Logo

१७ असार,काठमाडौँ । ६० किलो सुन तस्करी प्रकरणपछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरेको अनुसन्धानबाट हाई प्रोफाइल व्यक्तिको संलग्नता नभेटिएको पाइएको छ । सीआईबीको दोस्रो चरणको अनुसन्धानबाट बनेको ५६२ पृष्ठ लामो प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई बुझाइसकेको छ ।
२ खर्ब ६६ अर्ब ६७ करोड बिगो दाबी गर्दै मुद्दा दायर गर्नुपर्ने रायसहित बुझाइएको प्रतिवेदनको अध्ययनका क्रममा हाई प्रोफाइल व्यक्तिको ‘कनेक्सन’ नभेटिएको बताइएको छ । सीआईबी प्रमुख श्यामलाल ज्ञवालीले ६० किलो सुन तस्करी प्रकरणमा हाई प्रोफाइल नाम नभेटिएको बताएका हुन् ।

यसअघि कृष्णबहादुर महरा र दिपेस पुन लगायतका हाई प्रोफाइल व्यक्तिको नाम समेत सुन तस्करी प्रकरणमा जोडिएको थियो । तर यही प्रकरणमा नाम नजोडिएको र अर्को भेपमार्फत भएको सुन प्रकरणमा उनीहरूको नाम जोडिएको सीआईबीले बताएको छ । ‘भेपमार्फत भएको तस्करी प्रकरण फरक हो,’ ज्ञवालीले भने–‘यो ६० किलो सुन प्रकरणमा उनीहरूको कनेक्सन अहिलेसम्म भेटिएको छैन ।’

अनुसन्धानका क्रममा संलग्नता देखिएको भए प्रतिवेदनमा नाम जोडिन्थ्यो । तर संलग्नता नपाइएपछि यो प्रकरणमा अहिलेसम्म हाई प्रोफाइल संलग्नता नभेटिएको सीआईबीले तयार पारेको प्रतिवेदनबारे जानकारी दिन आज आयोजित कार्यक्रममा जानकारी दिइएको हो ।

यद्यपि सीआईबीका अनुसार ६० किलो सुन तस्करी प्रकरणको अनुसन्धान सकिइसकेको छैन । यतिबेला दोस्रो चरणको अनुसन्धानबाट देखिएको तथ्यका आधारमा मात्रै प्रतिवेदन बुझाइएको बताइएको छ ।

थप अनुसन्धानका क्रममा हाई प्रोफाइलको नाम जोडिएमा सीआईबीले थप कार्य अघि बढाउने ज्ञवालीले बताए । ‘भेपको अनुसन्धानको पाटो अर्कै छ,’ ज्ञवालीले भने, ‘दीपेश पुन र कृष्णबहादुर महराको नाम भेपमार्फत जोडिएको हो ।’साभार रातोपाटी


सम्बन्धित समाचार