Logo

११ साउन,वीरगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार साँझ भएको झडपका क्रममा प्रहरीले चलाएको गोलीबाट घाइते भएका किशोरका आफन्तले सुरक्षाकर्मीमाथि लापरबाही गरेको आरोप लगाएका छन्।

देवानगञ्ज–३ निवासी दिलिप मेहताका छोरा तथा कक्षा १० मा अध्ययनरत मिथलेश मेहता आइतबार साँझ करिब ७:३० बजे घरनजिकैको कप्तानगञ्ज बजार पुगेका थिए। स्थानीय मन्दिरमा साउने सोमबारको तयारीस्वरूप झण्डा राख्ने विषयलाई लिएर दुई समूहबीच विवाद भएपछि झडप भएको थियो।

झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर मिथलेश घाइते भएका छन्। उनको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ।

घाइतेका पिता दिलिप मेहताले झडपको सुरुवातमै प्रहरीले गोली चलाउनु गम्भीर त्रुटि भएको दाबी गरे। उनका अनुसार झण्डा राख्ने विषयमा विवाद भए पनि सुरुवातमा लाठी प्रहारसमेत नभएको अवस्थामा प्रहरीले गोली चलाएको थियो। उनले सुरुमा आक्रमण गर्ने समूह घटनास्थलबाट हटिसकेपछि झण्डा राख्न गएका व्यक्तिमाथि बल प्रयोग गरिएको आरोप लगाए।

उनले घटनामा घाइते भएका अधिकांश व्यक्तिको शरीरको कम्मरमाथिको भागमा गोली लागेको दाबी गरेका छन्।

प्रहरीका अनुसार झडप नियन्त्रणका क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरीले २५ राउन्ड गोली चलाएका थिए। घटनामा १० जनालाई गोली लागेको थियो। तीमध्ये देवानगञ्ज–३ का २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको छ भने अन्य ९ जना विभिन्न अस्पतालमा उपचाररत छन्।

घाइतेमध्ये जयप्रकाश मेहताको पेटमा, मिथलेश मेहताको पेटको बायाँ भागमा, अमलेश मेहताको ढाड र गर्दनमा तथा नोबेल अस्पतालमा उपचाररत अमित यादवको पेट र देब्रे हातमा गोली लागेको जनाइएको छ।

त्यसैगरी विराट नर्सिङ होममा उपचाररत रविन्द्र मेहता, अमितकुमार यादव, सुनिलकुमार मेहता र सुनिल मेहताको पनि कम्मरमाथिको भागमा गोली लागेको अस्पताल स्रोतले जनाएको छ।

घटनामा १३ जना सुरक्षाकर्मीसहित कुल २२ जना घाइते भएका छन्। घटनाबारे प्रशासनले अनुसन्धान जारी राखेको छ भने परिस्थितिलाई सामान्य बनाउन सुरक्षा व्यवस्था कडा पारिएको छ।


सम्बन्धित समाचार