Logo

१८ जेठ, जनकपुर  मधेश प्रदेश मुख्यमन्त्रीका प्रेस सल्लाहकारले राजीनामा दिएका छन् । जनता समाजवादी पार्टी (जसपा) नेपाल नेतृत्वका मुख्यमन्त्री सरोजकुमार यादवका प्रेस सल्लाहकारले राजीनामा दिएका हुन् ।

प्रेस सल्लाहकार सीताराम अग्रहरीले हिजो मधेश सरकारलाई राजीनामा बुझाएका हुन् । प्रदेश सरकारले आफ्नो क्षमता प्रयोग गर्न नसकेकाले राजीनामा बुझाएको उनले जनाएका छन् । प्रेस सल्लाहकारको रुपमा रहँदा सरकारले कुनै पनि सल्लाह नलिएको र आफूले दिँदा पनि त्यसको कुनै कार्यान्वयन नगरेको उनले जनाए ।

उनले भनेका छन्, ‘मेरो क्षमताको एक अंश पनि उपयोग हुन सकेन । दुख लाग्छ सोचेको केहि भएन । करिब १४ महिनापछि राजीनामा दिएर जनकपुर छाड्दैछु ।’ उनले आफू सुरुमै त्यहाँबाट निस्कन चाहेको भए पनि जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले नछाड्न भनेका कारण बसेको बताए । तर अहिले सरकारको रवैयाका कारण राजीनामा दिएर हिँडेको उनको भनाइ छ ।

उनले मधेस सरकारको नेतृत्व लगायत कोही पनि इमानदार नरहेको बताउँदै त्यहाँका सरकारी कर्मचारी पनि त्यस्तै रहेको टिप्पणी गरे । मधेसी जनताले गरेको अपेक्षाअनुसार सरकार र सरकारका मन्त्रीहरूले काम नगरेको बताउँदै अग्रहरीले त्यो दोषको भागिदार आफू बन्न नचाहेर राजीनामा दिएको बताए ।


सम्बन्धित समाचार