Logo

१. पृष्ठभूमि

चैत्र १९ गते ईस्टर्न रिसर्च ईन्स्टिच्युट अफ पोजिटिभ साईन्स (ईरिप्स)ले चैत्र २४ देखि २७ सम्म आयोजना गरेका रुपान्तरणकारी योजनाका लागि प्रशंसनीय खोज प्रशिक्षक प्रशिक्षणको तयारीको लागि ठमेलको बैशाली होटलको लवीमा वसेर होटल म्यानेजरलाई कुरी रहेको बेलामा मोबाईलको स्क्रिनमा आदारणीय डा.अखिलेश्वर लाल कर्ण सरको फोन आयो । म बन विज्ञान अध्ययन संस्थान हेटौडा पढ्दा वहाँ विरगञ्जमा जिल्ला वन कार्यालयका प्रमुख (डिएफओ) हुनुहुन्थ्यो ।

त्यतिवेला नै संयोगवश जिल्ला बन कार्यालयमा वहाँसँग सानो अन्तरक्रिया गर्ने अवसर जुरेको थियो । जुन निकै उत्प्रेरक रहेको थियो र त्यति वेलादेखि नै वहाँप्रति म मा सकारात्मक छाप वसेको थियो । पछि व्यवसायिकजीवन शुरु गरेपछि धेरै पटक वहाँसँग भेट भएर उत्प्रेरित हुने अवसर प्राप्त गरेको छु ।

वहाँको सबै कुरा उत्प्रेरित र सकारात्मक हुने भएकाले उत्साहित हुदै फोन उठाए र सामान्य अभिवादन आदानप्रदानपछि मधेश प्रदेसमा सञ्चालित समृद्धिकालागि बन कार्यक्रमको टिम विल्डिंग तालिमको विषयमा कुरा भयो । मधेशवाट तपाईको वारेमा जिज्ञासा राखिएको छ तपाईको समय कस्तो छ भनेर उहँले सोध्नु भयो । फोनमा कुराकानी लामो हुन नपाउदै यदि मिल्छ भने रेड कार्यान्वयन ईकाईमा आउनुहोस भन्नुभयो । म तुरुन्तै वहाँको कार्यालयमा गए ।

तालिमको वारेमा छलफल गरी कार्यक्रमको संभावित मिति र कार्यक्रमका उद्देश्यहरु के के हुन सक्दछन ? भन्ने वारेमा छलफल गरियो । त्यति नै बेला मधेश प्रदेश वन निर्देशनालयका निमित्त निर्देशक श्री सुनिल कर्ण सरसँग पनि कुरा भयो । तालिम २८ र २९ गर्ने निधो गरियो । परियोजनाको वारेमा आवश्यक सूचना डाक्टर साहेवले र श्री नवराज पुडासैनी सरले परियोजनाको वार्षिक प्रगति प्रतिवेदन उपलब्ध गराई दिनुभयो ।  डा. साहेवले ‘यो तालिम विशेष प्रकारको भएको र मन्त्रालयको नेतृत्व नै सहभागी हुनसक्ने हुँदा एक उत्कृष्ट सहजकर्ताको खोजी भएको छ र तपाईको नाम आएको छ । म आशा गर्दछु सहजकर्ताको छनौट सही थियो भन्ने सन्देश तपाईले प्रवाह गर्नु हुनेछ ।’ भन्ने वहाँको भनाई निकै उत्साहजनक र चुनौतिपुर्ण थियो । तर वास्तवमा मेरा लागि त्यो सुवर्ण अवसर थियो ।

त्यही आधारमा तालिमको तयारी गरियो । प्रदेश बन निर्देशनालयका निर्देशक आदारणीय जगनाथ जयसवाल सरले भ्रमणको व्यवस्थापन मिलाई दिनुभयो । २७ गते ठमेलको मनांग होटलमा ४ दिनदेखि सञ्चालन भएको रुपान्तरणकारी योजना तर्जुमाका लागि प्रशंसनीय खोज प्रशिक्षक प्रशिक्षण समापन गरेर एयरपोर्ट हुदै जनकपुर पुग्दा सहपाठी प्रियमित्र शिवशंकर झाजी कुरेर बसीरहनु भएको थियो । वहाँसगै बर्दिवासस्थित गौतम होटलमा वास बस्न पुगियो । २८गते विहान लालगढको गौतम होटलको सभाहलमा माननीय वन मन्त्री श्री रमेश प्रसाद कुर्मीले औपचारिक उद्घाटन गरेपछि तालिम शुरु गरियो ।

