Logo

११ साउन,वीरगञ्ज । बाराको परवानीपुर गाउँपालिका–५ नौतनस्थित एक पेट्रोल पम्पमा पेट्रोल हालेर मोटरसाइकल स्टार्ट गर्ने क्रममा आगलागी हुँदा मोटरसाइकल पूर्ण रूपमा जलेर नष्ट भएको छ।

प्रहरीका अनुसार सोमबार दिउँसो करिब ३:३० बजे ऋषभ आयल स्टोरमा ना २२ प ८८०७ नम्बरको मोटरसाइकलमा पेट्रोल हालिसकेपछि स्टार्ट गर्ने क्रममा अचानक आगलागी भएको हो।

आगलागीबाट मोटरसाइकल पूर्ण रूपमा जलेर नष्ट भएको छ भने पेट्रोल हाल्ने डिस्पेन्सरको एउटा थान पनि जलेर क्षति पुगेको प्रहरीले जनाएको छ।स्थानीयवासी, फायर एक्स्टिङ्गुइशर र प्रहरीको सहयोगमा करिब १० मिनेटपछि, दिउँसो ३:४० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा ल्याइएको थियो।

घटनामा कुनै मानवीय वा चौपायाको क्षति भएको छैन।घटनाको जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय प्रसौनीबाट प्रहरी निरीक्षक राजदेव यादवको कमाण्डमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो।

प्रहरीका अनुसार मोटरसाइकल चालक घटनापछि फरार रहेका छन्। आगलागीको कारण तथा चालकको खोजीका साथै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


सम्बन्धित समाचार