Logo

२ जेठ, काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा उच्च अदालत पाटनबाट सफाइ पाएका छन् ।

उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको संयुक्त इजलासले जिल्ला अदालत काठमाडौंको फैसला उल्ट्याउँदै बुधबार सन्दीपलाई सफाइ दिएको अदालत स्रोतले लोकान्तरलाई जानकारी दियो ।
बलात्कारको आरोप लगाएकी गौशाला २६ र सन्दीपका वकिलले मंगलबारदेखि बहस गरेका थिए । दुवैतर्फको बहस सुनेपछि न्यायाधीशद्वयले सन्दीपलाई सफाइ दिएका हुन् ।
२०७९ को भदौमा एक किशोरीले बलात्कारको आरोप लगाएकी थिइन् । जिल्ला अदालत काठमाडौंले सन्दीपलाई ८ वर्षको कैद सजाय सुनाएको थियो । त्यसपछि उनी पुनरावेदनका लागि उच्च अदालत गएका थिए ।

भदौ २१ गते पीडित भनिएकी गौशाला २६ ले सन्दीपले आफूलाई जबर्जस्ती करणी गरेको भनी प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । उजुरी दिएका बेला सन्दीप वेस्टइन्डिजमा क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेलिरहेका थिए ।

सोही क्रममा २०७९ भदौ २३ गते नेपाल क्रिकेट संघ (क्यान)ले उनलाई राष्ट्रिय क्रिकेट टोलीबाट निलम्बन गरेको थियो । निलम्बन गर्ने बेलासम्म उनी नेपाली क्रिकेट टोलीको कप्तान नै थिए । २०७९ असोज २० गते उनी विदेशबाट फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले २०७९ कात्तिक १४ गते सन्दीपलाई प्रतिवादी बनाएर काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । जिल्ला अदालतले उनलाई थुनामा राखी मुद्दाको पुर्पक्ष गर्ने आदेश गरेको थियो । उक्त आदेशपछि उनी कारागार चलान भएका थिए ।

जिल्ला अदालतको उक्त आदेशविरुद्ध उच्च अदालत पाटन पुगेका लामिछानेलाई २०७९ पुष २८ गते २० लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश भएअनुसार उनी कारागारबाट छुटेका थिए । रिहा भएपछि क्यानले २०७९ माघ १८ गते अनुशासन उल्लङ्घनको कारबाहीमा सन्दीपलाई गरिएको निलम्बन फुकुवा गरेको थियो ।

उच्च अदालत पाटनले भने उनलाई विदेश जान रोक लगाएको हुनाले ‘विदेश जान अनुमति पाऊँ’ भन्दै उनी सर्वोच्च अदालत पुगेका थिए । २०८० चैत फागुन १६ गते सर्वोच्चले उनलाई क्रिकेट खेल्नका लागि अनुमति दिने आदेश गरेको थियो । त्यसपछि २०८० पुष २५ गते काठमाडौं जिल्ला अदालतले उनलाई ८ वर्ष कैदको सजाय सुनाएको थियो ।

साथै, पीडितलाई ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने आदेशसमेत गरिएको थियो । जिल्ला अदालतले गरेको सोही आदेशविरुद्ध बलात्कार मुद्दामा दोषी ठहर भएका सन्दीप र गौशाला २६ दुवै उच्च अदालत पाटन पुगेका थिए । गौशाला २६ सजाय कम भयो भनेर पुगेकी थिइन् ।

यस्तै, आफूले सफाइ पाउनु पर्ने भन्दै सन्दीप उच्च अदालत पुगेका थिए ।

 


सम्बन्धित समाचार