११ साउन,वीरगञ्ज । नारायणी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको घटनापछि नेपाल चिकित्सक संघको केन्द्रीय टोली वीरगञ्ज पुगेको छ। टोलीले घटनास्थलको निरीक्षण गर्नुका साथै घाइते चिकित्सक, अस्पताल प्रशासन र स्थानीय शाखाका पदाधिकारीसँग छलफल गरेको छ।
नेपाल चिकित्सक संघका महासचिव डा. विश्वराज दवाडी र सहकोषाध्यक्ष डा. तेजसु सिंह मल्ल आइतबार वीरगञ्ज पुगेर घटनाबारे जानकारी लिएका हुन्।
टोलीले आक्रमणबाट घाइते भएका चिकित्सक डा. प्रमोद राम र उनका परिवारसँग भेट गरी स्वास्थ्य अवस्थाबारे जानकारी लिएको थियो। संघका अध्यक्ष डा. बद्री रिजाल, कोषाध्यक्ष डा. संयुक्त आचार्य तथा नेपाल चिकित्सक संघ वीरगञ्ज शाखाका पदाधिकारीसँगको छलफलपछि डा. रामलाई थप उपचार र सुरक्षाका लागि काठमाडौं ल्याउने निर्णय गरिएको सहकोषाध्यक्ष डा. मल्लले जानकारी दिए।
केन्द्रीय टोलीले वीरगञ्ज शाखाका पदाधिकारी तथा चिकित्सकहरूसँग करिब तीनदेखि चार घण्टासम्म छलफल गरेको थियो। छलफलका क्रममा चिकित्सकहरूले हालको अवस्थामा नारायणी अस्पतालमा आकस्मिक तथा नियमित स्वास्थ्य सेवा सुरक्षित रूपमा सञ्चालन गर्न असमर्थ रहेको बताएका थिए।
चिकित्सकहरूको निर्णयप्रति नेपाल चिकित्सक संघले समर्थन जनाएको छ। साथै, आक्रमणबाट घाइते भएका चिकित्सकमाथि नै अस्पताल प्रशासनले निलम्बनको निर्णय गरेको भन्दै संघले आपत्ति जनाएको छ। संघले उक्त निर्णय तत्काल फिर्ता लिन माग गरेको छ।
संघले घटनामा संलग्न सबै व्यक्तिलाई पक्राउ गरी कानुनी प्रक्रियाअनुसार अदालतमा उपस्थित गराउन सरकारसँग माग गरेको छ। दोषीलाई कानुनी दायरामा नल्याएसम्म नारायणी अस्पतालमा जारी आन्दोलन जारी रहने संघले जनाएको छ।
सहकोषाध्यक्ष डा. तेजसु सिंह मल्लले केवल आश्वासनले समस्या समाधान नहुने भन्दै ठोस र प्रभावकारी कानुनी कारबाही आवश्यक रहेको बताए। यस विषयमा पर्साका प्रमुख जिल्ला अधिकारीसँग समेत छलफल गरी माग राखिएको उनले जानकारी दिए।
नेपाल चिकित्सक संघले चिकित्सक तथा स्वास्थ्य संस्थामाथि हुने हिंसा कुनै पनि अवस्थामा स्वीकार्य नहुने स्पष्ट पारेको छ। सुरक्षित वातावरणमा स्वास्थ्य सेवा प्रदान गर्न पाउनु चिकित्सकको पेशागत अधिकार भएको भन्दै संघले दोषीमाथि निष्पक्ष र कडा कानुनी कारबाही नै दीर्घकालीन समाधान हुने जनाएको छ।
संघले चिकित्सकहरूको सुरक्षा, पेशागत हकहित र एकताको पक्षमा निरन्तर दृढतापूर्वक उभिने प्रतिबद्धता व्यक्त गरेको छ।
यो पनि पढ्नुहोस :-
बिरामीको मृत्यु भएपछि नारायणी अस्पतालमा तोडफोड,आकस्मिक कक्षमा तनाव
नारायणी अस्पतालमा बिरामीको मृत्यु भएपछि तनाव, छानबिन गर्न समिति गठन
नारायणी अस्पताल घटनास् पाँच स्वास्थ्यकर्मी जिम्मेवारीबाट हटाइए,छानबिन गर्न समिति गठन
नारायणी अस्पताल घटनाको विरोधमा पोखरिया अस्पतालमा चिकित्सकको प्रदर्शन,स्वास्थ्यमन्त्रीको राजीनामा माग
नारायणी अस्पतालले भन्यो- सीसीटीभी फुटेजका आधारमा आक्रमणकारीको पहिचान गरी कारबाही गरियोस्




















