११ साउन, काठमाडौं । आफूहरूको डुबेको बचत रकम शीघ्र फिर्ता हुनुपर्ने र पीडितहरूमाथि विभेद गर्न नपाइने भन्दै सहकारी पीडितहरू पुनः काठमाडौँको माइतीघर मण्डलमा प्रदर्शनमा उत्रिएका छन् ।
सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान तथा सहकारी पीडित बचतकर्ता महासङ्घको संयुक्त अगुवाइमा सोमबार भेला भएका पीडितहरूले सरकारसँग विगतमा भएका सम्झौताहरू तत्काल कार्यान्वयन गर्न माग गरेका हुन् ।
प्रदर्शनकारीहरूले सरकारले साना र ठूला बचतकर्ताका नाममा पीडितहरूलाई फुटाएर आन्दोलन कमजोर बनाउन खोजेको गम्भीर आरोप लगाएका छन्। सरकारले हाल ठूला ऋणीबाट कर्जा असुल गरी साना बचतकर्ताको मात्र रकम फिर्ता गराउने रणनीति लिएकोप्रति असन्तुष्टि जनाउँदै उनीहरूले सबै बचतकर्तालाई समान व्यवहार गरी रकम उपलब्ध गराउनुपर्ने माग राखेका छन् । सहकारी पीडित बचतकर्ता महासङ्घका अध्यक्ष कुशलभ केसीले पटक–पटक ध्यानाकर्षण गराउँदा पनि सरकारले चासो नदेखाएको भन्दै आपत्ति जनाउनुभयो ।
‘पीडितलाई न्याय दिइयोस्’, ‘हामीलाई फुटाउने षड्यन्त्र बन्द गर’, ‘साना र ठूला बचतकर्तालाई समान व्यवहार गर’ जस्ता नारा लेखिएका प्लेकार्ड र ठगी गर्ने सहकारी सञ्चालकहरूका फोटोसहितका ब्यानर बोकेर पीडितहरू प्रदर्शनमा सहभागी भएका थिए ।
आफूहरूको आन्दोलन विशुद्ध पीडितहरूको साझा मञ्च भएको र यसमा कुनै राजनीतिक दल वा घुसपैठियालाई ठाउँ नदिइने स्पष्ट पार्दै उनीहरूले दुई दिने ध्यानाकर्षण र्यालीसम्म पनि माग पूरा नभए सशक्त आन्दोलन थाल्ने चेतावनी दिएका छन् ।



















