६ भदौ,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले असन्तुष्टिका नाममा जनतालाई भड्काउने प्रयत्न भइरहेको बताएका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा सांसदहरुको प्रश्नोत्तरमा प्रधानमन्त्री ओलीले राजनीतिक दलहरुको अस्वस्थ प्रतिष्पर्धा वा अहिलेको प्रणालीलाई मन नपराउनेले असन्तुष्टिका नाममा जनतालाई भड्काउने प्रयत्न गरेको बताएका हुन् ।
सबै कुरालाई ध्यानामा राखेर जनतामा रहेका निराशालाई आशामा बदल्ने प्रयासमा सरकार रहेको उनले बताए । छोटो अवधिमा पनि सकारात्मक परिणाम देखापर्न थालेको उनले बताए । अहिलेको सरकारलाई काम नगर्ने छुट नरहेको भन्दै जनतामा आशा जगाउन गम्भीर भएर काम गर्ने उनले बताए ।
शिक्षा स्वास्थ्य लगाएतका क्षेत्रका धेरै अघिदेखिको समस्या समाधानका लागि सरकार दतचित्त भएर लागेको उनले बताए । नेपालको राजनीतिमा ऐतिहासिक भूमिका निर्वाह गरेका दल अहिले सरकारमा रहेको भन्दै प्रधानमन्त्री ओलीले आशंका नगर्न आग्रहसमेत गरे ।
भ्रष्टाचारसम्बन्धी प्रकरणमा कुनै सम्झौता नगर्ने र शून्य सहनशीलताका साथ अघि बढ्ने उनले बताए । ओलीले भ्रष्टाचारसम्बन्धी बिषयलाई प्रचारबाजीको रुपमा नभई तथ्यका आधारमा निर्मूल पार्ने जिकिर गरे ।
ओलीले अहिलेको सरकारले देखावटी नभइ परिस्थितिमा सकारात्मक परिणाम दिने उद्देश्यका साथ अघि बढेको बताए । उनले राष्ट्रको आवश्यकताका आधारमा दलहरुबीचको सहमतिका साथ संविधान संशोधन हुन सक्ने भन्दै यस बिषयमा गलत प्रचारबाजी भएको बताए ।
उनले मनसुनका कारण प्रभावितहरुलाई राहत, पुनर्स्थापनाका साथै अन्य काम सरकारी तवरबाट भएको जानकारी दिए । प्रधानमन्त्री ओलीले गत वर्षको तुलनामा चालु आर्थिक वर्षको साउन महिनामा राजस्व परिचालन र पूँजीगत खर्चमा वृद्धि भएको बताए ।
घरजग्गा कारोबार क्रमशः बढ्दै गएर पूँजीबजारमा उल्लेखनीय सुधार आएको उनले बताए । निजी क्षेत्रमा लगानी गर्ने मनोबलसहित उत्साह देखिएको प्रधानमन्त्री ओलीले बताए ।