Logo

११ साउन,काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि कमजोर बनेको शान्तिसुरक्षालाई प्रभावकारी बनाउन सरकारलाई निर्देशन दिएको छ।

आयोगले बुधबार विज्ञप्ति जारी गर्दै शान्तिसुरक्षा सुदृढ गर्न, घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन, मृतकका परिवारलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन र घाइतेहरूको निःशुल्क तथा प्रभावकारी उपचार सुनिश्चित गर्न सरकारलाई निर्देशन दिएको हो।

आयोगले सामाजिक सद्भाव कायम राख्न सबै पक्षलाई संयमता अपनाउन पनि आग्रह गरेको छ। वार्ता र संवादमार्फत विवादको समाधान खोजी सामाजिक सद्भाव कायम राख्न राजनीतिक दल, नागरिक समाज, मानव अधिकारकर्मी तथा सर्वसाधारणलाई सहयोग गर्न अनुरोध गरिएको विज्ञप्तिमा उल्लेख छ।

आयोगका अनुसार सुनसरीको देवानगञ्ज गाउँपालिकामा दुई समुदायबीच भएको झडप र त्यसपछि प्रहरीको गोली लागेर ओमप्रकाश मेहताको मृत्यु भएको घटनाबारे कोशी प्रदेश कार्यालय, विराटनगरबाट प्रारम्भिक अनुगमन भइरहेको छ।

आयोगले प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, अस्पताल प्रशासन तथा स्थानीयवासीसँग घटनाबारे जानकारी लिइरहेको जनाएको छ। साथै, घटनाको मानव अधिकारको दृष्टिकोणबाट सूक्ष्म अनुसन्धान सुरु गरिसकिएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।

प्रारम्भिक अनुगमनका क्रममा पोलमा झण्डा राख्ने विषयबाट दुई समुदायबीच विवाद सुरु भएको, डिजे बजाउने विषयमा तनाव बढ्दै गएपछि तोडफोड र झडप भएको तथा अवस्था नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा ओमप्रकाश मेहताको मृत्यु भएको पाइएको आयोगले जनाएको छ।

घटनामा प्रहरीको गोली लागेर नौ जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको आयोगले जनाएको छ। आयोगले घटनाको निष्पक्ष अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्न तथा कानुनबमोजिम आवश्यक कारबाही गर्न सरकारसँग आग्रह गरेको छ।


सम्बन्धित समाचार