२५ मंसिर,वीरगञ्ज ।सहकारी ठगी मुद्दामा बयानका लागि वीरगञ्ज लगिएका रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको बयान आजबाटै शुरु भएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा रहेका लामिछानेलाई जिल्ला सरकारी वकिल कार्यालय पर्सामा १० बजे उपस्थित गराएर बयान सुरु गरिएको छ ।
सोही मुद्दामा त्यहाँ लगिएका पूर्वडीआईजी छविलाल बन्जाडे जोशी र रामबहादुर खनालको बयान सोमबार नै सकिएको जिल्ला प्रहरी स्रोतले जनाएको छ । जोशी र खनाललाई आजै जहाजको सिमरा–काठमाडौं उडान हुँदै पोखरा पठाउने तयारी छ ।
जिल्ला सरकारी वकिलको कार्यालय स्रोतले जनाएअनुसार रविको बयान भोलिसम्म सकिन्छ । बयानपछि उनलाई पनि सिमराबाट काठमाडौं हुँदै पोखरा पठाउने तयारी छ ।
वीरगञ्ज महानगरपालिका–६, आदर्शनगरमा सञ्चालित सानो पाइला बचत तथा ऋण सहकारी संस्थाबाट अवैध तवरले गोर्खा मिडिया नेटवर्क प्रालिमा ८ करोड ५८ लाख ४४ हजार रुपैयाँ प्रवाह गरिएको मुद्दामा उनीहरूमाथि अनुसन्धान भइरहेको हो ।
सानो पाइला सहकारीबाट गोर्खा मिडियाको नाममा ग्लोबल आइएमईमा सञ्चालित बैंक खातामा रकम प्रवाह गरिएको कुरा संसदीय छानबिन विशेष समितिको प्रतिवेदनले औँल्याएको थियो ।
२०७८ वैशाखदेखि साउनसम्मको बैंकिङ कारोबारको विवरण (स्टेटमेन्ट) ले रकमको अपचलन पुष्टि गरेको पर्साका प्रहरी प्रमुख एसपी कुमोध ढुंगेलले बताए ।
सहकारी पीडितको जाहेरीका आधारमा प्रहरीले अनुसन्धान गर्दा संस्थाकी उपाध्यक्ष तथा मिस नेपाल प्रतियोगिताकी पूर्वप्रतिस्पर्धी नेहा पौडेल आफैँ प्रहरीमा उपस्थित भएकी थिइन् ।
सहकारीका कर्मचारी राधेचन्द्र यादव प्रहरीद्वारा पक्राउ गरिएका थिए । जिल्ला अदालतले पौडेललाई गत साउन २१ गते १ करोड १० लाख धरौटीमा रिहा गरेको थियो । यादव पनि ३५ लाख धरौटीमा रिहा भएका थिए ।