२१ जेठ,वीरगञ्ज । देशभित्र रोजगारीका अवसरहरू पर्याप्त रूपमा सिर्जना हुन नसक्दा वर्षेनि लाखौं युवा वैदेशिक रोजगारीतर्फ जान बाध्य भइरहेका छन्। नेपाली युवाका लागि वैदेशिक रोजगारी अहिले विकल्पभन्दा पनि बाध्यता बन्दै गएको देखिएको छ।
चालु आर्थिक वर्ष २०८१/८२ मा मात्रै पर्सा जिल्लाबाट ७ हजार ८ सय ९६ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन्। सुरक्षित आप्रवासन परियोजना (सामी) पर्सा जिल्ला संयोजक रामाशंकर कुशवाहाका अनुसार जिल्लाका विभिन्न पालिकाबाट उल्लेख्य संख्यामा श्रमिकहरू विदेशिएका छन्।
उनका अनुसार सबैभन्दा बढी श्रम स्वीकृति वीरगञ्ज महानगरपालिकाबाट २ हजार ३ सय ८२ जनाले लिएका छन्। त्यसपछि बहुदरमाई नगरपालिकाबाट ७ सय ९५ जना, ठोरी गाउँपालिकाबाट ७ सय ८५ जना, पर्सागढी नगरपालिकाबाट ७ सय ३ जना, बिन्दवासिनी गाउँपालिकाबाट ४ सय ५४ जना र पोखरिया नगरपालिकाबाट ४ सय ५२ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन्।
त्यसैगरी सखुवा प्रसौनी गाउँपालिकाबाट ४ सय ५० जना, जगरनाथपुर गाउँपालिकाबाट ३ सय ७२ जना, पकाहा मैनपुर गाउँपालिकाबाट २ सय ६३ जना, धोबिनी गाउँपालिकाबाट ३ सय ६० जना, पटेर्वा सुगौली गाउँपालिकाबाट २ सय ६० जना, कालिकामाई गाउँपालिकाबाट २ सय ४७ जना, छिपहरमाई गाउँपालिकाबाट २ सय ३५ जना र जीराभवानी गाउँपालिकाबाट २ सय ३० जनाले श्रम स्वीकृति लिएर विदेश गएको कुशवाहाले जानकारी दिए। उनका अनुसार अध्ययनका लागि विदेश जानेहरूको संख्या भने यस तथ्याङ्कमा समावेश गरिएको छैन।

राहदानी र श्रम स्वीकृतिको माग उच्च
राष्ट्रिय स्तरमा पनि वैदेशिक रोजगारीमा जाने नेपालीहरूको संख्या उच्च रहेको देखिन्छ। सार्वजनिक तथ्याङ्कअनुसार चालु आर्थिक वर्षमा श्रम स्वीकृति लिने श्रमिकहरूको संख्या करिब ६४ लाख रहेको उल्लेख छ। सोही अवधिमा ३ लाख १७ हजार ६३ जनाले श्रम स्वीकृति नवीकरण गरेका छन्।
त्यसैगरी राहदानी विभागका अनुसार गत फागुनसम्म ५५ लाख १६ हजार थान इलेक्ट्रोनिक राहदानी (ई–पासपोर्ट) वितरण भइसकेको छ। वैदेशिक रोजगारीका लागि विदेश जानेहरूको संख्या बढेसँगै राहदानी र श्रम स्वीकृतिको माग पनि लगातार उच्च रहेको छ।
वैदेशिक रोजगारीको कहालीलाग्दो तस्बिर : दैनिक चार शव नेपाल भित्रिन्छन्
यता वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको मृत्यु दर पनि चिन्ताजनक देखिएको छ। वैदेशिक रोजगार बोर्डका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो १० महिनामा मात्रै वैदेशिक रोजगारीका क्रममा १ हजार २१७ जनाको शव नेपाल भित्रिएको छ।
यो तथ्याङ्कअनुसार दैनिक औसत चार जनाको शव नेपाल भित्रिने गरेको देखिन्छ। तर यो संख्या केवल श्रम स्वीकृति लिएर करार अवधिभित्रै मृत्यु भई बोर्डबाट आर्थिक सहायता लिएका श्रमिकहरूको मात्र हो। भ्रमण भिसामा गएका वा करार अवधि सकिएपछि पनि विदेशमै रहेका श्रमिकहरूको मृत्यु यो तथ्याङ्कमा समावेश छैन।

बोर्डका अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा १ हजार ३७८ जना नेपाली श्रमिकले वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका थिए। पछिल्ला दुई वर्षको तथ्याङ्क विश्लेषण गर्दा चालु आर्थिक वर्षमा मृत्यु दर अझ बढ्ने संकेत देखिएको छ।
वैदेशिक रोजगारीमा मृत्यु हुनेमध्ये सबैभन्दा धेरै श्रमिक खाडी मुलुक र मलेसियामा कार्यरत रहेका छन्। त्यसपछि दक्षिण कोरिया, जापान, युरोपेली देशहरू लगायतका क्षेत्रमा पनि नेपाली श्रमिकको मृत्यु हुने गरेको तथ्याङ्कले देखाएको छ।
कति जनाले के कारण ज्यान गुमाए ग्राफमा हेर्नुहोस्

वैदेशिक रोजगारीले देशको अर्थतन्त्रमा रेमिट्यान्सको महत्वपूर्ण योगदान दिइरहेको भए पनि श्रमिकको सुरक्षा, जोखिम व्यवस्थापन र स्वदेशमै रोजगारी सिर्जनाको चुनौती अझ गम्भीर बन्दै गएको सरोकारवालाहरूको भनाइ छ।

















