११ साउन,वीरगञ्ज । देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि स्थिति सामान्य बनाउन जिल्ला प्रशासन कार्यालय सुनसरीमा सर्वपक्षीय छलफल सुरु भएको छ।
छलफलमा स्थानीय जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका अधिकारी तथा धार्मिक अगुवाहरू सहभागी भएका छन्। घटनापछि उत्पन्न तनावलाई शान्तिपूर्ण रूपमा समाधान गर्ने, सामाजिक सद्भाव कायम राख्ने तथा थप अप्रिय घटना हुन नदिन आवश्यक कदमबारे छलफल भइरहेको प्रशासनले जनाएको छ।
कप्तानगञ्जमा आइतबार राति दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको थियो। घटनामा ९ जना प्रदर्शनकारी र १३ जना प्रहरी घाइते भएका छन्।
घटनापछि क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने प्रशासनले संवाद र सहमतिमार्फत समस्या समाधान गर्न सबै पक्षसँग आग्रह गरेको छ।




















