूका लागि अम्लेखगञ्जमा हाइकिङ ट्रेल निर्माण गरिरहेको छ । साभार—रातोपाटी

 


सम्बन्धित समाचार