‘समृद्धिको लागि बन कार्यक्रम’ नेपाल सरकार र विश्व बैकको संयुक्त प्रयासवाट मधेश र लुम्बिनी प्रदेशहरुमा दिगो बन व्यवस्थापन तथा बन उद्यमहरुलाई प्रवद्र्धन तथा सहयोग गर्न कार्यान्वयन गरिएको छ । यो मधेश प्रदेशका २५ वटा पालिकाहरुकामा कार्यान्वयन गरिएको कार्यक्रम हो । यस कार्यक्रमको संयोजन तथा कार्यान्वयनको नेतृत्व प्रदेश स्तरमा बन निर्देशनालयहरुले गरेको छ । भने केन्द्रमा रेडप्लस कार्यक्रम कार्यान्वयन शाखाले गरिरहेको छ । यस कार्यक्रममा सरकारको तर्फवाट मन्त्रालय, निर्देशनालय, कार्यान्वयन शाखा, डिभिजन तथा सव–डिभिजन कार्यालयहरु संलग्न रहेका छन भने प्राविधिक सहायतातर्फ परियोजनाको तर्फवाट विज्ञहरु रहेका छन् ।

२. कार्यक्रममा सहभागीहरुका अनुभव तथा प्रतिक्रिया


समृद्धि बन कार्यक्रमलाई सफल बनाउन र यस कार्यक्रमसँग सम्वद्ध सबैलाई एकीकृत गराई कार्यक्रम प्रतिको साझा बुझाई, दृष्टिकोण र एकआपसमा सुमधुर सम्वन्ध सवलीकरण गरी कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गरेर प्रभावकारी र उपलब्धीमूलक परिणामहरु प्राप्त गर्न थप उत्साह र प्रतिवद्ध बनाउन यही चैत्र २८ र २९ गते महोत्तरीको लालगढमा टिम विल्डिंगकार्यशालाको आयोजना गरियो । मधेश प्रदेश वन मन्त्रालयका माननीय मन्त्री समेतको सकृय सहभागीतामा मन्त्रालय, निर्देशनालय र डिभिजन बन कार्यालयका सबै वरिष्ठ अधिकृतहरु, परियोजनाका विज्ञहरु तथा विश्व बैकका परामर्शदाता तथा परियोजनामा कार्यरत सहायक स्तरका र सहयोगी कर्मचारीहरु समेतको सहभागीतामा तालिम सम्पन्न भयो । संभवत माननीय मन्त्रीदेखि कार्यालय सहयोगी समेत सँगै वसेर गरिएको मधेश प्रदेशको यो नै पहिलो तालिम थियो । टिम विल्डिंग कार्यशालामा व्यक्ति केन्द्रित व्यक्तिगत सोच, आदत र व्यवहारलाई बदलेर टिम मैत्री बनाउने तरिकाहरु, टिम भित्रका सवल पक्षहरु, सफलताहरु, कारण र प्रभावहरु, भविष्यप्रतिको दृष्टिकोण, व्यक्तिगत प्रयास र सामुहिक प्रयासले व्यक्तिको व्यत्तित्व र सामुहिक कार्यमा पार्न सक्ने सकारात्मक प्रभावहरु, भविष्यप्रतिको चाहना र कार्यक्रम मार्फत साझा दृष्टिकोणको निर्माण र समग्र मधेश प्रदेशको बन मार्फत हुनसक्ने वहुआयामिक समृद्धिको साझा दृष्टिकोणको निर्माण र त्यो दृष्टिकोणको व्यवहारिक कार्यान्वयन गरेर सफल परिणाम कसरी निकाल्न सकिन्छ भन्ने वारेमा गहन छलफल गरिएको थियो । नयाँ र साझा दृष्टिकोण निर्माण गर्न सहभागीहरुको भूमिका निकै सिर्जनशील र उत्प्रेरित रहेको थियो ।

