Logo

२४ वैशाख,काठमाडौं।  उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रुसी सेनामा रहेका नेपालीहरूको संख्या अझै यकिन हुन नसकेको बताएका छन् ।

सोमबार सिंहदरबारमा बसेको राष्ट्रियसभा अन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा श्रेष्ठले रुसमा रहेका नेपालीहरूलाई स्वदेश फर्काउन सरकारले पहल गरिरहेको र रुसी सेनामा रहेका नेपालीहरूको संख्या रुस सरकारसँग माग गरिएको जानकारी गराएका हुन् । रुसमा मृत्यु भएका नेपालीहरूको शव नेपाली पठाउने र क्षतिपूर्ति समेत माग गरेको भन्दै उनले क्षतिपूर्तिको बिषयमा रुस सरकारले सहमत जनाएको धारणा राखे।

श्रेष्ठले इजरायल–हमास युद्धमा हमासको कब्जामा रहेका भनिएका बिपिन जोशी औपचारिक र आधिकारिक अवस्थामा बारेमा जानकारी पाउन नसकिएको जानकारी दिए। उनले आर्थिक कुटनीतिलाई मात्रै केन्द्रित गर्नेगरि छुट्टै महाशाखा बनाउने तयारी गरेको भन्दै यसबाट विकास र समृद्धिको कार्यभार पुरा गर्न सहज हुने धारणा राखे ।

परराष्ट्रमन्त्री श्रेष्ठले परराष्ट्र नीतिमा राष्ट्रिय सहमति कायम गर्नुपर्नेमा सरकार स्पष्ट गरेको जिकिर गरे ।

अहिले संघीय सरकारले नै परराष्ट्र नीति हेर्ने भएकाले प्रदेश तहले पनि आफ्नै परराष्ट्र नीति बनाउन खोजे समस्या हुने उनको भनाइ छ । बैठकमा समिति सदस्यहरूले मापदण्डका आधारमा राजदूत नियुक्त गर्नुपर्ने, रुसमा रहेका नेपालीहरूको अवस्था सार्वजनिक गर्नुपर्ने लगायतका धारणा राखेका थिए ।


सम्बन्धित समाचार