Logo

११ साउन, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहसंयोजक माधवकुमार नेपालसँग उहाँकै निवास पुगेर भेटवार्ता गर्नुभएको छ ।

नेकपा एमालेसँग भएको पछिल्लो तीन बुँदे सहमति र त्यसपछिको आगामी रणनीतिबारे छलफल गर्न प्रचण्ड कोटेश्वरस्थित नेपाल निवास पुग्नुभएको हो ।

भेटमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग प्रदेश सरकार सञ्चालनका विषयमा भएको सहमतिको समीक्षा हुनुका साथै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीहरूको टुङ्गो कसरी लगाउने भन्नेबारे गहन छलफल भएको छ । प्रचण्डले शनिवार एमालेसँग तीन बुँदे सहमति गरेपछि सहसंयोजक नेपाल असन्तुष्ट रहेको र उहाँले आफूनिकट नेताहरूसँग अलग्गै परामर्श गरेको चर्चा बाहिर आएको थियो ।

यद्यपि, दुई नेताबीचको भेटपछि बाहिर चर्चा भएजस्तो कुनै असहमति नरहेको र सहमतिलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै अघि बढ्ने विषयमा सकारात्मक कुराकानी भएको नेताहरूले बताएका छन् ।


सम्बन्धित समाचार