यस तालिमले अत्यन्तै प्रतिकुलतामा र अभावमा पनि काम, कर्तव्य र दायित्वप्रति कसरी उत्प्रेरित भई कार्य सम्पादन गर्ने, उच्च स्तरको जवाफदेहिता कसरी बहन गर्ने, सामूहिक लाभ र संस्थाको सकारात्मक छवि निर्माणकोलागि व्यक्तिगत ईच्छा र चाहनाहरुलाई कसरी त्याग गर्ने, संकटमा सहि निर्णय कसरी लिने ? समूहभित्र र अन्तरसमूहबीचका द्वन्द्वहरुलाई कसरी समाधान गरेर वैरभावलाई मित्रतामा कसरी बदल्ने भन्ने तरिकाहरुको व्यवहारिक रुपमा प्रयोग गरी नयाँ सिकाई भएको थियो ।

तालिम अवधिभर पुरै समय सकृय रुपमा सहभागी हुनु भएका मधेश प्रदेश सरकारका माननीय बन मन्त्रिको बिचारमा वहाँको कार्यकालमा प्रदेशारा आयोजना गरिएका सबै कार्यक्रमहरु मध्ये स्मरण योग्य कार्यक्रम यही तालिम रहेको बताउनुभयो । यस कार्यक्रमले सबैलाई उत्प्रेरित गरेको हुन पर्ने वहाँको विश्वास रहेको छ । वहाँका अनुसार, यस कार्यशालाले वहाँलाई थप उत्साहित बनाएको छ । आगामी दिनमा प्रदेशको विकासको लागि धेरै सिर्जनशील भएर काम गर्न सकिन्छ भन्ने आत्मविश्वास वढाएको छ ।

अति व्यस्ताता बाबजुद कार्यक्रममा सहभागी श्रीमान सचिव श्री उद्धव घिमिरेले कार्यक्रम सोचभन्दा पनि उत्कृष्ट र सफल भएको र तालिममा अभ्यासको सन्दर्भमा विकास गरिएको भिजन २०३४ निकै उत्प्रेरित भएको र आगामी नीति कार्यक्रमको लागि समेत मार्ग निर्देशन गरेकोले सबै सहभागीहरु भिजन २०३४ ले निर्दिष्ट गरेको दिशामा अग्रसर हुनपर्ने र आफनो तर्फवाट पुरै प्रतिवद्धता साथ नेतृत्व लिन तयार रहेको बताउनुभयो ।

कार्यक्रमको दोश्रो शर्तमा सहभागी हुनुभएका रेड कार्यान्वयन इकाईका प्रमुख श्री नवराज पुडासैनीले कार्यक्रम पुर्णतः सफल भएको र कार्यक्रमप्रति सबै सहभागीहरु निकै उत्साहित र सकारात्मक भएको पाएको र केही सत्रहरुमा सहभागी हँुदा समेत आफुलाई निकै उत्प्रेरित बनाएको अनुभव सुनाउनु भयो ।

पुरै कार्यक्रममा सकृय सहभागी हुनु भएका विश्व बैकका परामर्शदाता डा. अखिलेश्वर लाल कर्णले २ दिनको कार्यक्रम आफुले सोचे भन्दा राम्रो भएको र संगठन व्यवस्थापन, दैनिक जीवन तथा घर परिवारमा समेत काम लाग्ने कुराहरु छलफल भएको बताउनु भयो । यस तालिमले प्रदेश बन मन्त्रालयको संगठन विकासको लागि धेरै उर्जा दिएको र तालिमको सन्दर्भमा अभ्यास गरिएको भिजन २०३४ को अभ्यासले आगामी दिनको मार्गचित्र स्पष्ट पारेको बताउनु भयो । यस तालिममा सिकाईका कुराहरुलाई आत्मसात गरी दैनिक सोच, कार्यशैली र व्यवहार परिवर्तन गर्न सकेमा समृद्धिका लागि बन कार्यक्रम अत्याधिक सफल हुने कुरामा कुनै शंका नरहेको धारणा व्यक्त गर्नुभयो ।

प्रदेश वन निर्देशनालयका निर्देशक श्री जगनाथ जयसवालले दुई दिनको तालिमले समग्र मधेश प्रदेसको वन तथा वातावरणका लागि मार्गनिर्देश गरेको र टिमका सबै साथीहरुको सहभागीतामा नयाँ भिजन २०३४ को खाका तयार गर्न सकिएको र नियमित प्रयास र मिहिनेतले यो भिजन साकार गर्न सकिने विश्वास व्यक्त गर्नुभयो । जागीरे जीवनमा नै समग्र मधेशको समृद्धिको लागि योगदान दिन यस तालिमले उत्प्रेरित गरेको सबैको साझा संकल्प र प्रतिवद्धता भएमा अन्तराष्टिय स्तरको पुरस्कार प्राप्त गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।

