Logo

१८ चैत, काठमाडौं । नेपाल रत्न तथा आभुषण संघमा सुनको कोटा दुरुपयोग गरी भारततर्फ तस्करी गरेको बिषयलाई लिएर छानवीन समिति बनाउन माग गरिएको छ । संघका पदाधिकारीहरुले यो बिषयलाई आन्तरिक रुपमा छानवीन गर्न माग गरेका हुन ।

संघका उपाध्यक्ष निर्मलज्योति तुलाधरले संघले वितरण गर्ने कोटाको सुन दुरुपयोग र भारत तर्फ सुन तस्करी गरेको विषयमा संघका वरिष्ठ उपाध्यक्ष नरेन्द्र कुमार गुप्ताले उठाएको बिषयले आफ्नो सामाजिक र व्यवसायीक प्रतिष्ठामा हानी भएको भन्दै यस बिषयलाई संघ भित्र छानवीन समिति बनाएर रिर्पोट सार्वजनिक गर्न माग गरेका छन् ।

नेपाल रत्न तथा आभुषण संघका अध्यक्ष सुमनमान ताम्राकारलाई सम्वोधन गर्दै संघका उपाध्यक्ष तुलाधरले लेखेको पत्रमा संघका वरिष्ठ उपाध्यक्ष नरेन्द्र कुमार गुप्ताले आफू र आफ्नो परिवारको नाउँमा खोलेको कम्पनी र र्फम प्रति लक्षित गर्दैै विभिन्न विद्युतिय संचार माध्यम र सामाजिक सञ्जालमा चरित्र हत्या गर्ने उदेश्यले प्रेरित भई निरन्तर समाचार प्रकाशन भएकोमा ध्यानाकषर्ण भएको उल्लेख गरिएको छ ।

नेपाल राष्ट्र बैंकले जारी गरेको सुन आयात तथा विक्री वितरण सम्वन्धि कार्यविधि २०६८ र नेपाल रत्न तथा आभुषण संघको चक्रिय सुन वितरण प्रणाली बमोजिम सुनको थोक व्यवसायीहरुले प्रत्येक पटक बैंकमा सुन खरिद गर्नुपूर्व अनिवार्य रुपमा संघ र बैंकमा बुझाएको सुन विक्री वितरणको अध्ययन नै नगरी आफूमाथि गंम्भिर लान्छाना लगाउदा सामाजिक तथा व्यवसायीक प्रतिष्ठामा अपूरणिय क्षति हुन पुगेको तुलाधरको भनाई छ ।

विगत ५ बर्ष देखि संघ मार्फत सुनको सिफारीस लिई खरीद विक्री गरेको हरहिसाव सुन आयात तथा विक्री वितरण सम्वन्धि कार्यविधि २०६८ र संघको नीति निर्देशन तथा प्रचलित कानून सम्मत छ की छैन भन्ने सन्दर्भमा यकिन गर्नका लागि संघका जिम्मेवार पदाधिकारी संलग्न रहेको एउटा छानवीन समिति बनाउन तुलाधरले माग गरेका छन् ।

उपाध्यक्ष तुलाधरले संघमा दिएको निवेदनमा आफ्नो कम्पनी र फर्मको ५ बर्ष देखिको कारोवार, हरहिसाव तथा बैंक खाता समेत नेपाल सरकारको नियमक निकायले छानवीन गर्न चाहेमा आफू सदैव तयार गरेको उल्लेख गरेका छन् । संघको सिफारीस र बैंकबाट लिएको सुनको खाता दुरुस्त राखेको उनको दावी छ ।

उपाध्यक्ष तुलाधरले आफू र आफ्नो परिवारका सदस्यहरुको नाउँमा गोल्ड स्पट प्रालि, फईभ स्टार बुलियन्स र स्वर्ण लक्ष्मी इन्टरप्राइजेज कम्पनी मार्फत सुनको कारोवार गर्दै आएको स्वीकार गरेका छन् । उनले नेपालका कुन कुन शहरमा अफिस राखेर सुनको कारोवार गरेको भन्ने कुरा भने खुलाएका छैनन् ।

यता नेपाल रत्न तथा आभूषण संघका वरिष्ठ उपाध्यक्ष नरेन्द्र कुमार गुप्ताले संघका अध्यक्ष सुमनमान ताम्राकार र उपाध्यक्ष निर्मलज्योति तुलाधर व्यवसायी साझेदार भएको र एक साझेदारले अर्को साझेदारलाई छानवीन गर्नका लागि निवेदन दिनु हास्यास्पद बिषय भएको बताएका छन् । गुप्ताले भने, “दुवै सुन तस्करीमा आरोपित व्यक्ति हुन त्यसैले छानवीन गर्ने काम राज्यका संयन्त्रको हो हाम्रो संघको होईन ।”

