Logo

११ साउन,वीरगञ्ज । बाराको निजगढस्थित द्रुतमार्गको जीरो किलोमिटर क्षेत्रनजिक गोली लागेको अवस्थामा एउटा पोथी हरिण मृत फेला परेको छ। वन्यजन्तुमाथि गोली प्रहार भएको आशंकापछि डिभिजन वन कार्यालय बाराले घटनाबारे अनुसन्धान सुरु गरेको छ।

डिभिजन वन कार्यालय बाराका अनुसार करिब डेढ वर्ष उमेरको उक्त पोथी हरिणको टाउको र पेटमा गोली लागेको अवस्थामा फेला परेको हो। बकैया–नागमणि सामुदायिक वन उपभोक्ता समूहअन्तर्गत पर्ने वन क्षेत्रमा शुक्रबार बिहान स्थानीयले मृत हरिण देखेपछि वन कार्यालयलाई जानकारी दिएका थिए।

घटनास्थलको प्रारम्भिक निरीक्षणका क्रममा गोली लागेको भागको प्रकृति हेर्दा भरुवा बन्दुक प्रयोग गरिएको हुन सक्ने वन सुरक्षाकर्मीको प्रारम्भिक अनुमान छ।

मृत हरिण द्रुतमार्ग सुरक्षार्थ तैनाथ नेपाली सेनाको ब्यारेकबाट करिब ३०० मिटर उत्तर–पश्चिमतर्फ, निर्माणाधीन द्रुतमार्ग नजिक फेला परेको हो। गोली लागेपछि हरिण भाग्दै उक्त स्थानसम्म पुगेको हुन सक्ने अनुमान गरिएको छ।

घटनास्थल आसपास सामुदायिक वन क्षेत्रसँगै पर्सा राष्ट्रिय निकुञ्जको प्रभाव क्षेत्र पनि पर्ने भएकाले वन्यजन्तुमाथिको यो आक्रमणलाई गम्भीर घटनाका रूपमा लिइएको संरक्षणकर्मीहरूले बताएका छन्।

घटनास्थलमा डिभिजन वन कार्यालय, सामुदायिक वन, पर्सा राष्ट्रिय निकुञ्ज तथा सुरक्षा निकायका प्रतिनिधिले संयुक्त रूपमा निरीक्षण गरेका थिए। कानुनी प्रक्रिया पूरा गरी मृत हरिणलाई डिभिजन वन कार्यालय बाराको परिसरमा गाडिएको कार्यालयले जनाएको छ।

डिभिजन वन कार्यालय बाराले घटनामा संलग्न व्यक्तिको पहिचान गरी कानुनी कारबाहीका लागि आवश्यक अनुसन्धान अघि बढाइएको जनाएको छ।


सम्बन्धित समाचार