सहभागीको तर्फवाट मन्तब्य ब्यक्त गर्दै सिराहा जिल्ला डिभिजन वन अधिकृत श्री सुजित झाले यो तालिमले सबै सहभागीहरुलाई उत्साहित बनाएको र समग्र मधेश प्रदेसको समृद्धिको लागि बन संगठनले महत्वपूर्ण भूमिका खेल्न सक्ने कुरा महशुस गराएको बताउनुभयो ।  कामप्रति प्रतिवद्धता र टिमका साथीहरुबीच सौहार्दता अभिवृद्धि गरेको, दुईदिनको तालिमले सबै कुरा गर्न नसक्ने भएपनि यो तालिमले आगामी दिनको मार्गचित्र स्पष्ट पारेको र मधेशको बन मन्त्रालय संसारकै ध्यान आकृष्ट गर्न सक्ने संभावना बोकेको क्षेत्र हो भन्ने महसुश गराएको धारणा व्यक्त गर्नुभयो । सहभागी मध्येकै भगवती खाँडले तालिमले समग्र टिमको सवलीकरणका लागि नयाँ सोच विकास गर्न उत्प्रेरित गरी टिम भित्रै सकारात्मक सोचको विकास गर्न उत्प्रेरित गरेको धारणा राख्नुभयो ।

प्रियंका चौधरीलो उत्कृष्ट तालिम कार्यक्रममा सहभागी हुन पाएकोमा खुशी ब्यक्त गर्नु भयो । समग्रमा तालिमले धेरै कुरा सिकाएको र अबबाट भिजन २०३४ लाई मिसन बनाएर बन मन्त्रालय अन्तरगतका सबै शाखा महाशाखाहरुले काम गर्न पर्ने महशुस भएको विचार सबै सहभागीहरुवाट ब्यक्त भयो ।

३. कार्यक्रमवाट सहभागीहरुले सिकेका विषयवस्तुहरु

विशेषत यस तालिमले सहभागीहरुको एक अर्का प्रतिको सम्मान र सदभाव त वृद्धि गरेको छैन त्यसका अलावा निम्न विषहरुका दक्षता अभिवृद्धि गरेको छ ।

१. व्यक्तिभित्र र बन संगठनसँग भएको क्षमता र हालप्रयोगमा रहेका शक्तिबीचको दूरी : तालिममा खेलको माध्यमले सहभागीहरुको परिकल्पना शक्ति र वास्तविक क्षमता भित्र कति दूरी छ ? भन्ने कुराको बारेमा जानाकारी गराइयो । आफूमा अन्तरनिहित क्षमता अनुसारको सोच बिकास गर्न सकेर त्यही सोच अनुसार काम गर्न सकेमा ब्यक्तिगत जीवनमा र संगठनको जिम्मेवारी दुबै क्षेत्रमा आमूल रुपान्तरण ल्याउन सकिने कुराको महशुस भएको धारणा कार्यक्रमका सहभागी अजित श्रीवास्तवले गर्नु भयो ।

२.संवेग के हो र संवेगलाई कसरी नियन्त्रणमा राख्न सकिन्छ : संवेग के हो कसरी सिर्जना हुन्छ ? सकारात्मक र नकारात्मक भावनाहरुको विकास कसरी हुन्छ भन्ने वारेमा प्रयौगीक विधिद्वारा सिकाईयो । संवेगहरु (आवेश र आक्रोश) को नियन्त्रण कसरी गर्ने र टिमका साथीहरुलाई कसरी व्यवहार गर्ने ? सेवाग्राहीहरुलाई ससम्मान सेवा कसरी दिने । समुहभित्र हुने विवादलाई कसरी सामाधान गर्ने भन्ने वारेमा छलफल गरियो । वरिष्ठ बन अधिकृत शैलन्द्र मिश्रका अनुसार हामीमध्ये धेरै सहभागीहरुले संवेगात्मक पक्षलाई खासै ध्यान दिएका थिएनौ तर यहाँ प्रस्तुत गरिएको जानाकारी पश्चात व्यक्ति स्वयम् र टिमको प्रभावकारिताको लागि संवेगात्मक पक्ष निकै महत्वपूर्ण भएको महशुस भएको छ, भन्नुभयो ।

