Logo

१८ फागुन,वीरगञ्ज । बारा प्रहरीले झण्डै ४१ लाख मूल्य बराबरका भन्सार छलीका सामानसहितको ट्रक नियन्त्रणमा लिएको छ । जितपुरसिमरा उपमहानगरपालिका वडा नं. २१ अमलेखगञ्ज चोकबाट प्रहरीले सामानसहित ट्रक नियन्त्रणमा लिएको हो ।

इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट खटिएको टोलीले चलाएको जाँच अभियानको क्रमबाट ४० लाख ८४ हजार ७३ रुपैँयाका सामानसहित ट्रक नियन्त्रणमा लिएको प्रहरी नायब उपरिक्षक सूचना अधिकारी दधिराम न्यौपानेले जनाए ।
उनका अनुसार वीरगञ्जबाट गोर्खातर्फ जाँदै गरेको ना ६ ख ९७६३ नम्बरको बसमा लोड रहेको तीनसय किलोग्राम लसुनको स्रोत खुलाउन नसक्दा नियन्त्रणमा लिइएको हो ।

यस्तै वीरगञ्जबाट काठमाण्डौँतर्फ जाँदै गरेको ना १ ज ३८८५ नम्बरको सुमोभित्र राखिएको मोबाइलको टेम्पर ग्लास दुई हजार ५० पिस बरामद भएको प्रहरीले जनाएको छ ।
यसैगरि कलैयाबाट हेटौँडातर्फ जाँदै गरेको बा ०१–०२६ च ५५५९ नम्बरको पिकअपबाट एकलाख मूल्यको आठसय किलोग्राम प्याज र सातसय ५० किलोग्राम आलु बरामद भएको छ ।

त्यस्तै वीरगञ्जबाट पोखरातर्फ जाँदै गरेको ग १ ख ९४२४ नम्बरको ट्रकबाट बरामद ३७ लाख २९ हजार ७३ रुपैँया मूल्य बराबरका किराना सामग्रीको बिल शंकास्पद देखिएपछि नियन्त्रणमा लिइएको सूचना अधिकारी न्यौपानेले बताए ।
बरामद सामानहरुसहित ट्रकलाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनायो ।


सम्बन्धित समाचार