२४ असोज,सेढवा । चाडवाड शुरु भएसँगै पर्साको ग्रामीण भेगमा हरियो तरकारीको भाउ अकाशिएको छ। यस क्षेत्रमा हरियो तरकारीको भाउ समान्यभन्दा दोब्बरले बढेको छ। यस क्षेत्रमा काउली १ सय ५० रुपैया, आलु ८० रुपैया, बन्दा ८० रुपैया, करेला १२० रुपैया, भिन्डी १०० रुपैया, परवल १२० रुपैया प्रति किलो रहेका छन्।
3यसका साथै प्याज १०० रुपैया, मूला ८० रुपैया, काक्रो ८० रुपैयाँ, घिरौला ६० रुपैया, हरियो खुर्सानी ३०० रुपैया प्रति किलो रहेका छन्। त्यस्तै तोरी र मूलाको साग प्रति १२० रुपैया प्रति किलो रहेको छ। त्यस्तै लौका ८० रुपैया प्रति गोटा रहेको छ ।
यसबर्ष ढिलोसम्म पानी परेकाले ग्रामीण किसानहरुले तरकारी उत्पादन गर्न नसकेकाले तरकारी महंगो भएको किसानहरुले बताए। दुई तीन पटक तरकारी रोपेको बीउ बर्षाका कारण क्षति भएको जिराभवानी गाउँपालिका वडा नं. २ का किसान नथुनी मिर्दाहा थारुले बताए। समयमा किसानहरुले तरकारी उत्पादन गर्न नसक्दा बाहिरी जिल्लाबाट तरकारी आयात हुदा महंगो भएको किसानहरुले बताए। दशैका बेला अधिकांश नागरिकहरुले नवरात्र ब्रत बसेको हुँदा मंशहारी भोजन बार्ने गरेकाले पनि हरियो तरकारीको मूल्य अकाशिएको हो ।
यता तरकारी खेतीमा किसानहरुलाई आकर्षण गर्ने उद्येश्यले पटेर्वासुगौली गाउँपालिकाले तरकारीको बिरुवा बितरण गरिरहेको छ ।
गाउँपालिका अध्यक्ष दिनेश कुमार चौधरीले किसानका लागि तरकारीको बिउका प्याकेट बितरण गर्दा कतिपय किसानहरुले बीउलाई प्रयोगमा नल्याएको कारण यस पटकदेखि तरकारी बिरुवा नै बितरण गरेको बताए।
किसानलाई प्रोत्साहन गर्न पालिकाले नै तरकारीको बिरुवा पोलिहाउसमा उत्पादन गरी बिरतण गरेको अध्यक्ष चौधरीले बताए। समान्य किसानहरुलाई पचास वटा र व्यवसायिक तरकारी खेती गर्ने किसानलाई तीन सय सम्म बिरुवा न्यूनतम मूल्यमा बितरण गरिएको अध्यक्ष चौधरीले बताए। पालिकाबाट काउली, खुर्सानी, भण्टा, टमाटर लगायतका बिरुवा बितरण गरिएको छ ।
















