Logo

९ वैशाख,वीरगञ्ज । मध्य तराईमा दैनिक गर्मी बढ्दै गएको छ । बैशाख महिना सुरु भएको एक सातामात्र भएको छ, तर गर्मी अत्यधिक बढेपछि जनजीवन अस्तव्यस्त बन्दै गएको छ ।

गर्मीका कारण पर्सा, बारासहित मधेश तथा यस आसपासका स्थानीयवासीको दैनिकी प्रभावित बनेको छ । वीरगञ्ज लगायत अन्य बजार सुनसान देखिन थालेका छन् ।

लामो समयको खडेरी, चर्को घामका केहिदिनदेखि चलेको हावाहारीका कारण वायु तथा वातावरणसमेत प्रदूषित भएका छन् । पर्सासहित मधेसमा एक सातादेखि अधिकतम तापक्रम ३५ डिग्री सेल्सियस कटेको छ ।

बिहानदेखि बेलुकासम्म लागेको चर्को घाम र चलेको तातो हावाका कारण अत्यधिक गर्मी भई जनजीवन प्रभावित बनेको हो ।

निरन्तरको तातो हावाका कारण आम नागरिक लगायत ज्यालादारी तथा मजदूर वर्ग विशेष प्रभावित भएका छन् । गर्मीकै कारण बजार, शैक्षिक संस्था, सरकारी कामकाज समेत प्रभावित भएको छ ।

यसरी लगातार ५ दिनदेखि नियमित औसतभन्दा तापक्रम वृद्धि हुँदा सर्वसाधारणलाई दैनिकी गर्न हम्यहम्य परेको छ ।

यही बारेमा वीरगञ्जको नारायणी अस्पतालका फिजिसियन एवम् प्रवक्ता उदयनारायण सिंहसँग रेसखबर संवाददाता प्रकृति अधिकारीले गरेका कुराकानी..

के हो ‘लु’ अथवा ‘हिट स्ट्रोक’ ?

लगातार ५ दिनभन्दा बढी नियमित भन्दा ५ डिग्री सेल्सियस तापक्रम कायम भई तातो हावा चल्यो भने त्यसलाई लु भनिन्छ । लेकमा अक्सिजनको कमीले लेक लागे जस्तै अत्याधिक गर्मीले लु लाग्ने सम्भावना हुन्छ । तराईका जिल्लामा गर्मी बढेसँगै स्वास्थ्यमा आउने प्रतिकूल अवस्थालाई नै ‘लु’ लाग्नु अथवा यसलाई अग्रेंजीमा हिट स्ट्रोक भनिन्छ । यसको परिभाषामा सहजता नभएको विज्ञहरु बताउँछन् ।

यसका लक्षणहरु ?

लु लागेमा टाउको दुख्ने, रिँगटा लाग्ने, बान्ता हुने, बेहोस हुने, अनुहार पहेँलीने, मुटुको चाल बढ्ने, रक्तचाप कम हुने, चिसो पसिना आउने साथै छाला सुक्खा, रातो र तातो हुने गर्दछ । लगायतका लक्षणहरु देखापर्छन् । विस्तारै यसको लक्षणहरु बढेर शरीर काम्ने, ब्रेन ह्याम्रेज ‘कोमा’ र मानिसको ज्यानसमेत जाने गर्दछ ।

जोखिम ?

घरभन्दा बाहिर रहि काम गर्ने कर्मचारी, ज्यालादारीमा काम गर्ने, ठेला मजदुर, रिक्सा चालक लगायतका मानिसहरु विशेषगरि यसको जोखिममा हुन्छन् । यस्तै घण्टौँ चर्को घाममा काम गर्ने मानिसहरु, बालबालिका, वृद्धवृद्धा तथा दीर्घ रोग भएका बिरामीहरू यसको जोखिममा पर्ने चिकित्सकहरुले बताएका छन् ।

कसरी बच्ने ?

लु लाग्नबाट बच्न सामान्यतया लत्ताकपडा, खानपान तथा हिडडुल गर्दा विशेष सावधानी अपनाउनु पर्दछ ।
मध्यान्हमा सकभर घर बाहिर नजान, जानैपरे पातलो कपडाले टाउको छोप्न वा छाता ओढ्न, खुकुलो हलुका रङको सुतिको कपडा लगाउन, फलफूलको रस तथा प्रशस्त मात्रामा पानी पिउन, जीवनजलको प्रयोग बढी गर्न, खेतबारीमा काम सकभर बिहान वा बेलुकाको समयमा गर्न, चिनीको मात्रा बढी भएको झोल पदार्थ बढी नपिउन, चिया, कफी, सोडाजस्ता पेयपदार्थ नपिउन चिकित्सकले सुझाव दिएका छन् ।
यसैगरि आफ्नो छालाको रक्षा गर्नको लागि प्रत्येक दुई घण्टामा सन स्क्रिन क्रिम लगाउन र शरिर बडी तातिए चिसो पानीले पुछ्न चिकित्सकले भनेका छन् ।

लु लागेमा के गर्ने ?
लु लागेका बिरामीलाई तत्काल चिसो बनाउनुपर्ने हुन्छ । बिरामीको शरिर चिस्याउन पङ्खा वा एयर कण्डीशनर चलाउनुपर्दछ । यस्तै बिरामीलाई भिजाएको तौलियाले समयसमयमा पुछ्ने, बिरामी अचेत भए उसलाई तुरुन्त अस्तपाल पु¥याउन चिकित्सहरुले सल्लाह दिएका छन् ।


सम्बन्धित समाचार