Logo

१७ फागुन,पर्सा । चितवन राष्ट्रिय निकुन्जको अवरोधले हुलाकी सडक अन्तर्गत वीरगन्ज–ठोरी सडक खण्डमा अधुरो रहेको साढे ४ किलोमिटर सडक अझै निर्माण हुन सकेको छैन ।

हुलाकी सडक निर्माणमा चितवन राष्ट्रिय निकुञ्जको अवरोध कायमै
चितवन राष्ट्रिय निकुञ्ज प्रशासनको अवरोधको कारण हुलाकी सडक अन्तर्गत अधुरो रहेको पर्सा ठोरीस्थित सडक खण्ड । फाइल तस्विर ः शंकर आचार्य ÷ कान्तिपुर

हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय वीरगन्जका इन्जिनियर एवं सूचना अधिकृत सन्जयकुमार ठाकुर निकुञ्ज प्रशासनको हालसम्म जारी अवरोधले ठोरी गाउँपालिकामा अधुरो रहेको साढे ४ किमी हुलाकी सडक कालोपत्र हुन नसकेको बताउँछन् ।

‘निकुञ्जको कोर एरियामा पक्की सडक बनाउन मिल्दैन भन्दै निकुञ्ज प्रशासनले हाल सम्म अवरोध गर्दै आएको छ,’ उनले भने, ‘हामीले पटक पटक निकुञ्ज प्रशासनलाई अवरोध नगर्न आग्रह ग¥यौं, तर समस्याले निकास पाएन ।’

सडक निर्माण गर्न अवरोध भएपछि २ वर्ष अघि सडक निर्माणको काम अधुरो छोडेर ठेकेदार कालिका÷बानियाँ जेभि कम्पनी फिर्ता गएको थियो । ठेकेदार कम्पनीले कागजी रुपमा समेत काम सम्पन्न गरी सकेको छ ।

ठोरीबासीहरु पनि लामो समयदेखि हुलाकी सडकको काम अवरुद्ध हुँदा आजित छन् । स्थानीय प्रकाश खनाल ठोरीबासीको लामो प्रतीक्षापछि वीरगन्ज–ठोरी हुलाकी सडकले मूर्त रुप लिएपनि यो सडकलाई पूर्णता नदिई अधुरो छोडिनु दुःखद रहेको बताउँछन् । ‘वीरगञ्ज–ठोरी र ठोरी–माडी सडक ठोरीबासीको सपना हो,’ उनले भने, ‘तर विभिन्न प्राविधिक जटिलता देखाएर यो दुबै सडकको काममा अवरोध गरिएको छ, यसले ठोरीको समग्र विकासमै तगारो लागेको छ ।’

पछिल्लो समय अधुरो रहेको हुलाकी सडकको एलाइन्मेन्ट नै परिवर्तन गरी मानव बस्तीको बीचबाट लग्ने प्रयास भई रहेको पनि आफूहरुले जानकारी पाएको खनाल बताउँछन् ।

‘यदी एलाइन्मेन्ट परिवर्तन गरेर हुलाकी सडकलाई मानव बस्तीको बीचबाट लग्ने प्रयास गरिन्छ भने त्यो हामीलाई स्वीकार्य हुँदैन,’ उनले भने, ‘घना बस्तीको बीचबाट राजमार्ग लग्दा दुर्घटनाको जोखिम बढ्ने र व्यावहारिक रुपमा पनि झन्झटिलो समेत हुन जान्छ ।’

अर्का स्थानीय रन्जित थापा अधुरो छोडिएको हुलाकी सडक खण्डमा ढेडु खोलाको पुल समेत निर्माण नहुँदा वर्षायाममा हुलाकी सडकमा आवागमन गर्न समस्या हुने गरेको बताउँछन् । ‘एकातिर हुलाकी सडक अधुरो छोडियो, अर्को तिर यही सडकमा एउटा पुल बनाइएन,’ उनले भने, ‘यो त हात्ती छि¥यो, पुच्छर अड्कियो जस्तो भयो ।’

हुलाकी सडक निर्माण अघि अध्ययन गर्दा निकुञ्ज प्रशासनसँग समन्वय गरिनुपर्नेमा त्यसो नगरी सडक निर्माण कार्य सुरु गरिएपछि बाधा अवरोध आउनुमा सरकारी कार्यालयहरुबीचको समन्वय र तालमेलको अभाव प्रमुख कारण रहेको थापाको आरोप छ ।

ठोरी–माडी सडक खण्डमा दैनिक सयौंको संख्यामा मोटरसाइकल, म्याजिक भ्यान, मालबाहक ट्रकहरु चल्छन् । यस बाहेक ठोरीबाट चितवन हुँदै काठमाडौंसम्म ८ वटा रात्री बस समेत चल्ने गरेका छन् । पछिल्लो समय ठोरीमा पर्यटन गतिविधिमा समेत वृद्धी भएको छ । तर अधुरो हुलाकी सडकले पर्यटकलाई पनि सास्ती हुने गरेको छ ।

हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय वीरगन्जका इन्जिनियर एवम् सूचना अधिकृत ठाकुर ठोरीमा अधुरो रहेको हुलाकी सडकको एलाइन्मेन्ट परिवर्तन गर्ने योजना तत्काल नरहेको बताउँछन् ।साभार कान्तिपुर


सम्बन्धित समाचार