२१ जेठ,वीरगञ्ज । संघीय सरकारले सरुवा गरेर पठाएका सहसचिव बसन्तबहादुर बोहराले बिहीबारदेखि वीरगन्ज महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको कार्यभार सम्हालेका छन्।
जेठ ११ गते बसेको मन्त्रिपरिषद् बैठकले २९ जना सहसचिवको सरुवा गर्ने क्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत कार्यरत बोहरालाई वीरगन्ज महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा पठाउने निर्णय गरेको थियो। सो निर्णय भएको १० दिनपछि बोहरा बिहीबार महानगर कार्यालय पुगेर औपचारिक रूपमा कार्यभार सम्हालेका हुन्।
वीरगन्ज महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको विषयलाई लिएर केही महिनादेखि विवाद चलिरहेको थियो। यसअघि फागुन १२ गते तत्कालीन सरकारले रेशमलाल कँडेललाई उक्त पदमा सरुवा गरेको थियो। तर महानगर प्रमुख राजेशमान सिंहले महानगरको सहमति बिना गरिएको सरुवाप्रति असहमति जनाउँदै निर्णय पुनर्विचार गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेका थिए।
त्यसपछि विवाद थप चर्किएको थियो। कँडेल वैशाख २८ गते रमाना लिएर महानगरमा हाजिर हुन पुगेका थिए। तर जेठ ५ गते बसेको जनप्रतिनिधिहरूको बैठकले उनलाई हाजिर हुन नदिने निर्णय गरेको थियो। बैठकले संघीय सरकारले जबर्जस्ती गरे महानगर कार्यालयमा ताल्चा लगाएर साँचो मन्त्रालयमा बुझाउने चेतावनीसमेत दिएको थियो।
यहीबीच संघीय सरकारले नयाँ सरुवा निर्णयमार्फत बसन्तबहादुर बोहरालाई वीरगन्ज महानगर पठाएको हो।

















