११ साउन, काठमाडौं । काठमाडौँको चन्द्रागिरि नगरपालिका–१५ तीनथानास्थित सडकखण्डमा सोमबार बिहान मिनी ट्रक र स्कुटर एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
सतुङ्गलबाट कलङ्कीतर्फ आउँदै गरेको बा.प्र.०२–०३८ प ९८९७ नम्बरको स्कुटर र सोही दिशातर्फ गइरहेको लु १ क ४२५६ नम्बरको मिनी ट्रक बिहान करिब ३ बजे एकापसमा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा परी स्कुटर चालक चन्द्रागिरि–१२ हरियालीका ४० वर्षीय दीपक नेपाल र स्कुटरको पछाडि सवार चन्द्रागिरि–१४ की ५६ वर्षीया शुभद्रा कुमारी नेपाल गम्भीर घाइते हुनुभएको थियो । उहाँहरूलाई तत्काल उद्धार गरी कलङ्कीस्थित शहीद मेमोरियल अस्पताल पुर्याइएकोमा थप उपचारका लागि ललितपुरको ग्वार्कोस्थित बी एन्ड बी अस्पताल लगिएको थियो । दुवै जनाको उपचारका क्रममा बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि स्कुटरलाई ट्राफिक प्रहरी प्रभाग कलङ्कीले नियन्त्रणमा लिएको छ भने मिनी ट्रक र त्यसका चालकलाई प्रहरी वृत्त थानकोटले नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान सुरु गरेको छ ।




















