११ साउन, काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्जमा स्थानीय प्रशासनले जारी गरेको कर्फ्यु आदेश उल्लङ्घन गर्दै प्रदर्शनकारीहरूले तोडफोड र आगजनी सुरु गरेपछि स्थिति नियन्त्रणमा लिन नेपाली सेना परिचालन गरिएको छ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले मात्रै भिड नियन्त्रण गर्न कठिन भएपछि सेनालाई मैदानमा उतारिएको हो । सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेका अनुसार सोमबार बिहानैदेखि कर्फ्यु अवज्ञा गर्दै सडकमा उत्रिएको भिडले टायर बालेर प्रदर्शन तीव्र पारेको थियो ।
बख्तरबन्द गाडी र अत्याधुनिक हतियारसहित नेपाली सेनाको टोली घटनास्थल पुगेपछि प्रदर्शनकारीहरू तितरबितर हुन थालेका र तनावग्रस्त क्षेत्रको अवस्था क्रमशः नियन्त्रणमा आउन थालेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
सेना फिल्डमा खटिनुअघि नै प्रदर्शनकारीहरूले पाँचवटा पसलमा तोडफोड गर्नुका साथै सामान निकालेर सडकमा आगजनी गरेका थिए। प्रहरीका अनुसार तोडफोड र आगजनीबाट एउटा फार्मेसी, एउटा मोटरसाइकल ग्यारेज र तीनवटा किराना पसलमा क्षति पुगेको छ ।
देवानगञ्जमा आइतबार राति दुई समूहबिच भएको झडप नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको थियो भने सुरक्षाकर्मीसहित २२ जना घाइते भएका थिए । सोही घटनालाई लिएर उत्पन्न अशान्ति र सम्भावित हिंसा रोक्न प्रशासनले अनिश्चितकालीन कर्फ्यु जारी गरे पनि प्रदर्शन नरोकिएपछि सेना परिचालन गर्नुपरेको हो ।




















