Logo

३१ भदौ,बारा । विकासका अन्य कामसँगै बालबालिकाको बोल्ने बानीको विकास गर्नुपर्ने आवश्यकता आफूले महसुस गरेको बाराको सुवर्ण गाउँपालिका अध्यक्ष राजेश प्रसाद यादवले बताएका छन् । ६०औं राष्ट्रिय बाल दिवसको अवसरमा आयोजित वक्तृत्वकला कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

“बाल दुव्र्यवहार सहेके ना कहेके बा” विषयक अन्तर आधारभूत विद्यालय स्तरिय वक्तृत्व कला प्रतियोगितामा बालबालिकाको प्रस्तुतीबाट आफूलाई यस्तो महसुस भएको यादवले बताए ।

अन्य क्षेत्रको विकासमा ध्यान दिने क्रममा बालबालिकाको बोल्ने क्षमताको विकासलाई वेवास्ता गर्न पुगेको भन्दै उनले आधारभूत तहका विद्यालयमा हरेक साता प्रतियोगिताको आयोजना गर्न प्रधानाध्यापकहरुलाई आग्रह गरे । आगामि महिना देखि नै वाक कलाका कार्यक्रमहरु आयोजना गर्न आग्रह गर्दै गाउँपालिका अध्यक्ष यादवले त्यसका लागि आवश्यक खर्च आफूले पाउने सेवासुविधाबाट उपलब्ध गराउने प्रतिवद्धता जनाए ।

कार्यक्रममा सहभागि बालबालिकाहरुलाई जिल्ला प्रहरी कार्यालय बाराका सइ सरु अधिकारीले गलत सोचका साथ छुने, बेल्ने, हेर्ने, लालच दिने, शारीरिक तथा मानसिक हिंसा गर्ने जस्ता दुव्र्यवहार कोहि कसैबाट भएमा सहेर नबस्न तुरुन्तै नेपाल प्रहरीको १०० वा महिला सेलको १०४ मा फोन गरेर भन्न आग्रह गरिन् । उनले यसरी दिएको सुचनाले भविष्यमा हुन सक्ने दुर्घटना रोक्न साथै बाल शोषकलाई कारवाहीको दायरामा ल्याउन मदद पुग्ने भन्दै सुचनादाताको परिचय गोप्य राखिने समेत विश्वास दिलाइन् ।

सोहि क्रममा “बाल दुव्र्यवहार सहेके ना कहेके बा” विषयक अन्तर आधारभूत विद्यालय स्तरिय वक्तृत्व कला प्रतियोगितामा सृष्टि साह प्रथम, अप्साना खातुन द्धितिय, पूजा बैठा तृतिय तथा नसरुल्लाह मियाँले सान्त्वना स्थान हासिल गरेका छन् ।

सुवर्ण गाउँपालिका वडा नं. १ को चरमोहना, वडा नं. ८ को भिष्वा, वडा नं. ६ को मझरिया र वडा नं. ५ को औरैया स्थित श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयहरुबाट १२ जना छात्रछात्राले प्रतियोगितामा सहभागिता जनाएका थिए । विजेता छात्रछात्राहरुलाई मेडल, शैक्षिक सामग्री, चकलेट प्रदान गरिएको थियो भने सहभागि सबैलाई कापी र कलम प्रदान गरिएको थियो ।

इस्लामिक रिलिफ क्यानडा, इस्लामिक रिलिफ नेपालको सहयोग तथा जनजागरण युवा क्लब (जेजेवाइसि) बाराको आयोजनामा संचालित समुदायको उत्थानशिलता सुदृढिकरण परियोजनाको आयोजना एवं स्थानिय युवा तथा बाल क्लबहरुको सहकार्यमा प्रतियोगिता गरिएको हो ।

जेजेवाइसिका कोषध्यक्ष सियाराम यादवको अध्यक्षतामा सम्पन्न प्रतियोगितामा सुवर्ण गाउँपालिकाका अध्यक्ष राजेश प्रसाद यादव, उपाध्यक्ष पुनम कुमारी यादव, वडा नं. ५ का अध्यक्ष रामएकवाल साह, जेजेवाइसिका अध्यक्ष भैयाराम यादव, श्री ने.रा.आ.वि औरैयाका व्यवस्थापन समिति सदस्या लालबाबु प्रसाद यादव, प्रधानाध्यापक ध्रुप प्रसाद यादव, श्री ने.रा.आ.वि वगहीका शिक्षक शम्भु प्रसाद यादव, भिष्वाका शिक्षक सनोज कुमार दास, मझरियाका शिक्षिका संगीता कुमारी साह, सेवा युवा क्लबका अध्यक्ष आमीर खान, चेतना युवा क्लबका कोषाध्यक्ष गुडी खातुन लगायतले मन्तव्य राखेका थिए ।


सम्बन्धित समाचार