Logo

४ बैशाख, जनकपुरधाम । मधेश प्रदेश सरकारले आज चौथोपटक विश्वासको मत लिँदैछ । मुख्यमन्त्री सरोजकुमार यादवले मध्यान्ह १ बजेदेखि विश्वासको मत लिँदैछन् ।

कांग्रेसले समर्थन फिर्ता लिएको २५ औं दिनमा मधेश प्रदेश सरकारले आज चौथो पटक विश्वासको मत लिन सदन डाँकिएको हो ।

मुख्यमन्त्री यादवले प्रदेश सभाको कार्यालयमार्फत विश्वासको मत लिन सदनको बैठक आह्वान गरेको प्रदेश सभाको कार्यालयले जनाएको छ ।

तर मुख्यमन्त्री यादवले डाँकेको सदन चल्न नदिने जनमत पार्टीले तयारी गरेको छ । अर्थात् मुख्यमन्त्री यादवले विश्वासको मत लिनका लागि डाकिएको सदनको बैठक अवरुद्ध गर्ने जनमत पार्टीले तयारी गरेको छ ।

जनमत पार्टीले २ बुँदे माग अगाडि सार्दै सदन चल्न नदिने अडान लिएको छ । राजविराज कृषि विश्वविद्यालयमा भएको लाठी चार्जको घटना विषयलाई लिएर जनमत पार्टी मधेश प्रदेशले सदन अवरुद्ध गर्ने तयारी गरेको हो ।

जनमत पार्टी मधेश प्रदेशका संसदीय दलका नेता महेश यादवका अनुसार मधेश सरकारले आफ्नो पार्टीले उठाउँदै आएको माग पूरा नगरेसम्म सदन चल्न दिइने छैन ।

उनले भने,‘राजविराज कृषि विश्वविद्यालयमा भएको लाठी चार्जको घटनामा छानविन समिति गठन गर्नुप¥यो, त्यपछि ०८०/०८१ सालको बजेट पास हुँदा अर्थ मन्त्रालयबाट बिना कार्यविधि बाँडिएको ३ अर्ब रुपैयाँको छानविन गर्न बनेको समितिले अनुसन्धान गरेको प्रतिवेदन सार्वजनिक हुनुप¥यो । यही २ वटा मागको सरकारले जवाफ नदिँदासम्म सदन चल्न दिने छैनौं ।’


सम्बन्धित समाचार