Logo

१४ भदौ,वीरगञ्ज । नेपाली कांग्रेस पर्साले क्रियाशील सदस्यता ‘फारम’ मागको निवदेन दर्तामा भेदभाव गरिरहेको कांग्रेस कार्यकर्ताहरुले गुनासो गरेका छन् ।

केन्द्रिय कार्यालयले क्रियाशील सदस्यता फारम भर्न पठाएको पत्र अनुसार निवेदन दर्ता गराउन जाँदा पर्सा कांग्रेसले बेवास्ता गरेको क्षेत्र नम्बर एकको क्षेत्रीय समितिले जनाएको छ ।

जिल्ला कांग्रेसका उपसभापति अशोक गुप्ताले तोक लगाएको निवेदन पनि दर्ता नगरी बेवास्ता गरेको एक नम्बर क्षेत्रका क्षेत्रीय सभापति अरबिन्द गुप्ताले बताए ।

उनका अनुसार केन्द्रिय समितिले पठाएको कार्याथ पत्र अनुसार जिल्ला कार्यालयमा निवेदन दर्ता गराउन जाँदा त्यसको अवमूल्यन गरिएको छ ।

उनी भन्छन्, ‘आज हामी सबै प्रक्रिया पु¥याएर निवेदन दर्ता गराउन गयौं, उपभापतिज्यूले तोक पनि लगाइदिनुभयो । तरपछि दर्ता गराउँदा पार्टी सभापतिज्यूले दर्ता नगर्न भनेकोले दर्ता गर्न सकिदैन कर्मचारीहरुले जवाफ दिए ।’

कर्मचारीहरु जवाफ दिँदै निवेदन नै फर्काइदिएको उनी बताउँछन् । उनले भने ,‘क्षेत्रका सबै बुथ सभापतिहरुका टोली पार्टी कार्यालयमा गएको थियो, तर चाखलाग्दो कुरा के आयो भने त्यहाँका कर्मचारीहरुले तपाइहरु कुन गुटको कांग्रेस हो भनेर प्रश्न गरे, जुन सुनेर सबै बुथ सभापतिहरु अक्क न बक्क भए ।’

कर्मचारी ताहिर हुसेनसहितका यो प्रश्न बारम्बार गरिरहेको क्षेत्रीय सभापति गुप्ता बताउँछन् । निवेदन दर्ता नगरे विकल्पको बाटो रोज्ने बताए पनि पर्सा कांग्रेसले क्रियाशील सदस्यता मागको निवेदन दर्ताको ठाडो बेवास्ता गरेको क्षेत्र नम्बर एकका बुथ सभापतिहरुको आरोप छ ।


सम्बन्धित समाचार