सुनमा कोटा लगाएपछि देशभरका साना व्यवसायीको अधिकार कुष्ठित पार्ने उदेश्यले निर्मलज्योति तुलाधरले देशका विभिन्न शहरमा अफिस राखेको र सुनको कोटा हत्याउन तीनवटा संघ र महासंघमा सदस्यता लिई सुनको दुरुपयोग गर्दै आएको आरोप गुप्ताको छ । संघबाट हुने सिफारिसमा निर्मलज्योति र उनका परिवारका सदस्य संचालक भएको कम्पनीले हरेक दिन सुन उठाउने गरेको संघ तथा महासंघको रेकर्डबाट खुल्ने वरिष्ठ उपाध्यक्ष गुप्ताको भनाई छ ।

संघमा आफ्नो मान्छेलाई जिताउने र तीनैलाई प्रयोग गरेर सुन हत्याउने अभियानमा निर्मलज्योति तुलाधर लाग्दै आएको गुप्ताले बताए । ५ बर्ष अघि पनि यहीँ बिषयमा संघमा बहश भएर छानवीन समिति बनेको थियो । त्यहीँ प्रतिवेदन हाल सम्म कार्यान्वयन नभएकोले सुनमा कोटा दुरुपयोग र अवैध मार्गबाट आएको सुन भारत तस्करी बढेको भनाई संघका वरिष्ठ उपाध्यक्ष गुप्ताको छ ।

संघ भित्र एकदशक देखि सुनको कोटा बेथितिको कुरा उठ्दै आएको थियो । २०७५ भदौ ११ गते गुप्ताको संयोजकत्वमा जयराम पाण्डे, ऋषि ठाकुर र मोहन शाह सदस्य रहेको ४ सदस्यीय सुन वितरण तथा कार्यविधि अध्ययन समितिले पेश गरेको प्रतिवेदनमा समेत सुनको अवैध कारोवारको कुरा उल्लेख गरिएको छ ।

उक्त प्रतिवेदनमा समेत एउटा र्फमको नाउँको सुनको सिफारीस अर्को फर्ममा दिदाँ दुरुपयोग गरिएको, एउटा जिल्लाका लागि तोकिएको सुनको कोटा अर्को जिल्लामा लगेर विक्रिगरिएको, एउटै प्यान नम्वर भएको र्फम र कम्पनीले अलग अलग जिल्लाको लागि समेत सुनको कोटा सिफारिस लिएको, एउटै फर्मले एक भन्दा बढी सदस्यता लिएको र आफूखुसी सुन वितरण गरी भारत तर्फ सुन तस्करी भएको लगायत २८ बुँदे अनियमितताका प्रमाण सहितको प्रतिवेदन संघमा बुझाइएको थियो ।

५ बर्ष अघि समेत निर्मलज्योति तुलाधरले सुनको कोटामा एकाधिकार कायम गरेको र साना तथा जिल्लाका व्यवसायीले सुन सहज ढंगले पाउन नसकेको बिषय संघ भित्रका सदस्यहरुले उठाएको गुप्ताले बताए । पैसा र शक्तिको आडमा निर्मलज्योतिले सुनमा एकछत्र राज गरेको गुप्ताको आरोप छ ।
निर्मलज्योति तुलाधरको ५ बर्षको मात्र होइन कोटा लगाएपछि अहिले सम्मको उनको आम्दानी र हाल उनीसँग रहेको सम्पतीका बारेमा राज्यका निकायले निष्पक्ष छानवीन गरे साना व्यवसायीको अधिकार कुष्ठित पारेर सुनको दुरुपयोगबाट कति सम्पत्ति आर्जन गरे भनेर देख्न सकिने गुप्ताको भनाई छ ।

जिल्लाका व्यवसायीले पाउँने सुविधा समेत आफूले राख्न तुलाधरले वीरगञ्ज, जनकपुर, विराटनगर, भैरहवा, नेपालगञ्ज लगायत देशका प्रमुख शहरमा शाखा कार्यालय स्थापना गरेको गुप्ताले बताए । देशका प्रमुख शहरमा निर्मलज्योतिका अफिस छन्, तीनै कार्यालयका नाउँमा उठाइएको र अवैध मार्गभएर नेपाल भित्रिएको सुन सिमावर्ती नाका भएर भारत तस्करी गराउदै आएको दावी गुप्ताको छ ।

नेपाल रत्न तथा आभुषण संघका वरिष्ठ उपाध्यक्ष गुप्ताले संघका अध्यक्ष सुमनमान ताम्राकार र अर्का उपाध्यक्ष निर्मलज्योति तुलाधरले साना व्यवसायीको कोटाको सुन दुरुपयोग गरी अवैध रुपमा भारत तस्करी गराउदै आएको भन्दै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा ठाडो उजुरी समेत दिएका छन् । उनको उजुरी माथि हाल सम्म प्रहरीले कुनै अनुसन्धान गरेको छैन ।


सम्बन्धित समाचार