११ साउन, काठमाडौं । बजारमा खाना पकाउने एलपी ग्यासको अस्थायी अभाव देखिएपछि नेपाल एलपी ग्यास उद्योग संघले उपभोक्ताहरूलाई आवश्यकताभन्दा बढी सिलिन्डर जगेडा नराख्न आग्रह गरेको छ ।
भारतबाट हुने ग्यासको आयात र आपूर्ति विगत सरह नै नियमित रहे पनि उपभोक्ताले एकैपटक अतिरिक्त सिलिन्डर भर्न थालेकाले बजारमा समस्या देखिएको संघले जनाएको छ ।
संघका अध्यक्ष दिवान चन्दका अनुसार नेपाल आयल निगमले विगतमा जस्तै दैनिक करिब १०० बुलेट ग्यास आयात गरिरहेको छ । आपूर्तिमा कुनै कमी नआएको तर सर्वसाधारणमा ग्यास सकिने त्रासका कारण अनावश्यक मौज्दात राख्ने होडबाजी चलेकाले कृत्रिम जस्तो अभाव सिर्जना भएको उहाँको भनाइ छ । उपभोक्ताले जगेडा राख्ने प्रवृत्ति त्याग्ने हो भने अहिले देखिएको समस्या तत्काल समाधान हुने संघले स्पष्ट पारेको छ ।
हाल देशभर ५९ वटा एलपी ग्यास उद्योग सञ्चालनमा रहेका छन् भने बजारमा कुल १ करोड ५० लाख थान सिलिन्डर रहेकामा करिब ५० लाख सिलिन्डर बिक्री डिपोहरूसँगै रहेका छन् । सरकारले यसअघि गत फागुन २८ गतेदेखि आधा सिलिन्डर ग्यास वितरणको व्यवस्था मिलाएको थियो ।
उद्योगीहरूले सामान्य अवस्थाकै परिमाणमा ग्यास भित्रिरहेकाले हतोत्साही भएर अतिरिक्त सिलिन्डर सञ्चित नगर्न सर्वसाधारणलाई पुनः ध्यानाकर्षण गराएका छन् ।




