३. स्पष्ट सञ्चार क्षमताको विकास गर्ने तरिकाः टिमको सवलीकरणको लागि सञ्चार प्रकृया र तरिकाको महत्वपूर्ण भुमिका हुन्छ । टिमका सदस्यहरुको सञ्चार सीपको दक्षताले टिमको प्रभावकारितालाई अभिवृद्धि गर्ने हुँदा प्रभावकारी सञ्चार कसरी गर्ने भन्ने कुराहरुको अभ्यास गरि छलफल गरियो । सहभागी सलिना साहको विचारमा सञ्चार सीपले प्रस्तुतीलाई स्पष्ट बनाउने र सन्देश प्रापकले सही कुरा वुझन मद्दत गर्दछ ।

४. नेतृत्व क्षमता तथा जिम्मेवारी वाँडफाँडः साझा उद्देश्य प्राप्तको लागि नेतृत्वको जिम्मेवारी र जवाफदेहीता तथा टिमका सदस्यहरुको जिम्मेवारी वाँडफाँडमा अपनाउन पर्ने सावाधानीहरुको वारेमा अभ्यास गरी छलफल गरियो र टिममा सफल हुनका लागि नेतृत्वको जिम्मेवार र टिमका सदस्यहरुको काम र कर्तव्यका वारेमा छलफल गरियो । वरिष्ठ वन अधिकृत श्री सुवास चन्द्र दासको विचारमा यस प्रकारको अभ्यास र छलफलवाट सिकेका कुराहरु अविस्मरणीय हुने र व्यवहार परिवर्तन गर्न मद्ध पुग्दछ ।

५. जितजितको रणनीति अवलम्वन गर्न उत्प्रेरणाः समूहमा सदभाव सहितको सहकार्य भयो भने सबैले जित्न सक्ने वातावरण निर्माण हुन्छ । एकले जित्नको लागि अर्कोले हार्नै पर्दछ भन्ने मान्यतालाई निषेध गरेर अरुको राम्रो हुँदा आफनो पनि राम्रो हुन्छ र अरुलाई हानी नगरी आफनो उन्नती गर्न सकिन्छ भन्ने भावनाको वृद्धि भयो भने टिममा जितजितको वातावरण निर्माण हुन्छ र सबैबीच सहकार्य र सदभाव वृद्धि हुन सक्दछ भन्ने कुरा अभ्यास सहित छलफल गरियो । यसवाट सहभागीहरुद्धारा सोचाईमा परिवर्तन ल्याएर सबैको वारेमा सबैले राम्रो चिताउदा सबैको जित हुने रहेछ भन्ने सिकाई भएको धारणा सहभागी श्री प्रियंका चौधरीले व्यक्त गर्नु भयो ।

६. उत्कृष्ट टिम निर्माणको लागि बल ठूलो की बुद्धि ? :  एक्काईसौं शताब्दीको टिमलाई उत्कृष्ट बनाउन आफूमा अन्तरनिहित वुद्धि वा ज्ञानको प्रयोग गर्ने की बलको प्रयोग गर्ने ? कस्तो अवस्थामा बल र कस्तो अवस्थामा वुद्धिको प्रयोग गर्ने भन्ने वारेमा अभ्यास गरी छलफल गरियो । बदलिदो परिवेशमा सहभागीहरुद्वारा नयाँ ज्ञान सिक्न र ज्ञानलाई निरन्तर दुरुस्त गर्न पर्ने रहेछ भन्ने महशुश भएको धारणा वरिष्ठ बन अधिकृत श्री राजिव झाले राख्नुभयो ।

