११ साउन, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उल्लेख्य गिरावट आएको छ ।
गत साता सुधारको लयमा देखिएको शेयर बजार सोमबार ३३.२८ अङ्क (१.२१ प्रतिशत) ले घट्दै २,७०१.३२ विन्दुमा झरेर रोकिएको हो । बजार खुलेदेखि नै ओरालो लागेको नेप्सेमा दिनभरि नै मन्दीको प्रभाव देखियो ।
नेप्सेमा गिरावट आए पनि कारोबार रकम भने उत्साहजनक नै रहेको छ । सोमबार ३६० कम्पनीका १ करोड ३९ लाख २५ हजार ३३७ कित्ता शेयर ६९ हजार ८०३ पटक किनबेच हुँदा कुल ६ अर्ब ८ करोड ८६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । दिनभरिको कारोबारमा ३६ कम्पनीको शेयर मूल्य बढ्दा २३४ कम्पनीको मूल्य घटेको छ भने ५ वटा कम्पनीको मूल्य स्थिर रहेको छ ।
उपसमूहतर्फ बैंकिङ र म्युचुअल फण्ड बाहेकका सबै समूहका सूचक ऋणात्मक रहे । विशेषगरी उत्पादन, व्यापार र होटल क्षेत्रका सूचकमा २ प्रतिशतभन्दा बढीको गिरावट दर्ता भएको छ ।
घट्दो बजारमा पनि एभरेष्ट कलर लिमिटेडको शेयर मूल्य १४.९९ प्रतिशतले बढेर सर्वाधिक कमाउने कम्पनी बन्यो भने आत्मनिर्भर लघुवित्तको शेयर मूल्य सबैभन्दा बढी १३ प्रतिशतले घट्यो । रकमका आधारमा ३३ करोड ८६ लाखभन्दा बढीको कारोबार गर्दै रिलायन्स स्पिनिङ मिल्स शीर्ष स्थानमा रहन सफल भयो ।



















