२१ जेठ, काठमाडौं । सरकारले विदेशबाट नेपाल आउने र जाने यात्रुहरूका लागि झिटीगुन्टासम्बन्धी व्यवस्थामा केही हेरफेर गर्दै नयाँ सूची सार्वजनिक गरेको छ ।
यसअन्तर्गत स्थलमार्ग हुँदै भारतबाट नेपाल प्रवेश गर्ने नेपाली यात्रुहरूका लागि ठूलो राहतको खबर आएको छ । यसअघि १ सय रुपैयाँभन्दा बढी मूल्यका सामान ल्याउँदा भन्सार तिर्नुपर्ने बाध्यकारी नियम रहेकोमा सरकारले त्यसको सीमा बढाएर ५ सय रुपैयाँ पुर्याएको छ । यो परिवर्तनले सीमावर्ती क्षेत्रका सर्वसाधारणलाई दैनिक उपभोग्य वस्तु ल्याउन सहज हुने अपेक्षा गरिएको छ ।
त्यस्तै, वैदेशिक रोजगारीमा गएका नेपालीहरूलाई लक्षित गर्दै सरकारले टेलिभिजन ल्याउने सुविधामा पनि सहजीकरण गरेको छ । कम्तीमा १२ महिना वैदेशिक रोजगारीमा बिताएर फर्किएका नेपालीले अब ६५ इन्चसम्मको टेलिभिजन पूर्ण महसुल छुटमा ल्याउन पाउने भएका छन् । साथै, भारतमा अध्ययनरत विद्यार्थीहरूलाई आफ्नो साथमा एक थान ल्यापटप, ट्याबलेट वा कम्प्युटर बिना कुनै भन्सार शुल्क ल्याउन पाउने विशेष व्यवस्थासमेत गरिएको छ ।
नयाँ नियमअनुसार विदेशबाट फर्कने नेपालीले व्यक्तिगत प्रयोगका पुराना सामान, तोकिएको परिमाणमा सुन-चाँदीका गहना, मोबाइल, क्यामेरा, घडी र ल्यापटपलगायतका उपकरणहरू भन्सार छुटमा ल्याउन पाउनेछन् ।
विदेशमा बस्ने नेपालीले परिवारका लागि ५ सय डलरसम्मका उपहार पठाउन पाउने साविकको व्यवस्थालाई निरन्तरता दिइएको छ, तर तोकिएको मूल्यभन्दा बढीका सामान लुकाएर ल्याएको पाइएमा भने कडा कारबाही हुने चेतावनी दिइएको छ । यो व्यवस्थाले वैदेशिक रोजगारीबाट फर्कने र सीमा वारपार गर्ने यात्रुहरूलाई कानुनी स्पष्टता प्रदान गर्ने अर्थ मन्त्रालयको विश्वास छ ।


