७. ब्यक्तिगत सवल पक्षहरुको पहिचान : टिमका सबै सदस्यहरुका सबल पक्षहरुको खोजविन गरी सबै भित्र अन्तरनिहित सवल पक्षहरुको पहिचान गरियो । सबै पक्षको सवल पक्षहरुको पहिचान पश्चात बन मन्त्रालयको टिमका सम्पुर्ण सदस्यहरु सवल, सक्षम र योग्य भएको अनुभुति गरियो । सबै व्यक्तिहरुमा अन्तरनिहित सवल पक्षहरुको समिश्रणवाट नै एक सवल टिमको निर्माण हुने हुदा एक अर्काका सवल पक्षहरुलाई स्वीकार गर्ने र थप सवल पक्षहरु वढाउन अभिप्रेरित गर्न पर्ने रहेछ भन्ने सिकाई भएको कुरा कार्यक्रमका सहभागी बरिष्ठ बन अधिकृत श्री विनोद सिंहले बताउनु भयो ।

८. संस्थागत सवल पक्षहरुको पहिचान : कर्मचारीहरुको नजरमा आफू कार्यरत संस्थाहरुको सवल पक्षहरु के के रहेका छन् ? भनी सोधखोज गरी सबै संस्थाहरुको सवल पक्षहरु प्हिचान गरियो । यसरी संस्थाको सवल पक्षहरु पहिचान गर्ने क्रममा विगतमा वास्ता नगरिएका र लेखाजोखा नगरिएका सवल पक्षहरु समेत उत्खखन भएर आए । यसरी संस्थागत सवल पक्षहरु पहिचानगर्दा कर्मचारीहरुलाई आफनो संस्थाप्रति गौरव गर्ने आधारहरु वृद्धि भएर जाने र काम गर्न उत्साह थपिने कुरा बरिष्ठ वनअधिकृत श्री अजय मिश्रले बताउनुभयो ।

९. व्यक्तिगत सफलताका कथाहरुको आदानप्रदान : सहभागीहरुले आफनो दैनिक जीवनमा प्राप्त गरेका र व्यवसायिक तथा जागीरे जीवनमा प्राप्त गरेका सफलताहरुको सोधखोज गरी उत्कृष्ट सफलताका कथा आदानप्रदान गरियो । यसरी सफलतका कथाहरु आदानप्रदान गर्दा सहभागीहरुको एक अर्का प्रति सम्मान र गौरव गर्ने वातावरण सिर्जना भयो । सबैका सफल कथाहरुको सोध खोज र लेखा जोखाले टिममा भएका सबै व्यक्तिहरु सफलव्यक्तिहरु भएको र एक सफल व्यक्तिले अर्को सफल व्यक्तिलाई गर्ने सम्मानजनक व्यवहारवाट टिम झन गतिशिल र सशक्त हुने आधार तयार भएको अनुभूति भएको सहभागी बन अधिकृत श्री शिबशंकर झाले बताउनु भयो ।

१०. संस्थागत सफलताहरुको आदानप्रदानः सहभागीहरुले आफनो संस्थामाकामगर्दा त्यो संस्थाले प्राप्त गरेका सफलताहरु र ती सफलताहरुले पारेका चौतर्फी प्रभावहरुको वारेमापहिचान गरआदानप्रदानगरियो । यसरी संस्थागत सफलताको पहिचान र कारणहरुको लेखाजोखाले नयाँ सहभागीहरुलाई संस्थाको सफलताको ईतिहास र वर्तमानको वारेमाजानाकारी भयो भने पुराना सहभागीहरुले आफनो योगदान र संस्थाको गरिमाको वारेमागौरव गर्ने आधार तयार भयो । यस प्रकारको अभ्यासले कर्मचारीहरुको संस्थाप्रति र संस्थाको कर्मचारी प्रतिविश्वास वढने वातावरण सिर्जना हुने कुरा वरिष्ठ बन अधिकृत श्री सुरेश शर्माले वताउनु भयो ।

११. विगतका अनुभवहरुबाट सिकाई : विगतमा कार्य सम्पादन गर्दा के कस्ता सिकाईहरु भएका छन ? के कसरी काम गरेको भए थप सकारात्मक परिणामहरु प्राप्त हुन सक्दथे भन्ने वारेमा सबैका अनुभव र सिकाईहरु छलफल गर्दा सहभागीहरुले आगामी दिनमा कार्य सम्पादनको जिम्मेवारी वहन गर्दा के कसरी गर्दा प्रभावकारी हुन सक्दछ भन्ने वारेमा छलफल गरियो । यसरी विगतका कार्यहरुको सिकाईले आगामी दिन गर्न पर्ने कामहरुलाई समेत मार्गनिर्देशन गर्न सक्ने हुँदा विगतका सिकाईहरु महत्वपूर्ण भएको कुरा निर्देशक श्री जगनाथ जयसवालले बताउनुभयो ।

