Logo

२ जेठ,काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको जबर्जस्ती करणीसम्बन्धी मुद्दाको सुनुवाइ सकिएको छ । दुई दिनसम्म दुवै पक्षका वकिलको लामो बहस सकिएसँगै अब फैसालको प्रतीक्षा भएको छ ।

उच्च अदालत पाटनमा मंगलबार र बुधबार दिनभर भएको सुनुवाइका क्रममा बहस सकिएपछि अब फैसला आउन लागेको हो । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा बुधबार पनि पक्ष–विपक्षका वकिलहरूले बहस गरेका थिए। जवाफी बहस पनि सकिएकाले अब आजै फैसला आउने छ ।

न्यायाधीशद्वयले आजै फैसला दिने तयारी गरेका छन्। त्यहीअनुसार उनीहरूले दुवै पक्षका वकिलहरूलाई समय निर्धारण गरिदिएर बहसमा बोलाएका थिए । दुवै पक्षका वकिललाई न्यायाधीशहरूले डेढ–डेढ घण्टाको समय दिएका थिए ।

यसअघि यो मुद्दामा सन्दीपका तर्फबाट वरिष्ठ अधिवक्ताहरू रामनारायण बिडारी र रमन श्रेष्ठ, शम्भु थापा, मुरारी सापकोटा र कृष्ण सापकोटालगायतले बहस गरेका थिए ।

उनीहरूले सन्दीपलाई दोषी ठहर गर्ने काठमाडौं जिल्ला अदालतको फैसलामा पनि प्रश्न उठाएका थिए । पीडित भनिएकी युवती गौशाला–२६ को तर्फबाट सरकारी वकिल र निजी कानुन व्यवसायीले बहस गरे । उनीहरूले जिल्लाको सजाय अझै कम भएको जिकिर गरे ।

२०८० पुस २५ गते जिल्ला अदालत काठमाडौंले जबर्जस्ती करणी मुद्दामा सन्दीलाई दोषी ठहर गर्दै आठ वर्ष कैद र तीन लाख रुपैयाँ जरिवाना तथा २ लाख रुपैयाँ क्षतिपूर्तिको फैसला सुनाएको थियो । सन्दीपले पीडितको कमजोर आर्थिक अवस्थाको फाइदा उठाएर बलात्कार गरेको ठहर गर्दै काठमाडौं जिल्ला अदालतले फैसला गरेको थियो । तर फैसला चित्तबुझ्दो नभएको भन्दै लामिछाने पुनरावेदनका लागि उच्च पुगेका थिए ।

यो मुद्दामा गौशाला २६ ले पनि पुनरावेदन गरेकी छन् । यस्तोमा दुवैले आफ्नो पक्षबाट कुरा राखिरहेका छन् । सुनुवाइको अन्त्यमा जवाफी बहस टुंगिएसँगै फैसला आउन सक्नेछ । यो मुद्दामा यदि उच्चले सफाइ दिएमा सन्दीपका लागि अमेरिका र वेस्टइन्डिजमा हुने टी–२० विश्वकप खेल्ने बाटो खुल्नेछ ।

यदि उच्चले पनि जिल्लाकै फैसला सदर गरिदिएमा सन्दीपका लागि अन्तिम अदालतको निर्णय कुर्ने विकल्प मात्रै रहनेछ । यसअघि जिल्ला अदालत काठमाडौंले सन्दीपलाई एकजना युवतीलाई गौशालाको होटलमा बलात्कार गरेको भन्दै दोषी ठहर गरेको थियो ।


सम्बन्धित समाचार