Logo

७ जेठ, वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साका एकजना अधिकृतको हत्यामा संलग्न व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

२०६५ असोज २२ गते जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालीन शाखा अधिकृत पदमा कार्यरत वर्ष ५२ को मोहन प्रसाद मैनालीलाई गोली हानी हत्या गरेको कर्तव्य ज्यान मुद्दाका आरोपी प्रेम गिरीलाई प्रहरीले पक्राउ गरेको हो ।

पर्सा सखुवा प्रसौनी गाउँपालिका वडा नं।७ महुवन बलुवा बस्ने वर्ष ७२ को प्रेम गिरीलाई लुकीछिपी बस्दै आएको अवस्थामा निजकै घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरिक्षक कुमार विक्रम थापाले बताए ।

पर्सा जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ । हत्या आरोपमा आरोपित गिरी नेपाल तथा भारतको विभिन्न स्थानहरुमा हत्या, चोरी, डकैती लगायत अन्य अपराधिक कृयाकलापहरूमा संलग्न रही बिगत लामो समय देखि प्रहरीको खोजीमा रहेका थिए ।

जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालीन शाखा अधिकृत पदमा कार्यरत मोहन प्रसाद मैनालीलाई गोली हानी हत्या गरेको र २०५७ साल भद्रौ १२ गते पर्सा विन्दवासिनी बस्ने वर्ष ३० देवेन्द्र प्रसाद यादवको घरमा डकैती गर्ने क्रममा गोली हानी देवेन्द्र प्रसाद यादव मृत्यु भएको खुन डाँका मुद्दा गिरीका विरुद्ध दर्ता भएको थियो ।

त्यसैगरी २०६६ फागुन १९ गते जिल्ला प्रशासन कार्यालय पर्साको फैसला अनुसार हात हतियार तथा खरखजाना मुद्दामा फरार रहेको प्रहरीले जनाएको छ । निज उपर पटक पटक हतहतियार र सार्वजनिक अपराधमा सजाय फैसला भएको घटना प्रहरीसँग रहेको छ ।


सम्बन्धित समाचार