१२. भविष्यका चाहनाहरु : टिमका सदस्यहरुका चाहनाहरुले संस्थाको भूमिकालाई निर्धारण गर्दछ । एउटै टिममा काम गर्ने सदस्यहरुको फरक फरक प्रकारका चाहनाहरुले टिमलाई अन्योल र सुस्त बनाउदछ । सबैका चाहनाहरु पत्ता लगाई सबैलाई समेटेर साझा चाहना तयार गर्दा त्यस्ता चाहनाहरुमा सबैको स्वामित्व हुन्छ र ती चाहनालाई सकार पार्न सबै प्रतिवद्धतासाथ जिम्मेवारी वहन गर्न उत्प्रेरित हुने भएकोले सबै चाहनाहरु पत्तालगाई साझा चाहना तयार गरी भिजन २०३४ को आधार निर्माण गरियो । यो प्रकृया एकदम सहभागितामूलक र समावेशी भएकोले यस्तो प्रकृयाले वनाएको भिजनमा सबैको स्वामित्व सुनिश्चित हुने कुरा प्रदेश सरकारका मानीय मन्त्री श्री रमेश कुर्मीले बताउनु भयो ।

१३. भिजन २०३४ः सहभागीहरुले समुहका सदस्यहरुको व्यक्तिगत सवल पक्षहरु, सफलताहरु, संस्थागत सवल पक्षहरु, सफलताहरु, सफलताका कारण र प्रभावहरु, विगतमा गरिएका कामवाट भएका सिकाईहरु, भविष्यका चाहनाहरु आदीको विश्लेषण गरी आगामी १० वर्षमा मधेश प्रदेस सरकार बन मन्त्रालय अन्तरगतका सबै कार्यालयहरुले उत्कृष्ट काम गरी मधेश प्रदेशलाई कस्तो अवस्थामा पु¥याउन सकिन्छ भनी १० वर्षे भिजन तयार गरियो । यस भिजनले मार्गनिर्देश गरे अनुसार मधेश प्रदेस सरकार बन मन्त्रालयले मधेशमा सकारात्मकपरिणाम प्राप्त गरेको परिकल्पनागरि सोही अनुसारको भुमिका प्रस्तुत गरियो । सन् २०३४ सम्ममा मधेश प्रदेस सरकार अन्तरगतका वन कार्यालयहरुले उत्कृष्ट काम गरी जलवायु परिवर्तन अनुकुलन तथा वातावरण संरक्षणको क्षेत्रमा २वटा अन्तराष्टिय पुरस्कार जितेको परिकल्पना गरी सोही अनुसारको भुमिका निर्वाह गरियो । यसरी भुमिका निर्वाह गर्दा आगामी दिन जलवायु परिवर्तन असर न्यूनीकरण र वातावरण संरक्षणका क्षेत्रमा के कस्ता कामहरु गर्नु पर्दछ ? कस्ता नीति नियमहरु आवश्यक पर्दछन ? कर्मचारीहरुको के कस्ता क्षेत्रमा क्षमता वृद्धि गर्नु पर्दछ ? जन स्तरमा के कस्ताकार्यक्रमहरु गर्नु पर्दछ ? राजनीतिक पार्टीहरुले के कस्ता भूमिकाहरु निर्वाह गर्नुपर्दछ ? आदी सबै कुराहरुमा छलफल गरी संभावित नीति, रणनीतिहरु, ऐन कानुनहरु, योजना तथा कार्यक्रमहरु त्था व्यक्तिको भूमिका समेत अनुमान गरी कलात्मक रुपमा नाटकीय (भूमिका निर्वाह) प्रस्तुति गरीयो । यस प्रस्तुतिले वास्तवमा नै २०३४ मा मधेश प्रदेश सरकार वन मन्त्रालयले २ वटा अन्तराष्ट्रिय स्तरका पुरस्कार जित्न सक्दछ भन्ने आधारहरु प्रस्तुत गरियो । यस प्रस्तुतिले सहभागीहरुद्वारा टिम गति शिलताको उच्च महत्व रहेको महशुस भएको धारणा व्यक्त गरियो भने टिमका सबै सदस्यहरुमा अन्तरनिहित क्षमताको प्रष्फुटन गरेर नयाँ र प्रभावकारी तरिकाले कार्यक्रम सञ्चालन गर्ने हो भने सम्पुर्ण प्रदेशलाई हरियाली प्रदेश, जलवायु एवम् वातावरणमैत्री प्रदेशको रुपमा विकास गर्न सकिन्छ र त्यसको श्रेय मधेश प्रदेस वन मन्त्रालयलाई जान सक्ने आधार निर्माण भएको छ भन्नेकुरा सहभागीहरुको तर्फवाट मानीय मन्त्रीज्यु, श्रीमान सचिवज्यु, निर्देशकज्यु लगायत सम्पुर्ण सहभागीहरुद्वारा व्यक्त गरिएको छ ।

