Logo

२२ फागुन,वीरगञ्ज । बाराबाट प्रहरीले ३४ लाखभन्दा बढीको भन्सार छलीको सामान लोड रहेको ट्रक र पिकअप नियन्त्रणमा लिएको छ । प्रहरीले जिल्लामा चलाएको जाँच अभियानको क्रममा फरकफरक स्थानहरुबाट ३४ लाख ९२ हजार मूल्यको सामानसहित ट्रक र पिकअप नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको टोलीले कलैया–१२ कोइरिया टोलाबाट ७० हजारको सामान बरामद गरेको प्रहरीले जनाएको छ । वीरगञ्जबाट कलैयातर्फ जाँदै गरेको आउँदै गरेको यात्रुवाहक अटोबाट ५० पिस साडी, थानको कपडा १ थान बरामद गरेको हो ।

यसैगरि इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट खटिएको टोलीले जितपुरसिमरा–२१ अमलेखगञ्जबाट भन्सार छलीका तामाका भाडाकुडा लोड रहेका पिकअप नियन्त्रणमा लिएको प्रहरी नायब उपरिक्षक प्रवक्ता दधिराम न्यौपानेले जनाए । चितवनबाट वीरगञ्जतर्फ आउँदै गरेको ना ४ च २४० नम्बरको पिकअपमा लोड रहेका ८ लाख ४४ हजार ६५४ मूल्यका भाँडाको बिल शंका लागेपछि नियन्त्रणमा लिइएको उनले बताए ।

त्यस्तै प्रहरी चौकी पथलैयाको टोलीले वीरगञ्जबाट नुवाकोटतर्फ जाँदै गरेको ना ४ ख ११२७ नम्बरको ट्रक नियन्त्रणमा लिएको जनाएको छ । जितपुरसिमरा–१ पथलैया चोकमा जाँच गर्दा ट्रकमा लोड रहेका २५ लाख ७७ हजार ७८८ मूल्यका विभिन्न किसिमका खुद्रा सामानको बिल भरपाई भन्दा स्रोत नखुलेको पक्राउ गरिएको बारा प्रहरीले जनायो ।

बरामद सामानसहित गाडीलाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।


सम्बन्धित समाचार