Logo

२१ जेठ,वीरगञ्ज । बारामा सर्पले डस्दा १९ महिनाका एक बालकको मृत्यु भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पचरौता नगरपालिका–४ बेल्दारीकी एक महिला बुधबार ज्यालादारी कामका लागि मकैबारीमा जाँदा आफ्ना १९ महिनाका छोरालाई पनि सँगै लिएर गएकी थिइन्। सोही क्रममा मकैको खेतमा खेलिरहेका बालकलाई खुट्टामा सर्पले डसेको थियो।

सर्पदंशबाट गम्भीर घाइते भएका बालकलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल कलैया लगिँदै गर्दा बाटोमै मृत्यु भएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा बारासहित देशका विभिन्न जिल्लामा सर्पदंशका घटनामा तीन जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।

मनसुन सुरु भएसँगै सर्पदंशका घटना बढ्न थालेकाले सतर्कता अपनाउन तथा सर्पले डसेमा तत्काल स्वास्थ्य संस्थामा पुग्न प्राधिकरणले आग्रह गरेको छ।


सम्बन्धित समाचार