नाटकीय रुपमा प्रस्तुत गरिएको भएपनि भिजन २०३४ निकै आकर्षक, महत्वपूर्ण र समय सान्दर्भिक रहेकोले त्यस दिशातर्फ सम्पूर्ण नीति तथा कार्यक्रमहरुलाई केन्द्रित गर्न आफु दत्तचित्त भएर लाग्ने कुरा माननीय वन मन्त्री श्री रमेश प्रसाद कुर्मीले व्यक्त गर्नु भएको छ । त्यसै गरी मन्त्रालयका श्रीमान सचिवज्यूले मधेश प्रदेश बन मन्त्रलायको नयाँ अध्याय शुरु भएको र आफ्नो सम्पूर्ण ध्यान भिजन २०३४ पूरा गर्नेतर्फ लगाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । समापन कार्यक्रमलाई सञ्चालन गर्नु भएका बरिष्ठ बन अधिकृत श्री शुरेश शर्माले अबदेखि भिजन २०३४ नै मधेश प्रदेश सरकार वन मन्त्रालयको मुलमन्त्र हो र त्यो भिजनलाई साकार पार्ने हाम्रै दायित्व भएको बताउनु भयो ।

४. निष्कर्ष र सुझाव

मधेश प्रदेस सरकार बन मन्त्रालय प्रदेश वन निर्देशनालयको आमन्त्रणमा दुईदिने कार्यक्रम सहजीकरण गर्दा मलाई पनि एक प्रकारको उर्जा प्राप्त भएको छ । आफु पनि मधेश प्रदेस निवासी नै भएको र छोटो समय भएपनि शुरुमा बन विभागमै काम गरेको र नेपालको वन क्षेत्रले समग्र समृद्धिमा महत्वपूर्ण योगदान दिन सक्दछ भन्ने विश्वास भएकोले भिजन २०३४ ले निकै उत्साहित बनाएको छ । सहभागीहरुका प्रतिक्रिया, मानीय मन्त्रीज्यु, श्रीमान सचिवज्यू, निर्देशकज्यु र विश्व बैकका परामर्शदाताहरुको प्रतिक्रियाले पनि निकै उत्साहित बनाएको छ । आगामी दिनमा सकारात्मक सोचका साथ सबै कर्मचारीहरु र राजनीतिक नेतृत्वले दत्तचित्त भएर काम गरेमा भिजन २०३४ त्यो भन्दा पहिला नै प्राप्त हुन सक्दछ । यस भिजनलाई थप परिमार्जित गरेर व्यवस्थित र अझ आकर्षक र सबै सरोकारवालाहरुले समेत स्वामित्ववोध गर्ने गरी समग्र सरोकारवालाहरुको समेत सहभागितामा भिजन २०३४ कार्याशालाको आयोजना गरी यसलाई परिमार्जन गरेर दीर्घकालिन रणनीतिक योजना तर्जुमा गर्न सकेमा अति उपयुक्त हुन्छ । यस अतिरिक्त, भिजन २०३४ साकार गर्ने गरी प्रदेश वन मन्त्रालयले क्षमता अभिवृद्धि रणनीतिक योजना निर्माण गरी कार्यान्वयन गर्न समेत सिफारिश गर्दछु । मातृभूमिलाई सेवा गर्न सबैलाई उच्च मनोवल र प्रतिवद्धता प्राप्त होस प्रदेश वन निर्देशनालयलाई हार्दिक धन्यवाद सहित शुभकामना ।


सम्बन्धित समाचार